नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव बारे कांग्रेसले सोचेर निर्णय लिने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले लोकमान प्रकरणमा पार्टीले गहन छलफल गरेर मात्रै निर्णय लिने बताएका हुन् । ‘कसैको बहकाउ र लहलहैमा लागेर कांग्रेसले निर्णय गर्दैन,’ नेता पौडेलले भने, ‘केन्द्रीय समितिमा यस बारे छलफल भइरहेको छ ।’

नेपाली कांग्रेसको बिहीबारदेखि चलेको केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले महाअभियोगको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक कार्तिक ८ गते बस्ने गरी स्थगित भएको छ ।

नेता पौडेलले लोकमानसिंह कार्कीको बारेमा पार्टी सभापति शेरबहादुर देउवाले पनि बैठकको सुरुमै आफ्ना भनाई राखिसकेको र सबैको धारणा पछि मात्रै कांग्रेसको आधिकारिक धारणा बाहिर आउने समेत बताए । ‘त्यस बारेमा म अहिले अरु केही भन्दिन,’ उनले भने, ‘धेरै बोल्दा गलत अर्थ लाग्न पनि सक्छ ।’

अर्को प्रसङ्गमा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई गुटको सभापति मात्रै नबनी सिङ्गो पार्टीको सभापति बन्न सुझाव दिए । एउटा गुटलाई मात्रै च्यापेर पार्टीलाई मनोमानी ढंगबाट सञ्चालन नगर्न चेतावनी दिँदै पौडेलले यसले राम्रो सन्देश नदिने धारणा राखे । गुट÷उपगुटलाई अन्त्य गर्दै अबको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्नुपर्ने जिकिर गर्दै पौडेलले यसका लागि पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिए ।

२०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेकोले जसरी पनि निर्वाचन सम्पन्न गर्नका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने पौडेलको भनाई थियो । संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै पौडेलले प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिई मधेशी दलको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताए । संविधान कार्यान्वयन पछि मात्रै देशमा राजनीतिक स्थिरता आउने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने नेता पौडेलको भनाई थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार