झापा बिर्तामोडका शिव संग्रौला १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । यसपटकको दसैं–तिहारमा पनि उनी घर आउन नपाउने पक्कापक्की भएको छ । भौतिक रूपमा टाढा रहे पनि दसैंको रमझम र आशीर्वादबाट भने उनी टाढा रहनेछैनन् ।

उनले तीन वर्षअघि पठाएको एसर ब्रान्डको ल्यापटपबाट ८० वर्षीया आमाको हातको टीका र आशीर्वाद भिडियो च्याटबाटै ग्रहण गर्नेछन् । घरमा भएको रमाइलो उनी आफूमा सीमित नगरी बिदा नपाएका साथीहरूसँग साट्नेछन् ।

“दसैंमा घर जाने रहर त हुन्छ तर कम्पनीको कामले गर्दा यसपटक पनि जान पाइनँ,” उनी भन्छन्, “यसपटकको दसैं घरको ल्यापटप र मेरो आइफोन ६ एसले रमाइलो बनाउनुपर्छ ।”

टीका थाप्न घर पुग्न नसके पनि ग्याजेट्सले सजिलो बनाइदिने गरेको उनको अनुभव छ । “घरमा इन्टरनेट र बत्ती भएसम्म लाइभ हुन्छ, दसैंको दिन कम्पनीबाट बिदा पाइने भएकाले एक्लो अनुभव हुँदैन,” उनी भन्छन् ।

ईपीएसमार्फत दक्षिण कोरिया पुगेका रूपन्देहीका विवेक न्यौपाने पनि बुवा र दिदीका लागि मोबाइल, ल्यापटप पठाएको बताउँछन् । “कपडादेखि अन्य सामान उतै सस्तो पर्छ, यहाँबाट पठाउने ग्याजेट्स नै हो,” उनी भन्छन्, “यसपटकोे दसैं भिडियो कलबाटै मनाउने हो ।”

यससँगै दसैं रमाइलो चाड मात्र नभई ग्याजेट्ससँग रमाउने अवसर पनि बन्न थालेको छ । हात–हातमा पुगेका स्मार्टफोनले के सहर के गाउँ सबैलाई एकै मैदानमा उभिएको महसुस दिलाउँछन् ।

संसारको जुनै कुनामा रहे पनि आफ्ना संस्कार–संस्कृति तथा चाडपर्वलाई यिनै ग्याजेट्स तथा सूचना–प्रविधिले ताजा बनाउन मद्दत पु¥याएका छन् । चाडपर्वमा घर जान नपाउनेलाई पनि सञ्चार–प्रविधिको विकासले आफन्तसँग प्रत्यक्ष हेराहेर तथा कुराकानी गर्न सक्ने बनाएका कारण टाढा रहे पनि नजिक भएजस्तो बनाएको छ ।

त्यसो त सूचना, सञ्चार तथा प्रविधिको विकासले दैनिकी ग्याजेट्सबाट सुरु भई ग्याजेट्सबाटै अन्त्य हुने गरेको छ । सञ्चार र प्रविधिबिना जीवनयापन कठिन बन्दै गएको अवस्थामा चाडपर्व पनि ग्याजेट्सबिना अपुरो हुने क्यान महासंघका अध्यक्ष विनोद ढकाल बताउँछन् ।

“दसैंमा अधिकांश कार्यालयमा लामो बिदा हुन्छ, बिदाको समय सबै जना ग्याजेट्समै हुन्छन्,” उनी भन्छन्, “बिदा पनि अनलाइनबाट हुने काम गर्न सकिन्छ, इमेलदेखि अधिकांश कार्यालयको काम ग्याजेट्सबाटै गर्न सकिन्छ ।”

सेल्फी खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेदेखि देश–विदेशमा हुने आफन्तसँग जोडिने माध्यम नै ग्याजेट्स भएको उनको अनुभव छ । भन्छन्, “ग्याजेट्सबिना मेरो दैनिकी असम्भव छ, चाडपर्वमा त आफन्त जोडिने भनेकै ग्याजेट्सबाट हो ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार