२०८२ माघ १९ गते

काठमाडौँ । रोजगारीको क्रममा विदेश पुगेर अलपत्र बनेका म्याग्दी, रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको तीन महिनापछि उद्धार भएको छ ।
भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूताबासको समन्वयमा कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो । गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिए ।
‘सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना नेपाली चढेको डुुङ्गा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ,’ भुवनले भने, ‘मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु ।’
प्रतिव्यक्ति ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौँडाका बिष्ने सार्कीको अवस्था भने अझै अज्ञात छ







