नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी र भ्रष्टाचारविरुद्ध संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै बजारलाई छाडा छोडेको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा घोषणा गरिएका कार्यक्रम अनुसार यही पुस १० गते देशभर कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन, १३ गते मशाल जुलुस, १४ गते अन्तरक्रिया, १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् ।

‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुनुमा अन्तर्राष्ट्रिय स्तरमा नै मूल्य बृद्धि भएको र छिमेकी राष्ट्रमा पनि मूल्य बढेको तर्क बाहिर ल्याएको छ ।’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नेपाल आयल निगमले अन्तर्राष्ट्रियस्तरमा मूल्यमा आएको घटबढका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छैन ।’

‘सन् २०१२ मा ओपेकले अहिलेसम्मको सबैभन्दा महंगो प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य १०९.४५ अमेरिकी डलर थियो । त्यस समयमा नेपाल आयल निगमले पेट्रोल रु. १४०.०० र डिजल रु १०९.०० प्रतिलिटर बेचेको थियो । सन् २०१६ को नवेम्बरमा प्रतिव्यारेल ४९.४९ अमेरिकी डलर हुँदा पेट्रोल रु. ९७.०० र डिजल रु.७३.०० प्रतिलिटर मूल्य निर्धारण गरेको छ ।’ विज्ञेप्तीमा भनिएको छ – ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य २२१ प्रतिशतले घट्दा नेपालमा यसको मूल्य केवल १४४ प्रतिशत मात्र घटाइएको थियो । अहिले प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४९.४९ अमेरिकी डलरबाट केवल ५२.२५ अमेरिकी डलर मात्र भएको छ’ ।

माओवादी जनवर्गीय मोर्चाहरुले  पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रमलार्इ निरन्तर जारी राख्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार