विश्व कप २०१८ को छनौट खेलमा पोर्चुगलले एन्डोरालाई ६–० गोल अन्तरले हराएको छ।
छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलको तर्फबाट कप्तान क्रिष्टियानो रोनाल्डोले चार तथा काभाको कान्सेलो र भालेन्टे सिल्भाले एक एक गोल गरेका हुन्।
युरो कप २०१६ को फाइनलको क्रममा चोटग्रस्त भएपछि खेलमा फर्किएका रोनाल्डोले २, ४ र ६८ औं मिनेटमा गोल गर्दै ४२ औं ह्याट्रिक पूरा गरेका छन्।
रोनाल्डोले ह्याट्रिक गर्नुअघि ४४ औं मिनेटमा कान्सेलाले गोल गरेका थिए। ८६ औं मिनेटमा सिल्भाले गोल गरेपछि पोर्चुगल ६–० ले विजयी भयो। समूह बीमा रहेको पोर्चुगल दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ।
छनौट चरणको पहिलो खेलमा पोर्चुगल स्वीट्जरल्याण्डसँग २–० ले पराजित भएको थियो। पहिलो खेलमा पोर्चुगललाई हराएको स्वीट्जरल्याण्डले शुक्रबार राति नै भएको आफ्नो दोस्रो खेलमा हंगेरीलाई ३–२ ले हरायो।
दुई खेलबाट ६ अंक जोडेको स्वीट्जरल्याण्ड समूह बीको शीर्ष स्थानमा छ। समूह बी अन्तर्गतकै खेलमा फारोइ आइसल्याण्डले लात्भियालाई २–० ले हरायो।
दुई खेलबाट चार अंक जोडेको फारोइ आइसल्याण्ड समूहको दोस्रो स्थानमा छ।







