स्मारिका भन्छिन्- मलाई ठूलो ‘रिग्रेट’ भइरहेको छ, भिडिओ खेलेपछि दिनभरि मुडअफ भो

काठमाडौं । अहिले टिकटकमा मोडल तथा टिकटकर स्मारिका ढकालको एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । उक्त क्लिपमा स्मारिकालाई एमालेको प्रचार गीतमा छमछमी नाचिरहेको देख्न सकिन्छ ।

‘एमाले हुँ म, मलाई एमाले मनपर्छ’ बोलको गीत रिलिज भइसकेको छैन । म्युजिक भिडिओको छायांकनकै भिडिओ क्लीप भाइरल भएको हो । यो क्लीप हेरेर धेरैले स्मारिकालाई एमालेकी झोले भन्दै गाली वर्षाउन थालिसकेका छन् । फलतः उनले गीत रिलिजअगावै स्पष्टीकरण दिनु परेको छ । उनले माफीसमेत मागेकी छन् ।

गीत सार्वजनिक भएपछि आफूलाई झनै गाली आउने डरले स्मारिकाले एक भिडियोमार्फत सबैसँग माफी मागेकी हुन् । भिडियोमा उनले भनेकी छिन्, ‘मैले एकदम ठूलो गल्ती गरेँ । हजुरहरुले मलाई गाली गर्नुहुन्छ भन्ने मलाई थाहा छ । अहिले रिग्रेट भइरहेको छ । कहिलेकाहीँ मान्छेबाट गल्ती हुँदो रहेछ ।’

उक्त भिडियो गर्दा आफ्नो दिनभरि मुड अफ भएको उनको दाबी छ ।

प्रष्टीकरण दिँदै उनले भनेकी छन्, ‘अहिले मैले जुन टीमसँग काम गरेकी छु, उहाँहरू मैले पहिला पनि काम गरेको टीम हो । त्यसैले उहाँहरुले बोलाएपछि म गएँ । गीत एमालेको रहेछ । मैले मेकअप गरिसकेपछि मात्र पाएँ ।’

गीत एमालेको हो भन्ने थाहा पाएपछि आफूलाई अफ्ठ्यारो लागे पनि निर्माण टीमले कलाकारलाई केही हुँदैन भनेर सम्झाएकोउ उनी बताउँछिन् ।

‘तिमी कलाकार हौ, केही हुँदैन बहिनी भनेपछि होला नि त भनेर गरिहालेँ । गरिसकेपछि टेन्सन भो,’ उनी सुनाउँछिन्, ‘घर आएपछि पनि मैले दाइहरूलाई बरु कति खर्च भएको छ, म व्यहोर्छु तर त्यो भिडियो हटाइदिनु भने । तर उहाँहरूले अब सबै भइसक्यो, त्यस्तो नसोच भन्नुभयो । दिनभरि पनि मलाई टेन्सन भइरहेको थियो । भन्दा पनि अप्ठ्यारै हुने ।’

आफू कुनै पार्टी र टीमको नभएको उनको भनाइ छ । माफी माग्दै स्मारिका भन्छिन्, ‘मलाई माफ गरिदिनुहोला । गल्ती गरिहालेँ । अब त्यो भिडियो कहिले आउँछ । मैले हटाउनु भन्दा पनि उहाँहरूले हटाइदिनुहुन्न । मैले अब के चाहिँ गर्ने ? म केही गर्नै सक्दिनँ । त्यही भएर मलाई माफ गरिदिनु । कोही पनि नरिसाउनु । मैले जानीजानी गरेको होइन । जानीजानी त हो तर अब के भन्नु ।’

झापा ५ की मतदातासमेत रहेकी स्मारिकाले केही दिनअघि एउटा भिडिओ बनाउँदै बालेन साहलाई भोट हाल्ने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार