पछिल्लो समय युरोपमा नाम चलेका खेलाडीलाई ठूलो धनराशि खर्च गरेर आफूसँग अनुबन्ध गरिरहेका चिनियाँ फुटबल क्लबहरूले पूर्वअर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई समेत भित्र्याउने प्रयास गरेको छ ।

त्यसका लागि रकम नखुलाइए पनि लाखौं डलरको प्रस्ताव गरिएको म्याराडोनाका वकिलले खुलासा गरेका छन् । म्याराडोनाका वकिल माटियास मोर्लाका अनुसार अर्जेन्टिनी फुटबलर कार्लाेस टेभेजलाई चीन भित्र्याउने क्लबले नै म्याराडोनालाई पनि लाखौं डलरको प्रस्ताव गरेको हो ।

टेभेज हालै चिनियाँ क्लब सांघाई सेन्हुवामा आबद्ध भएका थिए । मोर्लाका अनुसार सेन्हुवाले चीनका विभिन्न विद्यालयहरूमा फुटबल सिकाउनका लागि म्याराडोनासँग प्रस्ताव राखेको हो । सेन्हुवाले चीनका विद्यालयहरूलाई लक्षित गरी विशेष कार्यक्रम सुरु गर्दैछ, जसको नेतृत्व म्याराडोनालाई दिन लागिएको हो । म्याराडोना पनि चिनियाँ क्लबको प्रस्तावप्रति सकारात्मक देखिएको मोर्लाले जनाएका छन् ।

‘टेभेजलाई चीन लैजाने क्लबले नै म्याराडोनाका लागि पनि ठूलो रकमको प्रस्ताव गरेको छ । म्याराडोनाले प्रस्तावमा सहमतिसमेत जनाइसकेका छन्’, मोर्लाले भने, ‘अहिले हामी प्रस्तावमाथि छलफल गरिरहेका छौं ।’ आफ्नो एक्लो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप उपाधि दिलाएका म्याराडोनालाई अन्तर्राष्ट्रिय फुटबलमा महान् हस्तीका रूपमा लिइन्छ । उनले फुटबल खेल्न छाडेको २० वर्ष भइसकेको छ । यद्यपि आफ्नो समयका उत्कृष्ट खेलाडी म्याराडोनाले आफ्नो अनुभव प्रयोग गरी चीनमा नयाँ खेलाडी उत्पादन गरून् भन्ने उद्देश्यले उनलाई भित्र्याउने प्रस्ताव गरेको हुनसक्ने मोर्लाले बताए।

‘म्याराडोनालाई विद्यालयमा फुटबल सिकाउने परियोजनाको प्रमुख भनिएको छ । उनले चीनमा तोकिएका केही विद्यालयमा फुटबल सिकाउनेछन्’, मोर्लाले भनेका छन्, ‘यो चीनमा पनि अर्काे म्याराडोना उत्पादन गर्ने अभियान हो ।’

चीनले पछिल्लो समय फुटबल विकासमा निकै ठूलो लगानी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडीलाई भित्राउन जति पनि खर्च गर्न तयार भएको चीनले घरभित्रै पनि फुटबल विकासको आधार तयार पार्दैछ । चीनले सन् २०२५ सम्म देशमा ५० हजार फुटबल एकेडेमी निर्माण गर्ने योजना पनि अघि सारेको छ । चिनिया फुटबल महासंघका उपाध्यक्ष वाङ् डेङ्फेङ्लेले ५० हजार एकेडेमी निर्माण गरिने बताए । यसअघि चिनिया फुटबल संघले सन् २०२० सम्म २० हजार एकेडेमी निर्माण गर्ने घोषणा गरेको थियो ।

म्याराडोनाले चीनमा फुटबल संघको यो कार्यक्रमलाई पनि सहयोग पुर्‍याउने छन् । सन् २०२५ सम्म देशमा पाँच करोड उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने योजना अघि सारेको चीनले प्रत्येक विद्यालयमा एक हजार विद्यार्थीले अभ्यास गर्न सक्ने वातावरण बताउने बताइएको छ ।

‘हाम्रा प्रत्येक विद्यालय एक हजार खेलाडीलाई तालिम दिन सक्षम हुनेछन्’, चिनियाँ फुटबल संघका उपाध्यक्ष वाङलाई उदृत गर्दै चिनियाँ सरकारी सञ्चार माध्यमले भनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार