काठमाडौं । १० वर्षे जनयुद्ध र जनआन्दोलन २०६२/०६३ मा कही कतै नै उल्लेख नभएको संघीयताबारे दलका नेताहरुले पश्चाताप गर्न थालेका छन् । माओवादी केन्द्रका ढोगी चरित्रले स्थापनाको छाटो अवधीमा संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटमा फस्न पुगेको छ ।

यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रने संकेत देखापरेको छ भने नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ता समेत संघीयताकै विरुद्धमा रहेका छन् । पछिल्लो समय संघीयताकै कारण मुलुकमा नयाँ संविधान कार्यान्वयनको क्रममा समस्या देखिएपछि एमाले संघीयताबाट पछाडि हट्ने संकेत गरिसकेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता खुम बहादुर खड्का खुलेरै संघीयता र धर्मनिरपेक्षताको विरोध गर्न थालेका छन् ।

केही दिन पहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘संघीयता जनआन्दोलन, माओवादीले गरेको युद्ध कही कतै माग उठेको थिएन, पछि विदेशीको दवावमा जबरजस्ती घुसाउने काम भयो, अहिले एमालेले संघीयता अस्वीकार गर्छ नै त भन्दैन, तर अब सो सम्बन्धमा गम्भिर समीक्षा जरुरी छ ।’

एमालेका अध्यक्ष ओली भनाईसँग राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सुरुदेखि नै विरोधी थिए भने राप्रपाको माग संघीयता हुँदै होइन । पछिल्लो समय नेपालका राजनीतिक परिदृष्यमा छाएका नयाँ बहसहरुले संघीयता संकटमा फस्दै गएको देखिन आएको छ । माओवादीले भारतीय इसारामा राजनीति गर्ने मधेशवादीदलहरुसँगै मिलेर चर्को रुपमा संघीयताको पक्षमा वकालत गर्दै आएको बाहेक अन्य दलहरु संघीयताको पक्षमा खुलेर लाग्ने देखिन छोडेको छ ।

पछिल्लो पटक संसदवादी धार मध्ये एमालेले समेत संघीयताको बारेमा पुनर्विचार गर्नुपर्ने तर्क अघि सारेपछि शिशु संघीय गणतन्त्र संकटका भुमरीमा फस्न पुगेको छ ।

आइतबार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संघीयता स्वीकार गरेर एमालेले गल्ती गरेको बताएपछि संघीयताको बारेमा एमालेको धारणा परिवर्तनको संकेत मिलेको छ । एमाले निकट युवा संघ नेपालले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले नबुझेर संघीयतामा गएर एमालेले गल्ति गरेको बताएका हुन् ।

गौतमले भने, ‘माओवादी र मधेसवादी दलहरुले संघीयताको कुरा उठाएका थिए । हामीले नबुझेर त्यसलाइृ स्वीकार गरेर हामीले गल्ति गर्यौं । अब हामीले गल्ती स्वीकार गर्नुपर्छ।’ मधेस आन्दोलनका नाममा तराईमा पहाडीया लेखेट्ने काम सुरु भएपछि देशलाई द्वन्द्वमा जानबाट रोक्न एमालेले संघीयतालाई दबाबमा स्वीकार गरेको उनले स्पष्ट पारे ।

गौतमले त्यसबेला संघीयताका विषयमा पार्टीमा समेत कुनै बहस र छलफल नभएको खुलासा गरे । ‘माधवजी छलफलका लागि जानु भएको थियो, तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भन्नुभयो,’ गौतमले भने ।

उनले माओवादीले भनेअनुसार नै संविधानसभाको निर्वाचन भएको दावी गरे। संसारमा नेपालसहित २७ देशमा संघीयता रहेको भएपनि नेपाललाई आफ्नै मौलिकता भएको संघीयता बनाउन नसकिएको उनले बताए ।

नेता गौतमले नेपालमा बहुराष्ट्रको संघीयता बनाउने षड्यन्त्र भएको आरोप लगाउँदै संघीयिताको धरन्धर विरोध गरेका छन् । उनले कतिपय देश संघीयतामा गएर फर्कदा गृहयुद्ध भएको बताए । गौतमले भने, ‘संघीयता भनेको मन मिलेका मान्छेहरु अंकमाल गरेर बस्नका लागि हो ।

तर, नेपालमा द्वन्द्व सिर्जना गर्नका लागि र आपसमा मार काट गराउनका लागि सिर्जना गरिएको नक्कली विषय हो ।’

नयाँ प्रकाशबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार