
१३औं दक्षिण एसियाली खेदकुल (साग)मा नेपालले अहिलेसम्म ४१ स्वर्ण जितेको छ । बिहीबार नेपालको स्वर्ण पदक संख्या ३६ थियो भने शुक्रबार ५ स्वर्ण थपिएसँगै ४१ पुगेको हो ।
नेपालले शुक्रबारसम्म २७ रजत, ४८ कास्यसहित कुल १ सय १६ पदक जितेकाे छ ।
८१ स्वर्ण, ५९ रतज र २५ कास्यसहित भारत पहिलाे स्थानमा छ ।
नेपालले शुक्रबार गल्फ, पौडी, भारोत्तोलन र एथ्लेटिक्समा गरी थप पाँच स्वर्ण जितेकाे हाे । पुरुष भारोत्तोलन ८९ केजी तौल समूहमा विकास थापाले स्वर्ण पदक उम्किन दिएनन् ।
गल्फको पुरुष एकलतर्फ नेपाललाई १७ वर्षीय सुभाष तामाङले स्वर्ण दिलाए । गल्फकै पुरुष टिम इभेन्टमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जित्यो ।
एथ्लेटिक्सतर्फ ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले नेपालको नाममा स्वर्ण थपे । नेपालकी गौरिका सिंहले महिला २ सय ब्याक स्ट्रोक पौडीमा स्वर्ण जितिन् ।
कुल ३ सय १८ स्वर्णमा नेपालले न्यूनतम ५० स्वर्ण जित्दै १३औं सागमा दोस्रो हुने लक्ष्य राखेको छ । नेपालबाट आश गरिएका अधिकांश खेल सकिए पनि अन्य खेलबाट नेपालले स्वर्ण जित्ने अपेक्षा गरिएको छ ।
अझै डेढ सयभन्दा बढी स्वर्णका लागि प्रतिस्पर्धा हुन बाँकी नै छ । समग्रमा नेपालले लिएको लक्ष्यअनुसार कम्तिमा ५० स्वर्ण हात पार्ने सम्भावना देखिएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले ५० स्वर्ण नाघ्ने दाबी गरेका छन् ।
सन् १९९९ मा भएको आठौं सागमा ३१ स्वर्ण जित्दै नेपाल दोस्रो भएको थियो ।







