२०८२ माघ १९ गते

काठमाडौँ । सिन्धुलीमा स्वतन्त्र उम्मेदवार रहेका पत्रकार, नेकपाका नेता महेश्वर दाहालले पार्टी नेतृत्वप्रति गम्भीर कटाक्ष गरेका छन् । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भनेका छन्, ‘स्वाभिमानको सपना देखाएर जसलाई पछि लगाए, उनीहरु शहीद भए, आज शहीदका पुत्र चुनाव उठिरहँदा आफैँ उठेर हराउन लागेका छन् ।’
सोमबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वी रुकुममा शहीद पुत्र सन्दीपकै विरुद्ध प्रचण्ड उठ्नु प्रचण्डकै सपनामा लागेर शहीद भएका सन्दीप पुनका आमाबुबाको सपनाविरुद्ध हो ।’
उनले लेखेका छन्, ‘प्रचण्डले हिजो स्वाभिमानको झण्डा उठाउँदा मेरा बाआमा, म र सिंगो परिवार सँगै हिँड्यौँ । मुक्ति कि मृत्युको कसम खायौँ । संयोगले बाँच्यौँ । आज हामी नाफाको जीवन बाँचिरहेका छौँ ।’
उनले भनेका छन्, ‘सन्दीप पुनका बाआमाले काखे बालक छाडेर त्यो बाटो रोजे । उनीहरूले शहादत प्राप्त गरे । आज हामी स्वाभिमानको लडाइँलाई निरन्तरता दिइरहँदा सन्दीपकैविरुद्ध प्रचण्डले आफैँ पूर्वी रूकुममा उम्मेदवारी दिएका छन् । जिल्ला पार्टीले मेरो उम्मेदवारी दिइरहँदा खल्तीबाट झिकेर मेरो उम्मेदवारीविरूद्ध लादियो ।’
उनले प्रचण्ड हिजोको स्वाभिमानको, सपनाको मलामीमा सीमित भएको बताए ।
दाहाल सिन्धुलीमा नेकपाका उम्मेदवार राजन दाहालविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका छन् । यो प्रकरणमा नेकपाले नेता हरिबोल गजुरेलसहितलाई कारबाही गरेको छ । कारबाहीमा पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता झलनाथ खनालले आपत्ति जनाउँदै यही ढंगमा पार्टी चलिरहे विस्फोट हुने चेतावनी दिइसकेका छन् ।







