
एउटा मानव शरीरमा झन्डै ३७ दशमलव २ ट्रिलियन अर्थात तीन सय ७२ खरब सेल अर्थात् कोष हुन्छ र त्यो भन्दा बढी बाक्टेरिया। एउटा अध्ययनले एउटा मानव शरीरमा ३० ट्रिलियन अर्थात तीन सय खरब कोष विद्यमान हुदा झन्डै ३९ ट्रिलियन अर्थात तीन सय ९० खरब बाक्टेरिया हुने बताएको छ।
बाक्टेरिया भनेको जिवाणु र भाइरस भनेको विषाणु भन्ने बुझिन्छ। बाक्टेरिया एक कोषबाट बनेको हुन्छ जबकि भाइरस भनेको परजीवी हो जसलाई विस्तारका लागि जीवित सेल/टिसु चाहिन्छ। बाक्टेरिया भन्दा भाइरस सानो हुन्छ। एक प्रतिशत भन्दा कम बाक्टेरिया मात्र हानिकारक हुन्छन् जसलाई प्याथोजेनिक बाक्टेरिया भनिन्छ, जबकि पृथ्वीको पारिस्थितिक प्रणाली इकोसिस्टमदेखि मानव स्वास्थ्यका लागि अन्य बाक्टेरियाहरू हितकारी हुन्छन्।
भाइरस भने प्रायस हानिकारक हुन्छन्। भाइरस भन्नासाथ आक्रामक संक्रमणका लागि चिनिन्छ तथापि केही भाइरसले अन्य भाइरस सिध्याउने हुँदा हितकारी हुन सक्छन् जसलाई प्रोटेक्टिभ भाइरस भनिन्छ। कतिपय भाइरस असिम्प्टोम्याटिक अर्थात् कुनै लक्षण नदेखाउने हुन्छन्। कुनै मान्छेले एक पटक खोक्दा/हाच्छिउँ गर्दा तीन हजार देखि दसौं हजार छिटा प्रक्षेपित हुन्छन्। संक्रमित मान्छेको प्रत्येक छिटामा लाखौं/करोडौं विषाणु जिवाणु हुन सक्छन्। त्यस्ता विषाणु वायुमण्डलमा केही समयसम्म तैरन्छन् त्यसपछि सतह, वस्तु आदिमा बस्न पुग्छन्। तिनको खास आयु हुन्छ तसर्थ ती जीवित रहेसम्म संक्रमणको सम्भावना/ खतरा रहिरहन्छ।
कोरोना जुनोटिक प्रकारको भाइरस हो, जुन पशु/पंक्षीमा पाइन्छ र मान्छेमा सर्छ। अहिले मान्छेबाट मान्छेमै सरिरहेको छ। भाइरसहरू परजीवी हुन्छन् अर्थात् मानव शरीर यसको आ श्रयस्थल (होस्ट )हो र होस्टभित्र मात्रै यसको विस्तार हुन्छ। एक पटक कुनै भाइरसको संक्रमणबाट निको भइसकेको मान्छेलाई भविष्यमा सामान्यतया त्यही संक्रमण दोहोरिँदैन तर कोभिड-१९ को मामलामा ढुक्क भएर भन्न सकिने अवस्था छैन।
भाइरसले जब मानव शरीरमा अतिक्रमण गर्छ, त्यस्तो संक्रमणविरुद्घ हाम्रो प्रतिरोध प्रणाली सक्रिय हुन्छ। किशोर वयमा भाइरल इन्फेक्सन हुनु/ज्वरो आउनु सामान्य प्रक्रिया हो किनकि त्यसैका कारण शरीरमा प्रतिरोध प्रणाली विकसित हुँदै जान्छ। शरीरमा घुसपैठी भाइरस परास्त भए कुनै रोग लाग्दैन तर मानव शरीरको प्रतिरोध प्रणाली कमजोर/परास्त भयो भने संक्रमण फैलिन्छ।
यसरी भाइरसले मानव कोषमा गुँड लगाउँछ र भाइरसको संख्या अभूतपूर्व तवरमा वृद्घि हुँदै जान्छ। यसरी मानव शरीरभित्र लाखौं/करोडांै भाइरस वृद्घि हुँदै जाँदा मान्छे बिरामी हुन्छ र अन्ततः मृत्यु हुन्छ।
मानवअधिकारकर्मी कृष्ण पहाडीसँग अन्नपूर्णले गरेको कुराकानीको सानो अंश ।







