विश्वकपकाे फाइनलमा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।
तेस्रो पटक फाइनलमा पुगेको फ्रान्सले दोस्रो पटक उपाधि जित्दा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले संसारभरमा खेलप्रेमीको मन जितेको छ।
क्रोएसियाले जारी विश्वकपमा ९ गोल खाएको छ भने १४ गोल गरेको छ। रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच जारी विश्वकपको गोल्डेन बलको समेत दाबेदार हुन्।
यदी आज क्रोएसियाले खेल जितेको भए विश्वकप जित्ने नवौं राष्ट्र बन्ने थियो। मात्र ४३ लाख जनसंख्या र रूसी सहर मस्कोभन्दा एक तिहाई आकारको क्रोएसिया विश्वकप जित्ने उरुग्वेपछिको दोस्रो सानो राष्ट्र बन्ने थियो।
तर आज राम्रो खेल्दा खेल्दै उसले हार व्यहोर्न बाध्य भयो। अधिकांश समय ल नियन्त्रणमा राखेको क्रोएसियाले फिनिसिङ गर्न नसक्दा हार्नुपर्यो। फ्रान्सले पाएका थोरै अवसरलाई उत्कृष्ट सदुपयोग गर्दै खेल जित्यो।
रियल म्याड्रिडका मिडफिल्डर ल्युका मोडरिचले क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाए। सानो शरीरका भएर पनि कहिल्यै नथाक्ने किसिमले मैदानमा दौडदै सटिक पास दिइरहेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बलका प्रमुख दाबेदार रहे।
विश्वकप खेल्न रसिया जानुअघि कसैले पनि पूर्वी युरोपको यो सानो देशले फाइनल त के सेमिफाइनलको यात्रा गर्छ भन्ने अनुमान पनि गरेका थिएनन्। तर, समीकरण त्यस्तै बन्यो। भाग्यले साथ दिएर फाइनल सम्मको यात्रा गर्दै विश्वकपमा उत्कृष्ट रह्यो।
पाँचौपल्ट विश्वकपमा सहभागि क्रोएसियाको सफलताको मुख्य आधार टिम वर्क थियो। उसका सबै खेलाडी जुझारु थिए, भिडेर खेल्थे। सन् १९९८ मा हात पारेको तेस्रो स्थानको उपलब्धिलाई यसपटक उपविजेता हुँदै सुधारेको छ।
नकआउटका तीनै खेलमा एक गोलले पछाडि परेको स्थिति उल्टाएर जित रचे पनि फाइनलमा नतिजा आफू अनुकुल हुन सकेन।







