- निर्वाचन नजिकिँदै गर्दा ठूलो परिमाणमा नगद भित्रिनु चुनावी पारदर्शिता र सुरक्षा दुवैका लागि गम्भीर चुनौती हो ।

- झापा — नेपाल–भारत सीमाको पूर्वी प्रवेशविन्दू काँकडभिट्टा यतिबेला दोहोरो जोखिमको घेरामा छ। आसन्न निर्वाचन र भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरसको सम्भावित असरका कारण यो नाका अत्यन्तै सम्वेदनशील छ।
यस्तो अवस्थामा सीमा सुरक्षा कडा र चुस्त हुनुपर्ने हो । सुरक्षा संयन्त्रले निगरानी प्रभावकारी रहेको दाबी गरिरहे पनि यहाँको तस्बिर फरक देखिन्छ।
बिहीबार भारतको पानीटंकी नाकामा झापाकी देवीकला खड्का १० किलो चाँदीसहित पक्राउ परिन् । सीमा सुरक्षा बल (एसएसबी) ले उनलाई नियन्त्रणमा लिएको हो । त्यसको एक दिनअघि एसएसबीले मेघालयका चार भारतीय नागरिकलाई ३६ लाख भारतीय रुपैयाँसहित समातेको थियो ।
प्रारम्भिक बयानमा उनीहरूले उक्त रकम नेपालको चुनावी प्रयोजनका लागि भित्र्याउन लागेको बताएका छन् । तर, कसको चुनावी खर्चका लागि रकम ल्याइएको थियो भन्नेबारे भने खुलाइएको छैन। यी र यस्ता घटनाले सीमा क्षेत्र जोखिमपूर्ण देखिन्छ । निर्वाचन नजिकिँदै गर्दा ठूलो परिमाणमा नगद भित्रिनु चुनावी पारदर्शिता र सुरक्षा दुवैका लागि गम्भीर चुनौती पनि हो ।
तर, विडम्बना के छ भने अवैध गतिविधि नियन्त्रण र मान्छे पक्राउ प्रायः भारतीय पक्षबाट भइरहेका छन्, जबकि नेपाली नाकामा भने निगरानी अपेक्षाकृत फितलो देखिन्छ । यसले सुरक्षा संयन्त्रबीच समन्वय, निगरानी प्रविधि र आन्तरिक अनुशासनमै कमजोरी रहेको संकेत गर्छ ।







