माघ १६, २०८२ शुक्रबार

विश्व क्रिकेटको महाकुम्भ टी–२० विश्वकप सुरु हुन अब केही दिन मात्र बाँकी छ। तर, मैदानमा पहिलो बल फ्याँकिनुअघि नै एउटा अनपेक्षित तथ्याङ्कले विश्व क्रिकेटका पण्डितहरूलाई चकित तुल्याएको छ। त्यो हो— टिकटको माग र बिक्री। आयोजक भारतपछि विश्वकप २०२६ को सबैभन्दा बढी टिकट बिक्री हुने टोलीको सूचीमा नेपाल दोस्रो स्थानमा देखिएको छ।
भारतीय सञ्चारमाध्यम एबीपीलाइभ डट कम का अनुसार नेपालका खेलहरूका लागि भएको टिकटको मागले विश्वका शक्तिशाली क्रिकेटिङ राष्ट्रहरूलाई समेत उछिनेको छ । यो केवल एउटा सुखद तथ्याङ्क मात्र होइन, नेपाली क्रिकेटले पछिल्लो दशकमा तय गरेको लोभलाग्दो उचाइ र समर्थकको अटुट प्रेमको प्रतिविम्ब पनि हो ।
वानखेडेमा ‘होम एड्भान्टेज’ !
नेपालका लागि यसपटकको विश्वकपको केन्द्रविन्दु मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियम बनेको छ। जहाँ नेपालले आफ्ना समूह चरणका खेलहरू खेल्नेछ। टाइम्स अफ इन्डियाले प्रतियोगिता व्यवस्थापनका सूत्रहरूलाई उद्धृत गर्दै जनाएअनुसार, वानखेडेमा हुने नेपालको खेलका लागि अहिले टिकटको लुछाचुँडी भइरहेछ।
श्रीलंकामा भएको एशिया कपमा टोलीको हौसला बढाउँदै नेपाली क्रिकेट टोलीका फ्यान
नेपाली समर्थकहरूको यो व्यापक उपस्थितिलाई आयोजकले ‘सी अफ ब्लु’ (नीलो सागर)को संज्ञा दिएका छन्। भारत भ्रमण गर्ने विदेशी समर्थकहरूमा नेपालीको संख्या सबैभन्दा बढी हुने निश्चित प्रायः छ। यसले रोहित पौडेलको कप्तानीमा रहेको टोलीलाई मुम्बईको मैदानमा पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानकोजस्तै ऊर्जा र ‘होम एड्भान्टेज’ प्रदान गर्नेछ।
वानखेडेको माहोल कुनै उच्च दबाबयुक्त आईपीएल फाइनल वा भारत र पाकिस्तानको भिडन्त जस्तै अदितय हुने अनुमान गरिएको छ।
टियु क्रिकेट मैदानमा नेपाली टोलीका समर्थक
नेपाली क्रिकेटको विश्वकप यात्रा सन् २०१४ मा बंगलादेशको चटगाउँबाट सुरु भएको थियो। तर, सन् २०२४ मा अमेरिकाको न्युयोर्क र वेस्ट इन्डिजको फ्लोरिडामा देखिएको नेपाली फ्यानहरूको सागरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)लाई समेत अचम्मित बनाएको थियो। अहिले २०२६ सम्म आइपुग्दा, दक्षिण एसियाकै क्रिकेटको ‘मक्का’ मानिने वानखेडेमा नेपालको लोकप्रियताले नयाँ उचाइ चुम्ने देखिएको हो।
‘अन्डरडग’ बाट ‘जायन्ट किलर’ बन्ने अभियानमा रहेको नेपालका लागि फेब्रुअरी ८ मा इंग्ल्याण्ड विरुद्ध हुने खेल सबैभन्दा प्रतिक्षित छ। विश्व विजेता भइसकेको टोलीसँग नेपाली टोलीले वानखेडेमा गर्ने संघर्ष हेर्न १० हजारभन्दा बढी नेपाली समर्थक मुम्बई ओर्लिने तयारीमा छन्।
सन्तुलित टोली
नेपाली टोली यस पटक केवल भावनामा मात्र होइन, मैदानको प्रदर्शनमा पनि उत्तिकै सन्तुलित छ। कप्तान रोहित पौडेलसँगै विश्व क्रिकेटका चर्चित अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ओपनिङका खम्बा कुशल भुर्तेलको उपस्थिति टोलीको बलियो पक्ष हो । गुलशन झा र सोमपाल कामीको जोडीले बलिङ आक्रमणलाई धारिलो बनाएको छ ।
पछिल्लो समय नेपालले ओडीआई र टी–२० दुवै संरचनामा देखाएको सुधारले गर्दा पनि समर्थकहरूमा यसपटक नेपालले टेस्ट राष्ट्रहरूलाई स्तब्ध पार्ने आशा पलाएको छ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, करण केसी, सन्दीप जोरा, बसिर अहमद, कुशल भुर्तेल, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, शेर मल्ल, लोकेश बम अनि दीपेन्द्र सिंह ऐरी।







