काठमाडौं ८ जेठ । वैशाखको अन्तिममा भएको सत्तासीन र राजपाको संयुक्त बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए– म २ गते राजीनामा दिने तयारीमा छु । अर्को बैठकमा भने चार गते । दलहरुकै छलफलका क्रममा उनले जेठ ६ गतेलाई राजीनामा तोकेका थिए । ‘प्रधानमन्त्रीले ८ गते राजीनामा दिने’ सार्वजनिक रुपमा नै बाहिर आएको थियो तर उनले पछिल्लो समय राजीनामाको भाग सार्दै आएका छन् । कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्ने बताएका छन् तर राजीनामाको भाग भने सार्दै लगेका छन् ।
आजबाट हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । यसअघि उनले नीति तथा कार्यक्रमअघि नै राजीनामा गर्ने बताएका थिए । राजपाका संयोजक महत्व ठाकुरले प्रधानमन्त्रीले राजीनामा दिन्छु भनेर पटक–पटक भाका सारेको र त्यसले आफूहरुलाई अचम्ममा पारेको बताए ।
‘बैठकमा आफैँ राजीनामाको मिति तोक्नुहुन्छ आफैँ सार्दै हुनुहुन्छ, किन हो थाहा पाउन सकिएको छैन।’ उनले भने । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ ।’ मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे ।
‘अब बजेटपछि राजीनामा दिन्छु भनेर अर्को भाका पनि आउन सक्छ, त्यस्तै हुँदा जेठ ३१ मा चुनाव गरेपछि पो अर्को मिति पनि आउन सक्छ ।’ स्रोतले भन्यो ‘प्रधानमन्त्रीको राजीनामाको भाका सार्नुले कांग्रेसका सभापति देउवा पनि रशंकित भएका छन् ।’
यसले माओवादी केन्द्र र कांग्रेसका बीच सत्तासंघर्ष चर्किने सम्भावना बढ्दै गएको देखिन्छ ।
एमालेका नेतृ बिन्दा पाण्डेले हिजो बेलकाका साझा सवाल कार्यक्रममा एमालेका तर्फबाट नयाँ प्रधानमन्त्रीको खेलमाा पेले र रोनाल्डो उतार्ने बताइसकेकी छिन् ।
यसबाट एमाले पनि नयाँ प्रधानमन्त्रीको निर्वाचनमा रणनीति बनाइरहेको कुरा बुझ्न सकिन्छ । एक उच्चस्तरीय स्रोतका अनुसार प्रधानमन्त्री बन्न देउवालाई फलामको चिउरा चपाएसरह नै हुनेछ ।

