सोमबार, माघ १९, २०८२

यसका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका उमेदवारको विवरण संकलन, सुरक्षा थ्रेट, दुई वा दुईभन्दा बढी पक्षबीच हुन सक्ने झडपको आकलन, हुनसक्ने सम्भावित घटनाहरूबारे विश्लेषण भइरहेको छ ।
प्रहरी र सशस्त्र प्रहरी बलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा देशभर निर्वाचन सुरक्षा व्यवस्थापन गर्न लागेको हो । प्रहरीले एआईजी उमाप्रसाद चतुर्वेदी र सशस्त्र प्रहरी बलले गणेश बाठा मगरको नेतृत्वमा निर्वाचन सुरक्षा परिचालन टोली बनाएको छ ।
चतुर्वेदी प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रमुखका रुपमा कार्यरत छन् । यसरी नै मगरसमेत सशस्त्र प्रहरी बलको कार्य विभाग प्रमुख नै हुन् । दुवै संगठनमा सामान्य अवस्थामा समेत देशभरको अपरेशनको जिम्मा कार्य विभाग प्रमुखकै हुने गर्छ ।
प्रहरी र सशस्त्र प्रहरीबाहेक नेपाली सेना र गुप्तचर विभागले समेत निर्वाचनका लागि सूचना संकलन र विश्लेषण गरिरहेको छ । सेनाले चुनावी सुरक्षाको गस्ती थालिसकेको छ । चारवटै सुरक्षा संगठनले चर्चित केही निर्वाचन क्षेत्रमा नियमित सुरक्षा बाहेक थप छुट्टै निर्वाचन लक्षित कमान्ड टोली पठाउनुपर्ने राय सरकारलाई दिएका छन् ।
सुरक्षा संगठनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन भागमा मतदानस्थलको वर्गीकरण गरेका छन् । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरको १२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ ।
उपत्यका बाहेक कोसी प्रदेशका ४३९ मतदानस्थल, मधेसका एक हजार २४६, वाग्मतीका ३५४, गण्डकीका ३२८, लुम्बिनीका ४६२ कर्णालीका ३५८ र सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेनशील सूचीमा राखिएको छ ।
अतिसंवेदनशील मतदानस्थलबाहेक चर्चित अनुहार उमेदवार भएका निर्वाचत क्षेत्र र जिल्लाको सुरक्षाबारे छुट्टै सुरक्षा योजना बनाउने तयारी प्रहरीको छ । सरकारले तोेकेको फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावका लागि देशभर १० हजार ९३७ मतदानस्थल तोकिएको छ ।
एसएसपी पनि फिल्डमा खटिँदै
प्रहरी प्रधान कार्यालयले निर्वाचनका सुरक्षका लागि झापा, चितवन र सर्लाही जिल्लामा भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा टोली खटाउने तयारी गरेको छ । यी तीनवटा जिल्लामा चर्चित अनुहार निर्वाचनका लागि होमिएका छन् ।
शीर्ष दलमा प्रमुख नेताहरु यी जिल्लामा उमेदवार बनेका कारण नियमित सुरक्षाभन्दा थप फोर्स प्रहरी प्रधान कार्यालयले पठाउन लागेको हो ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन् । ओली र शाहबीचको प्रतिस्पर्धालाई विशेष रुपमा हेरिएको छ । यसरी नै सर्लाही–४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाकै नेता अमरेशकुमार सिंह आमने सामने छन् ।
चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने उमेवार छन् । यसरी नै चितवन–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहाल उमेदवार छन् । उनीहरुको निर्वाचन क्षेत्रमा एसएसपीको टोली नै खटाउने लागिएको हो । यी तीन जिल्ला बाहेक दोलखा, रौतहट र सुनसरीमासमेत विशेष टोली पठाउनुपर्ने निस्कर्ष प्रहरीको छ ।
यी ६ जिल्लाबाहेक तराईका अन्य जिल्लाहरुमा पनि सुरक्षा संवेदनशीलताका आधारमा एसएसपी पठाउने गृहकार्यमा प्रहरी प्रधान कार्यालय पुगेको छ । यसरी नै केही पहाडी जिल्लाहरुमा डीएसपीले कमान्ड गर्ने ठाउँमा एसपीको टोली पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।
प्रहरीले पछिल्लो समय निर्वाचन लक्षित सुरक्षा योजनाअनुसार नै शंकास्पद क्षेत्रमा डग स्निफिङदेखि, सरप्राइज चेकिङ, संयुक्त गस्तीसमेत गर्न सुरु गरिएको प्रहरीले जनाएको छ ।
सरकारले निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नासमेत गरेको छ । एक लाख ४९ हजार निर्वाचन प्रहरी हाल तालिममा छन् । मतदानस्थललाई चारवटा घेरामा राखेर सुरक्षा दिइने छ । मतदानस्थलको पहिलो घेरामा प्रहरी, दोस्रोमा निर्वाचन प्रहरी, तेस्रो र चौथो घेरामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली रहने छ ।
साना हतियार भाडामा लिँदैछ प्रहरी
निर्वाचनमा खटिएका प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले नेपाली सेनासित साना हतियार पेस्तोल भाडामा माग्ने गृहकार्य थालेको छ । प्रहरी कर्मचारीका लागि अपुग साना हतियार भाडाका रुपमा माग्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
एक प्रहरी अधिकारीका अनुसार नेपाली सेनासित करिब दुई हजार ८०० पेस्तोल माग्ने तयारी प्रहरीले गरेको हो । एक अधिकारीले भने,‘‘हामीसित साना हतियार नै कम छ । त्यसमा पनि भदौ २४ को जेनजी प्रदर्शनमा हराएका कतिपय साना हतियार फिर्ता नै भएका छैनन् । त्यसैले अपुग पेस्तोलहरु सेनासित माग्ने गृहकार्यमा छौँ ।’’







