कम्युनिस्ट पार्टीका निम्ति कुनै त्यस्तो समय हुँदैन, जुन समयमा यसका पार्टी सङ्गठनहरूले राजनीतिक क्रियाकलापहरू गर्न सक्तैनन् । हरेक राजनीतिक एवम् आर्थिक परिस्थितिका साथै यी परिस्थितिहरूमा हुने परिवर्तनहरूलाई उपयोग गर्ने सङ्गठनात्मक रणनीति र कार्यनीतिहरू विकसित गर्नुपर्दछ ।
पार्टी जतिसुकै कमजोर भए तापनि यसले व्यवस्थित एवम् कुशलतापूर्वक सङ्गठितपूर्ण प्रचारद्वारा सम्पूर्ण आर्थिक व्यवस्थापनमा प्रभाव पार्ने गरी राजनीतिक घटनाहरू वा व्यापक हडतालहरू घटाएर लाभ उठाउन सक्तछ । एकपटक विशेष परिस्थितिको यसरी उपयोग गर्ने निर्णय लिएपछि पार्टीले यो अभियानमा आफ्ना सम्पूर्ण सदस्यहरू र पार्टीको ऊर्जा केन्द्रित गर्नुपर्दछ ।
यसअतिरिक्त आफ्ना सेलहरू र कार्यकर्ता समुहहरूका कामको माध्यमबाट प्राप्त भएका आफ्ना सम्पूर्ण सम्बन्धहरूलाई राजनीतिक महत्वका केन्द्रहरूमा र हडतालपछि आमसभाहरू सङ्गठित गर्नाका निम्ति पार्टीले उपयोग गर्नुपर्छ ।
पार्टीका वक्ताहरूले साम्यवादले मात्र सङ्घर्षहरूलाई सफल परिणाममा पुरयाउन सक्तछ भन्ने विश्वास श्रोताहरूमा पार्न सकेसम्म प्रयत्न गर्नुपर्छ । पार्टीले विशेष आयोगहरूले यी सभाहरूलाई सावधानीपूर्वक तयारी गर्नुपर्दछ । पार्टीले केही कारणबश आफ्नै आमसभाहरू तयारी गर्न नसकेको खण्डमा हडताली वा सङ्घर्षमा लागेका अन्य कुनै सर्वहाराको अंशद्वारा आयोजित आमसभाहरूमा हडतालीहरूलाई उपयुक्त कमरेडले सम्बोधन गर्नुपर्दछ ।
जहाँ जहाँ कुनै बैठकका बहुमत वा ठुलो अंश हाम्रो मागको समर्थनमा आउने सम्भावना हुन्छ, त्यहाँ त्यहाँ ती मागहरूलाई सङ्कल्पहरू र प्रस्तावनाहरूमा राम्ररी सूत्रबद्ध गरेर समुचित तर्कद्वारा प्रस्तुत गरेर तिनलाई पारित गर्नु आवश्यक हुन्छ, त्यही स्थान वा अन्य ठाउँहरूमा त्यही विषयमा हुने सबै बैठकहरूमा बढ्दो सङ्ख्यामा यसकिसिमका सङ्कल्पहरू र प्रस्तावनाहरू पारित गराउन, कम्तीमा दराे अल्पसङ्ख्याद्वारा समर्थन गराउन प्रयत्न गर्नैपर्दछ ।
यसरी हामी आन्दोलनमा श्रमजीवी जनसमुदायलाई एकत्रित गर्न, उनीहरूलाई हाम्रो नैतिक प्रभावभित्र राख्न र हाम्रो नेतृत्वमाथि उनीहरूको मान्यता प्राप्त गन सक्षम हुनेछौँ । यस्ता सबै बैठकहरूपछि सङ्गठनात्मक तयारीमा भाग लिएका र यसका अवसरहरूलाई उपयोग गरेका कमिटीहरूले पार्टीका नेतृत्वदायी कमिटीहरूमा प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्न र अनुभवबाट समुचित निष्कर्ष निकाल्न वा भविष्यमा सम्भावित त्रुटिहरूबाट बच्न सम्मेलनको आयोजना गर्नुपर्दछ ।
हरेक विशेष परिस्थिति अनुसार मजदुरहरूसित सम्बन्धित व्यावहारिक मागहरूलाई पोस्टर, हाते बिल वा मजदुरहरूमा बितरित पर्चाहरूद्वारा जनताका बिच पु¥याउनुपर्दछ र कम्युनिस्टका नीतिहरू कसरी उनीहरूका समर्थनमा छन् र परिस्थितिसँग कसरी मेल खान्छन् भनी मजदुरहरूका आफ्नै मागहरूद्वारा पुष्टि गर्नु आवश्यक हुन्छ । पोस्टरहरूको उचित वितरण, पोस्टर टाँस्ने उचित ठाउँ र समयको चयनको निम्ति विशेष रूपबाट सङ्गठित समुहरू चाहिन्छन् ।
हातेबिलहरूको वितरण कारखाना र मजदुरहरू एकत्रित हुन चाहने सभा–भवनहरूको अघि वा भित्र, सहरका महत्वपूर्ण ठाउँहरू, रोजगार कार्यालय र स्टेसनहरूमा हुनुपर्दछ । पर्चाहरू वितरण गर्दा सँगसँगै आम श्रमिक जनताका मनमा सहजै घुस्नेगरी अकार्षक बहस र नाराहरू लगाउने व्यवस्था पनि हुनुपर्दछ । सम्भव भएसम्म विस्तृत पर्चाहरू, सभा–भवनहरू, कारखानाहरू, निवासस्थानहरू र मुद्रण–सामग्रीहरूमाथि समुचित धन जाने आशा राखिएका अन्य ठाउँहरूमा वितरण गरिनुपर्दछ ।
यस्ता प्रचारहरूलाई सङ्घर्षको समयमा ट्रेड युनियन र कारखानाका बैठकहरूमा गरिने समानान्तर क्रियाकलापहरूले समर्थन गरेको हुनुपर्दछ र हाम्रा कमरेडहरूद्वारा सङ्गठित गरिएका वा हाम्रो पक्षमा रहेका यस्ता बैठकहरूको अवसरलाई उपयुक्त वक्ताहरू र विवादकर्ताहरूले हाम्रो दृष्टिकोणको पक्षमा जनसमुहलाई ल्याउन उपयोग गर्नुपर्दछ ।
हाम्रा समाचारपत्रहरूले यस्ता विशेष आन्दोलनको प्रयोजनका निम्ति अरूलाईभन्दा बढी ठाउँ दिनुपर्दछ र तिनका पक्षमा सर्वश्रेष्ठ तर्कहरू प्रस्तुत गर्नुपर्दछ । वास्तवमा, सक्रिय पार्टी सङ्गठन तत्कालका लागि यस्ता आन्दोलनको सामान्य उद्देश्यको सेवामा समर्पित हुनुपर्दछ जसबाट हाम्रा कमरेडहरूले शक्तिमा कमी नल्याइकन काम गर्न सकून् ।







