अाइतबार भएकाे विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।
खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १-० ले अग्रता लिने अवसर पायो ।
रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुपर्यो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुबै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।







