चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘चाँडोभन्दा चाँडो’ नेपाल भ्रमण गर्ने बताएका छन् ।

ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चाँडै र अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताएका हुन् ।

ब्रिक्स सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार गोवा पुगेका थिए । गोवास्थित पाँचतारे होटेलमा उनले चिनियाँ राष्ट्रपति सीसँग करिब आधा घन्टा भेटवार्ता गरेका थिए । ‘राम्रो भेटघाट भयो । प्रधानमन्त्रीज्यूले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि फेरि निम्ता दिनुभयो,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गोवाबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले यही वर्ष राष्ट्रपतिको भ्रमण होस् र नेपाल कुनै पनि वेला स्वागत गर्ने अवस्थामा छ भनेर आश्वस्त पार्नुभयो ।’

मन्त्री महतका अनुसार प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियाका अन्य मुलुक भ्रमण गर्दा नेपाल नछुटोस् भन्ने चाहना व्यक्त गरेका थिए । प्रचण्डले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि चिनियाँ राष्ट्रपतिलाई जानकारी दिएका थिए ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले छिटै नेपाल भ्रमण गर्ने बताएको मन्त्री महतले जानकारी दिए । सीको भनाइ उद्धृत गर्दै महतले भने, ‘तपाईंहरूले मलाई पटक–पटक निमन्त्रणा गरिरहनुभएको छ । पछिल्लोपटक उपप्रधानमन्त्रीज्यू चीन आएरै निम्ता दिनुभयो । अब म चाँडोभन्दा चाँडो उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्छु ।’

त्रिदेशीय साझेदारीका पक्षमा चीन

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीमा जोड दिएका छन् । ‘दुई देशको सहकार्य र साझेदारीको कार्यान्वयनमा हामीले जोड दियौँ । पहिला भएका समझदारीअनुसार कोदारी, कोरलालगायतका नाका सुचारु गर्ने विषयमा हामीले स्पष्ट कुरा राख्यौँ । यसलाई अघि बढाउने कुरा उहाँहरूले गर्नुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘आन्तरिक एकताका लागि सरकारले गरेका प्रयासलाई चीनका तर्फबाट समर्थन प्राप्त भएको छ,’ भेटवार्तामा सहभागी नेपाली अधिकारीले भने ।

भुटान पुरानै अडानमा

प्रधानमन्त्री प्रचण्डले गोवा पुगेलगत्तै शनिबार भुटानका समकक्षी छरिङ तोप्गेसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र छिरिङलाई एयर इन्डियाको विशेष जहाजमा सँगै राखिएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा बाँकी रहेका १५ हजार शरणार्थीलाई सम्मानजनक रूपमा स्वदेश लग्न आग्रह गरेका थिए । तर, भुटानका प्रधानमन्त्रीले फिर्ता लैजाने विषयमा स्पष्ट कुरा गरेनन् ।

आजको नयाँ पत्रिकाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार