
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदार बन्दै आएका सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकासे योजना पूरा गर्न आफ्नो उम्मेदारी रहेको जनाएका छन् ।
नेकपा एमाले, नेकपा एस हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा रहेका नेता पाण्डे पाल्पा क्षेत्र नं २ का उम्मेदवार हुन् ।
पाण्डेले जिल्लाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। आज बुटवलमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री पाण्डेले २०७९ को निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले गति लिन नसकेको र स्थानीयकै आग्रहमा आफू पुनः निर्वाचनमा होमिएको दाबी गरे ।
पाण्डेले पाल्पाको विकासमा आफू पदमा रहँदा मात्र नभई नरहँदा पनि निरन्तर भूमिका निर्वाह गरेको उल्लेख गरे। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आफूले विशेष पहल गरेको स्मरण गर्दै उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेटका लागि अनसन बस्ने चेतावनी दिएपछि मात्र १० अर्ब रुपैयाँ सुनिश्चित भएको दाबी गरे ।
सुरुङमार्ग निर्माणको लागि आफूले सडक विभागसंग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी विज्ञ इन्जिनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्याण्डका राजदूतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले उल्लेख गरे ।
स्रोत सुनिश्चित गरी बजेट ब्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउबासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने पाण्डेले बताए ।
पाल्पालाई पर्यटकीय हब बनाउने योजना सुनाउँदै पाण्डेले निर्वाचन जितेमा नेपालकै सबैभन्दा ठूलो बुद्ध गार्डेन मूर्ति बनाउने नयाँ योजना अघि सारे। पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनको प्रतिबद्धता छ।
पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक शहर बनाउने योजना आफूसंग भएको बताएका छन् । पाल्पाको तानसेनलाई भक्तपुर जस्तै ऐतिहासिक पर्यटकीय शहर बनाउन चाहेको उनले बताए ।
तानसेनलाई लुम्बिनीसंग जोडेर बुद्ध गार्डेनका रुपमा विकास गर्न श्रीनगरमा बौद्ध मन्दिर बनाउने अवधारणा आफूले ल्याएको उनले उल्लेख गरे ।
उनले भने, ‘लुम्बिनीमा आउने पर्यटकलाई तानसेन ल्याउन र पर्यटकीय शहरका रुपमा यसलाई विकास गर्न तानसेनमा विशाल बौद्ध मन्दिर बनाउने अवधारणा मैले लिएको छु ।’
उनले पाल्पाको श्रीनगरलाई हिल स्टेशनको रुपमा विकास गरिनु पर्ने पनि बताए । पाण्डेले तानसेनसंग जोडेर माडीमा चक्रपथ निर्माण, हार्थोक–छहरा, तानसेन—पोखरा सडकको स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको उल्लेख गरे ।
जेनजी आन्दोलनको समयमा भएको राष्ट्रिय सम्पत्तिको क्षतिबारे चिन्ता व्यक्त गर्दै पाण्डेले सर्वोच्च अदालत मात्र नभई नेपालीको सार्वभौमसत्ता नै जलेको जनाएका छन् ।







