काठमाडौं । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ । सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ ।
राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसको सन्दर्भ पारेर बिहीबार जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा एक सय मध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ ।

बाँकी शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरुको निरन्तररुपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ । सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ । प्रदेश २ मा सबैभन्दा कम अर्थात् ४५.३ प्रतिशत छ ।
अर्कोतर्फ पाँच वर्षमा नेपालमा शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ । सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो । सन् २०१६ मा आइपुग्दा नौ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ । यसरी जन्मेका शिशुमध्ये एक घण्टाभित्र एक तिहाइले मात्र स्तनपान गर्ने मौका पाउँदछन् । विश्वमा जन्मेको एक घण्टामै स्तनपान नगराइने शिशुको संख्या भने सात करोड ८० लाख छ ।
news 24nepal

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार