आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

छनोटमा हालै नामिबियामा सम्पन्न डिभिजन टु खेलेकै खेलाडीहरुले स्थान बनाएका छन् ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीमा एक जना नयाँ अनुहार थपिएका छन्। स्पिनर ललित नारायण राजवंशीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका छन्।

डिभिजन टु मा वैकल्पिक खेलाडीको रुपमा रहेका ललित विश्वकप छनोटको लागि भने १५ सदस्यीय टोलीमा परेका हुन्।

यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी बैकल्पिक खेलाडीमा अटाएका छन्। विनोद डिभिजन टु को लागि वैकल्पिक खेलाडीको रुपमा समेत थिएनन्।

आगामी मार्च ४ देखि २५ सम्म चल्ने विश्वकप छनोटमा नेपाल समूह बि मा रहेको छ। डिभिजन टु को उपविजेता बनेको नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङ छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्ने छ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र  हङकङसँग मार्च १२ मा खेल्नेछ ।

प्रतियोगिताअघि नेपालले दुई अभ्यास खेल खेल्नेछ। नेपालले  फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ।


विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब


समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्।

शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।

एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।

यस्तै छनोटमा शीर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछन्।

यी हुन् नेपाली नेपाली टोली :

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल
  • शक्ति गौचन
  • बसन्त रेग्मी
  • शरद भेषावकर
  • सोमपाल कामी
  • करण केसी
  • आरिफ शेख
  • सन्दीप लामिछाने
  • दीपेन्द्रसिंह ऐरी
  • दिलीप नाथ
  • ललित भण्डारी
  • अनिलकुमार साह
  • रोहितकुमार पौडेल
  • ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी

  • सुनिल धमला
  • किशोर महतो
  • सिधान्त लोहनी
  • बिनोद भण्डारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार