कञ्चनपुर/पिएलएका साथीहरुले प्रश्न दिनुभएको छ मलाई । साथीहरु म तपाईंहरुलाई जवाफ दिन सक्छु । चुनौती गरेर तपाईंका नेताहरुलाई भन्नुहोस् । किनकी पिएलएका निम्ति १५ हजारभन्दा बढी योद्धाहरुले जसरी त्याग र बलिदान गर्नुभयो, बन्दुक खोस्दाखेरि म आफैंलाई थाहा छ, लमजुङको विचौर भन्ने चौकीमा सन् २०५८ साल असार २३ गते भर्खर दरबार हत्याकाण्ड भएको एक महिनापछि आक्रमण भएको थियो ।

त्यहाँ एउटा बन्दुक जोगाउन छ जना योद्धाहरुले सहादत गरेका छन् । एउटा लडाकू ढल्थिन्, अर्कोले गएर उठाउँथिन्, तिनी ढल्थिन् अर्कोले गएर उठाउँथे । ६–६ जना मान्छे ढलेका थिए । त्यसरी ती बन्दुकहरु, ती राइफलहरुको जगेर्ना गरिएको थियो ।

त्यसरी संरक्षण गरिएका बन्दुकहरु के भयो ? मैले आज यो कुरा भन्नुपर्छ, भित्र भनिसकेको छु, बाहिर पिएलएका साथीहरुले प्रश्न सोधेकोले मैले भन्नुपर्छ, तीमध्ये हामीसँग तीन/चार हजार बन्दुक थियो । जब हामी शान्ति प्रक्रियामा आयौं, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रचण्ड र मसँग उहाँको एकचोटि कुरा भयो । हामीले भन्यौं, त्यतिबेला पनि राजनतन्त्र खारेज भइसकेको थिएन, राजा थिए । अनि हामीलाई लाग्यो, फेरि शान्ति प्रक्रिया भंग भयो र राजतन्त्र आयो भने त फेरि अर्को सशस्त्र युद्ध गर्नुपर्ने हुनसक्छ ।

अनि हामीले भन्यौं, ‘गिरिजाबाबु तपाईंले सात सालतिर के गर्नुभएको थियो ? राजतन्त्रको के भरोसा छ ? केहीगरी यत्रो मान्छे सहादत भएर लडेर ल्याएको बन्दुक हामीले अहिले बुझाइदियौं शान्तिप्रक्रिया, तर भोलि गएर राजतन्त्रले फेरि धोका दियो भने के गर्ने ?’

गिरिजाबाबुलाई म सम्मान गर्न चाहन्छु । मैले बाहिर पनि भनिसकेको छु । उहाँले ‘ठिक छ, राख्नुहोस् तपाईंहरुले । अलिकति बन्दुक राख्नुस् । यसको ठेगान छैन, जतिबेला गणतन्त्र आउला, त्यतिबेला बुझाउनुहोला । गणतन्त्र नआएसम्म केही बन्दुक राख्नुहोस्’ भन्नुभयो उहाँले । मैले संख्या बिर्सिएँ, ४ सयदेखि ७ सयसम्म बन्दुक लुकाएर राख्यौं ।

पछि जब म प्रधानमन्त्री भएँ, त्यसपछि तपाईंका नेता अहिलेका प्रधानमन्त्रीले एउटा विदेशी खुफिया एजेन्सीलाई सात सय हामीसँग भएको अत्याधुनिक राइफलहरु थिए, उनले बेचेछन् पैसामा । बेचेपछि उनलाई समस्या पर्‍यो । यतै महेन्द्रनगर कहाँ कहाँबाट बाहिर निकाल्नुपर्ने । बाहिर लिएर जानुपर्ने, समस्या पर्‍यो । उहाँले आएर भन्नुभयो, ‘ल प्रधानमन्त्रीजी, समस्या पर्‍यो, तपाईंले सुरक्षा अथवा सेनालाई भनिदिनु पर्‍यो । यतिचाहिँ मैले यसरी बेच्ने भएँ । यसरी तपाईंले बाहिर निकाल्न सहयोग गर्नुपर्‍यो ।’

म खंग्रङ्ग भएँ । लज्ज्ति भएँ । जसका निम्ति यत्रा सहिदहरुले, मेरा छोरीहरुले आफ्नो ज्यान समर्पण गरेर बन्दुक लिएका थिए, एउटा विदेशी खुफिया एजेन्सीलाई आफ्नो देशको कमान्डर भन्ने मान्छेले बेचेर पैसा कमाउन र करोडौं रुपैयाँ लिन मिल्छ ? मिल्दैनथ्यो । मैले मानिनँ । मैले भने, ‘सम्भव छैन ।’ यो कुरा लुक्दैन । कुनै दिन बाहिर आउँछ । यो कलंकले तपाईंलाई खान्छ । म पनि मतियार हुन्छु । हुँदैन । म सक्दिन भनेँ मैले । त्यसो भनेपछि उनी पछि हटे ।

साझा पेजमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार