माघ २ । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसित वर्तमान अर्थमन्त्री कृष्णबहादुर महराको सम्बन्ध निकै शंकापस्द रहेको बताइन्छ ।
प्रसङ्ग हो, नेपालको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको। करिब चार वर्षदेखि रोकिइरहेको एनसेलको ११ अर्ब मुनाफामध्ये ८ अर्ब बाहिरिएको छ। नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा। युवराज खतिवडाकै पालादेखि रोकिइरहेको मुनाफाबापतको अर्बौंको रकम बाहिर पठाउन कार्कीले निकै प्रयत्न गरेका थिए।
कार्कीले पदीय दुरुपयोग गरेर राष्ट्र बैङ्कका उच्च पदाधिकारीलाई दबाब दिंदै आएका थिए। तर, नेकपा (माओवादी–केन्द्र) का नेता कृष्णबहादुर महरा अर्थमन्त्री भएपछि र राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि राष्ट्र बैङ्कको च्यानल मिलाएपछि उक्त रकम बाहिरिएको हो।
अर्बौं आयकर नतिरेको एनसेलले मुनाफा लैजान पाउने निर्णय भने राष्ट्र बैङ्कले गरेको थियो तर, सो निर्णयलाई राष्ट्र बैङ्कको सञ्चालक समितिले गुपचुप नै राखेको थियो।
अर्थमन्त्री बनेपछि कृष्णबहादुर महराले एनसेलको रोकिइरहेको मुनाफाबारे निकै चासो राखेका थिए । सञ्चारमन्त्री हुँदा विभिन्न विवादमा मुछिएका महरालाई एनसेलको भित्री कथा सबै थाहा थियो।
त्यसो त, एनसेलले लाभकर नतिरिकन मुनाफा लैजान नपाइने भनेर पूर्वगभर्नर डा. खतिवडाले आफ्नो कार्यकालभरि अडान लिए। तर, नेपाली काङ्ग्रेसको कार्यकर्ता डा. नेपाल गभर्नर भएपछि फेरि चलखेल सुरु भयो। गभर्नर नेपालले पटकपटक एनसेलको पक्षमा निर्णय गराउन चाहे पनि वातावरण उनी अनुकूल नभएपछि रोकिइरहेको थियो। तर कार्की, अर्थमन्त्री महराको समेत सहमति मिलेपछि गभर्नर नेपालले उक्त निर्णय गरेको बताइन्छ।
सुरुमा एनसेल सञ्चालन कम्पनी रोनोल्ड्स होल्डिङले नेपालमा दर्ता नभएको नर्वेजियन कम्पनी टेलियासोनेरा र ताजकिस्तानको भाइजरलाई सेयर बेचेको थियो। तर, टेलियासोनेराले आफ्नो ६०।४० प्रतिशत सेयर भने मलेसियाको एक्जियटा कम्पनीलाई बेच्यो। टेलियासोनेराले एक्जियटालाई १ सय ४० अर्बमा एनसेलको सेयर बेचेको बताइन्छ। यी दुई कम्पनीबीच सेयर किनबेच हुने कार्य नेपालमा नभई कुनै विदेशी भूमिमा भएको थियो।
यसरी एउटा कम्पनीले अर्को कम्पनीलाई सेयर बेच्दा एनसेलले नेपाल सरकारलाई पूँजीगत लाभकरबापत करिब ३५ अर्ब तिर्नुपर्ने देखिएको थियो। अर्बौं रकमको लाभकर तिर्न एनसेललाई सरकारले दबाब दिए पनि तिर्ने मनस्थिति नबनाएपछि सबैतिरबाट चर्को दबाब पर्यो। नेपालमा दर्ता नै नभएको टेलियासोनेरासँग कुन आधारमा लाभकर असुल्ने भन्नेमा लामो विवाद भयो। चारैतिर दबाब बढेपछि पछिल्लो समय एनसेलले केही अर्ब लाभकर भने बुझाएको थियो।
१० करोड लगानीमा खोलिएको एनसेलले अर्बौं रकम मुनाफास्वरुप विदेश लैजाने तयारी गरेपछि राष्ट्र बैङ्कले रोकेको थियो। पछि, एनसेलको सेयर एउटा कम्पनीले अर्को कम्पनीलाई बेचेपछि तिर्नुपर्ने लाभकर नतिरेपछि मुनाफा बाहिर लैजान दिन अझै कडाइ गरिएको थियो।
चार वर्षअघि राष्ट्र बैङ्कले एनसेलको मुनाफा बाहिर लैजान रोक्दा १० अर्ब रुपियाँ रहेको थियो। एनसेलले पनि १० अर्ब मुनाफा लैजान पाउनुपर्नेमा निकै लबिङ गरेको थियो। तर, चार वर्षपछि राष्ट्र बैङ्कले एनसेलको मुनाफा लैजान पाइने निर्णय गर्दा भने ८ अर्बको टुङ्गो गरेको छ।
कसरी ८ अर्बमात्रै भयो र २ अर्ब कता गायब भयो भन्ने प्रश्न तीव्र रुपमा उठेको छ। राष्ट्र बैङ्कको स्रोत भन्छ, ुएनसेलले बाहिर लैजान पाइने मुनाफा १० अर्ब थियो तर राष्ट्र बैङ्कले ८ अर्बमा मात्रै निर्णय गरेको छ। कतै हराएको २ अर्ब एनसेलले नेपालभित्रै त खर्च गरेन भन्ने गम्भीर प्रश्न उठेको छ।
पछिल्ला सुन प्रकरणमा पनि महरा मुछिदै आएका छन् । आफू भुरा माछा भएको उनको हाकाहाकी स्वीकारोक्ति विषय झनै गम्भीर बनाएकाे छ ।







