उत्कृष्ट पुनरामगन गरेको खेलमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफमा १–० ले पछि परेको परिस्थिति उल्टाउँदै स्वीट्जरल्यान्ड २-१ को महत्वपूर्ण जित हासिल गरेको हो।जारी विश्वकपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ।

पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको स्वीट्जरल्यान्डले दोस्रो खेलमा ३ अंक जोड्दै ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

खेलको पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० को अग्रता कायमै राखेको सर्बियाले दोस्रो हाफमा गोल गर्न सकेन।

स्वीटजरल्याण्डका लागि ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेका थिए।

लगभग बराबरीमा सकिन लागेको खेलको अन्तिम मिनेटमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए। सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका हुन्।

यो खेलसँगै समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टारिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो। पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक भएको। कोस्टारिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टारिकाको सामना गर्नेछ। त्यसैले नकआउट चरण पुग्ने दुई टोलीको भविश्य अन्तिम खेलसँग सम्बन्धित छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार