१६ माघ २०८२, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला सुदूरपश्चिम प्रदेश भ्रमणमा छन् ।
भ्रमणकै क्रममा बालेन डोटी पुगेका बेला एउटा भिडियो भाइरल बन्यो । कैलालीको लम्कीमा बालेनकै नक्कल गरेर सनरुफ कारबाट एक युवा घण्टी बजाउँदै, हात हल्लाउँदै अगाडि बढेको देखिन्छ । धेरैले ति युवकलाई बालेन भनेर झुक्किए । तर, भिडियो भाइरल भएपछि तथ्य खुल्यो, उनी सक्कली बालेन नभएर कैलाली टीकापुरका गोपाल कोइराला थिए ।
लोकान्तरसँगको संक्षिप्त कुराकानीमा कोइरालाले भने, ‘खासमा म बालेनलाई समर्थन गर्न त्यहाँ पुगेको थिएँ, मेरो कुनै इन्टेन्सन थिएन ।’
कोइरालाका अनुसार उनी काठमाडौंको तीनकुनेस्थित पेन्टागन कलेज पढ्दादेखि नै बालेनको गतिविधि र उनले गाएका र्यापसँग परिचित थिए । ‘म कलेज पढ्दादेखि नै बालेनसँग प्रभावित थिएँ, काठमाडौंको मेयर भएपछि त झन उनले गरेका राम्रा काम नियाल्ने मौका पाएँ,’ कोइरालाले भने, ‘बालेन कैलाली आउने थाहा पाएपछि म साथीको कारमा बसेर सनरुफ कारमा बसेर हात हल्लाउँदै भीडमा पुगेँ, धेरै झुक्किनु पनि भयो ।’
कोइराला बालेनसँग भेट्न र हात मिलाउन कैलाली पुगेका थिए । तर, उनको त्यो सपना पूरा हुन पाएन । ‘म बालेनलाई
भेट्न र हात मिलाउन गएको थिएँ, तर उनीसँग भेट्न पाइएन,’ उनले लोकान्तरसँग भने, ‘जे भए पनि बालेनको समर्थक भएर नै मैले यस्तो गरेको थिएँ, मलाई कतैबाट पनि तैँले गलत गरिस् भन्ने गुनासो आएको छैन ।’
कोइरालाले बालेनको राम्रा कामलाई मात्रै आफूले पच्छाउँदै गएको बताए । बालेनको जस्तो लुक्स बनाउन कति समय लाग्यो भन्ने प्रश्नमा कोइरालाले भने, ‘म पहिलादेखि नै चस्मा र टोपी लगाएर हिँड्थे, दाह्री पनि पालेकै थिएँ, बालेन जस्तो देखिन मैले त्यस्तो रुप धारण गरेको होइन ।’







