
सहिद धनवीर दर्जीका छोरा सोमबहादुरलाई बन्दुकको आवाज र तत्कालिन सैनिक प्रहरीको गर्जनले आतंकित बनेको क्षण अझै ताजै छ । खेती किसान मेलापात गर्दै सामान्य जीवन गुजार्दै आएका दर्जी परिवारका लागि २०३६ साल कात्तिक २७ गतेको दिन अकल्पनीय रह्यो ।
धनवीरलाई तत्कालीन शासकले गोलीको निशाना बनाएको थियो । २०३६ साल कात्तिक अन्तिम साताभर छिन्ताङको सिंगो गाउँ रगतले पोतियो । जसमा दर्जीसहित १६ जनाको ज्यान गएको थियो ।
उता, ३ वर्षको छोरो काखमा च्यापेर बसेकी भजना दमाइ पनि त्यस बेलाको क्षण सम्झँदा अझै भक्कानिन्छिन् । उनका पति गम्भीरमान पनि गोलीको निशाना बनेका थिए । तत्कालीन पञ्चायती शासकले व्यवस्थाविरोधी भन्दै सिंगो गाउँबस्ती मै दमन गरेको थियो ।
त्यो हुलमुलमा सुत्केरी अवस्थामा रहेकी श्रीमाया राई ९हांखिमा साईली० मात्रै होइन, ७ कक्षामा पढ्दै गरेका १४ वर्षिय केशरमान राई समेत प्रहरी यातनामा मारिएका थिए । अधिकांस सहिद परिवारका सदस्यको एउटै प्रश्न छ, हामीले परिवारका अगुवा गुमायौं, आखिर जीवनभर अभावमा बितायौं, आखिर के पायौं रु गम्भीरमानका पत्नि भजनाले भनिन्, ‘मेरा श्रीमानले यो समाजमा त्यस्तो बिद्रोह र बिरोध के गरेका थिए भन्ने मैंले अझै बुझेकी छैन, सालिक राखियो, तर परिवारलाई दुःखका दिन कहिल्यै गएन ।’ सहीदभूमि–३ पञ्चकन्यामा रहेकी ६७ वर्षिया भजना दमाइले अनाहकमा श्रीमान्को ज्यान लिए, तर आफू र परिवारका सास्तीको दिन कहिल्यै नगएको गुनासो पोखिन् । छोरा सूर्य त वर्षौसम्म युएइको दुबइमा बसेर श्रम गरेर केही वर्ष अघि गाउँ फर्किएका छन् ।
व्यवस्था बदलिए । सरकार बदलिंदै गए । नेता फेरिँदै गए । तर, २०३६ सालमा भएको चर्चित छिन्ताङ हत्याकाण्डमा व्यवस्था बदल्न ज्यान अर्पण गरेका सहिदका प्रभावित परिवारको अवस्था अझै बदलिएको छैन । ४४ वर्ष पहिलेको उक्त घटना इतिहासमा तत्कालिन शासकको कलंकित कार्यको रुपमा ऐतिहासिक छिन्ताङ हत्याकाण्ड परिचित छ ।
तत्कालीन व्यवस्थाविरुद्ध संगठित भएको भन्दै धनकुटाको खाल्सा क्षेत्र अन्तर्गत खोकू, छिन्ताङ र आँखीसल्लाका १६ जनाको वर्वर रुपमा हत्या गरिएको थियो ।
हत्या छिन्ताङको सेरोफेरोमा भएकोले ‘छिन्ताङ हत्या काण्ड’को नाममा उक्त घटना उल्लेख छ । अधिकांस हत्याका शृंखला एक साताको अवधि ९कात्तिक २४ देखि २९० मा भएको थियो ।
‘सहिदका जहान वा छोराछोरी’ नाम मात्रमा सिमित बनेको सहिद पुत्रमान थुलुङ राईका छोरा बलरामको गुनासो छ । रोजीरोटी र अन्य अवसर नपाएपछि अधिकांस सहिद परिवारका सदस्यको अवस्था दयनीय रहेको उनी बताउँछन् । ‘कम्युनिस्ट र विद्रोही’ भनेर उनका बाबुलाई हत्या गरेको थियो । सोमबहादुरका अनुसार ‘त्यसबेला कम्युनिस्ट भनेर मारिएका आफ्ना बाबु सहित अन्य परिवारका लागि हालका शासकहरुले बिर्सिएको छन् । ‘प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइराला सरकारका बेलामा जनही सहीद परिवार १ लाख र कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा प्रदेश सरकारबाट जनही परिवार ५ लाख रुपैंयाँ दिइएको थियो । माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेलामा २५ हजार रुपैंयाँ जनही परिवारमा दिइयो । तर, रोजीरोटी वा जागिरको अवसरमा चासो जान नसकेको परिवारका सदस्यको गुनासो छ ।
सहिदको स्मृतिमा छिन्ताङमा २०५२ सालमा सहिद पार्क तथा सालिक स्थापना गरिएको छ ।सहिद स्मृति दिवसमा गरिने औपचारिक कार्यक्रममा सामान्य चहलपहल बाहेक अन्य गतिविधि छैन । सहिद स्मृति प्रतिष्ठान, छिन्तांगका अध्यक्ष रुपलाल राई भन्छन्, ‘सहिद परिवारका नाममा अनावश्यक स्वार्थको राजनीति गरेरै नेताहरुले आफ्नो कुर्सी बचाइरहेका छन्, सहीद परिवारका हकमा एक घर एक रोजगारदेखि यो क्षेत्रमा पानी, बिजुली, सडकको सबै सुलभ सहयोग गर्ने बाचा गरिएको थियो,’राई भन्छन्‘तर अहिले आएर १ रुपैंया पनि बजेट यो शीर्षक र यो प्रयोजनमा राखिएको छैन ।’ सरकार फेरिएपिच्छे नै सहिदका परिवारका लागि धाउने गरेपनि सुनुवाइ नभएपछि दिक्दार लागेको राई बताउँछन् ।
‘छिन्तांङको राजनीतिक हत्याकाण्ड’ कृतिका लेखक एवं प्राध्यापक गोपालबहादुर भट्टराईले छिन्ताङ काण्डपछि गाउणमा सुरक्षा–प्रहरी तैनाथी गरिएको र कम्युनिस्ट नामका जोकोहीलाई तारो बनाइएको बताए ।
सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार, छिन्ताङ काण्डको इतिहास साढे ४ दशक पुरानो भैसकेको र सहरी परिवारका निम्ति सामान्य राहत प्रदान गरिने सामान्य कार्य बाहेक ठोस उपलब्धि नभएको बताउँछन् । सहिदको नाममा खोकु, छिन्ताङ र आँखीसल्ला क्षेत्र ९जसलाई खाल्सा क्षेत्र भनिन्छ० समेटेर सहिदभूमि गाउँपालिका नामाकरण गरिएको थियो । राष्ट्रिय सहिदको घोषणा वापतको राहत, परिवारलाई रोजगार, प्राविधिक तथा व्यवशायिक सीप तालिम, सहिद परिवार परिचयपत्र लगायत माग अघि सार्दै आएपनि यसतर्फ राज्य उदासिन बन्ने गरेको गुनासो छ ।
राष्ट्रिय सहिद घोषणा गरिएको ६ वर्षसम्म राहत दिइएन
छिन्ताङ हत्याकाण्ड भएको ३८ वर्षपछि सरकारले उक्त घटनामा मारिएकालाई गत २०७४ पुसमा राष्ट्रिय सहिदको मान्यता दिएको थियो । उक्त घटनामा मारिएका १६ जनालाई राष्ट्रिय सहिद घोषणा गरियो । तर, हालसम्म त्यस वापत दिइने भनिएको दश लाख रुपैयाँ समेत सहिद परिवारलाई नदिएको भन्दै तीब्र आलोचना बढेको छ । संघीय सरकारले उपलब्ध गराउने राहत हालसम्म नदिएको सहिद परिवार सरोकार समाजका अध्यक्ष बलराम राईले गुनासो गरे । २०७४ पुसमा सहिद घोषणा गरि प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेपनि नपाएको उनले बताए । सहिदको नाममा राजनीतिक प्रभावका आधारमा सेवा सुविधा दिइने गरेपनि छिन्ताङका सहिद जसले व्यवस्था परिवर्तनका लागि लडेर ज्यान दिए पनि वेवास्ता गरिएको राई बताउँछन् ।
जिल्लाबाट प्रतिनिधित्व गरी पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको पाला९२०३६०मा छिन्ताङ हत्याकाण्ड भएका थियो । उक्त घटनापछि साढे ३ दशकभन्दा बढी समय छिन्ताङ क्षेत्र प्रवेश गर्न नसकेका थापा २०७० सालमा सुरक्षा तैनाथीका साथ गएका थिए । थापाको बारेमा लेखिएको पुस्तकमा झापाको कम्युनिस्ट आन्दोलनका कारण घटना भएको उल्लेख छ । आएको थापाको कृतिमा छिन्ताङ घटनाबारे लेखिएको छ—‘देशमा राष्ट्रिय जनमत संग्रहको सरगर्मी बढिरहदा धनकुटाको निकै दुर्गम र पीछडिएको मानिने छिन्ताङमा राज्यको सुरक्षा कारबाहीमा १६ जनाले ज्यान गुमाए । घटनालाई कम्युनिस्टहरूले त्यसलाई वर्गसंघर्षको प्रयोग भनेका छन् ।
भोट बैंक मात्र बन्छ छिन्ताङ
छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रुपमा राजनीतिक दलहरुले तँछाड मछाड गर्दै आएका छन् । क्षणिक आश्वासनमा लट्याएर जित हात पारेपनि सहिद परिवारको वास्तविक पीडाबोधका बारेमा खास सम्बोधन नभएको गुनासो उत्तिकै चुलिने गरेको छ ।
मुख्यगरी बामपन्थी दलले छिन्ताङ हत्याकाण्डका सहिद परिवार र आफन्तको मतका लागि प्रतिस्पर्दा गर्दै आएका छन् । पछिल्लो समय कांग्रेसले समेत आँखा गाढ्न थालेको छ । त्यस स्थानमा हरेक निर्वाचनमा सबैजसो राजनीतिक दलबीच चुनावी गतिविधिको प्रतिस्पर्धा चल्ने गर्छ । तर चुनाव सकिन्छ, नेताहरु त्यहाँ पुग्ने र पीडितका आवाजको सम्बोधन गर्ने कुरा टाढाको विषय बन्ने गरेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राई बताउँछन् ।
भोट जितेर जानेहरु सहिद परिवारको अवस्थाबारे रत्तिभर चासो नराख्ने उनको भनाई छ । सहिद परिवारले विशेषगरी २०४६ र २०६२र०६३ का राजनीतिक परिवर्तनपछिका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेस गर्ने दिनचर्या नै बन्ने गरेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राईले बताए ।
यस वर्ष पनि पञ्चकन्यास्थित सहिद पार्कमा सहिदका सालिकमा फूलमाला अर्पण गर्ने औपचारिक कार्यक्रम आयोजना गरिएको राईले बताए । तर, सहिद सबैका साझा हुनुपर्नेमा दुई फरक पार्टीले फरक फरक दिन कार्यक्रम गरेको उनको भनाई छ । तिहारको दिन परेकोले सामान्य औपचारिक कार्यक्रम गरिएको उनी बताउँछन् । नेकपा एमालेले सोमबार र माओवादी केन्द्रले मंगलबार औपचारिक कार्यक्रम गरेका थिए । सहिदभूमिस्थित पातालमा निर्माणाधीन सहिद पार्क वर्षौंसम्म लथालिंग बनेको छ ।
छिन्ताङ हत्याकाण्ड९२०३६०का सहिदहरुः
१-गोपालआनन्द राई (हत्या कातिक २४)
२-भैरवबहादुर खालिङ(कातिक २६)
३-बलबहादुर खत्री (कातिक २६)
४-चन्द्रबहादुर दमाई(कातिक २७)
५-गम्भीरमान दर्जी(कातिक २५)
६-गंगाबहादुर राई(कात्तिक २५)
७-टंकबहादुर विश्वकर्मा(कातिक २७)
८-धनवीर दमाई(कातिक २७)
९-लाखमान साधु राई(कातिक २७)
१०-केशरमान राई(कातिक २८)
११-गणेशबहादुर विश्वकर्मा(कातिक २८)
१२-पुत्रमान थुलङ(कातिक २९)
१३-श्रीमाया राई (हांखिमा साईली) (कातिक २९)
१४-झगेन्द्र राई(माघ १८)
१५-रामकुमारी राई(कातिक २९)
१६-रणध्वज पुमा राई(कातिक २७)







