विश्वकप छनोट अन्तर्गत प्लेअफमा नेदरल्याण्डले भर्खरै हङकङलार्इ पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको छ।
नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएको हो।भर्खरै सम्पन्न दोस्रो प्लेअफमा नेदरल्याण्डले हङकङलार्इ ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको हो।
त्यसअघि प्लेअफकै अर्को खेलमा अाज नेपालले पपुवा न्यूगिनीलार्इ ६ विकेटले पराजित गरेको थियो।
पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। नेपालका दीपेन्द्रसिंह एेरीले ५० रन जोडेका थिए। ५८ बलको सामना गरेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै, अारिफ सेखले २६ तथा पारस खड्काले २० रन जोडे भने अनिलकुमार साह ९ र ज्ञानेन्द्र मल्ल १ रनमा अाउट भएका थिए। पीएनजीका नोर्मन भाउवले २ तथा एलेइ नाव र जोन रेभाले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २७.२ अोभरमा सवै विकेट गुमाएर १ सय १४ रन जोडेको थियो। पीएनजीका चाल्स जोर्डन अामिनीले सर्वाधिक १९ रन जोडे। उनीसँगै जोसन किलाले १५ तथा अशोदल्लाह भाला, चाड सोपुर र किपलिन डोरिगाले समान १० रन जोडेका थिए।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले समान ४-४ विकेट लिए। ४.२ अोभर बलिङ गरेका दीपेनद्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै, ८ अोभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर ४ विकेट लिएका थिए। उनीसँगै सोमपाल कामी र करण केसीले पनि एक विकेट हात परे।







