युरोपियन च्याम्पियन्स लिगको समूह चरणको खेलमा स्पेनी क्लब बार्सिलोनाले स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतमा अंग्रेज क्लब म्यानचेस्टर सिटीलाई ४–० गोलअन्तरले पराजित गरेको छ।

पहिलो हाफको सुरुवातमै जोर्डी अल्बालाई गुमाएको बार्सिलोनाका लागि लियोनल मेसीले १७औँ सिटीका डिफेन्डरको गल्तीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। आधा घण्टाको खेल सकिँदा बार्सिलोनाले पुनः रक्षक जेरार्ड पिकेलाई गुमाउन पुग्यो।

बार्सिलोनामा छँदा १९ सम्भवमध्ये १४ कप जितेर सफल प्रशिक्षक ठहरिएका र यसै सिजनदेखि म्यानचेस्टर सिटी समालेका पेप ग्वार्डिवोला आफ्नै पूर्वक्लबमा फर्किँदा उनको सामना गर्न बार्सिलोनाका पुराना साथी लुइस एनरिके र ग्वार्डिओला आफैँले हुर्काएका खेलाडीहरु मेसी, इनेस्टा, बुस्केटजस्ता खेलाडी तयार थिए।

अघिल्लो सिजनको अन्त्यमा बार्सिलोना छोडेर सिटीमा आबद्ध भएका चिलीका गोलकिपर क्लाउडियो ब्राभो ५२ मिनेटमा डि बक्सबाहिर बल समातेकोमा रेड कार्ड खाँदै बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

६१औँ मिनेटमा इनेस्टाकै पासमा मेसीले दोस्रो गोल गरे भने ६९औँ मिनेटमा स्वारेजको पासमा तेस्रो गोल गरे।

७३औँ बार्सिलोनाका जेरेमी म्याथ्यु दोहोरो पहेँला कार्ड पाएर बाहिरिए पनि सिटी खेलमा फर्किन सकेन। बार्सिलोनका लागि गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले केही उत्कृष्ट बचाउ गरे।

८७औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई नेयमारले सदुपयोग गर्न नसके पनि ८९औँ मिनेटमा मेसीको पासमा उनले गोल गरे।

त्यसैगरी आजै भएको खेलमा आर्सनलले राजगार्डलाई ६–० गोलअन्तरले पराजित गर्दा बार्यन म्युनिखले पिएसभी इन्डोभेनलाई ४–१ गोलअन्तरले पराजित गर्यो। आर्सनलका लागि मेसुट ओजिलले ह्याट्रिक गरे। त्यसैगरी बोरुसिया मोन्टेनग्लाडबाखले सेल्टिकलाई २–०, बेनफिकाले डाइनामो किभलाई २–०, बेसिक्टासले नापोलीलाई ३–२, पिएसजीले बासेललाई ३–० तथा एट्लेटिको म्याड्रिडले रोस्तोभलाई १–० गोलअन्तरले पराजित गरेका थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार