शर्मिला बर्देवाको नयाँ गीत सार्वजनिक भएको छ। डेढ दशकदेखि बेलायतमा बस्दै आएकी बर्देवाले लामो समयपछि नयाँ गीत रेकर्ड गराएकी हुन्।
कोही भन्छन् मलाई तिमी
मखमली फूल हौ,
कोही भन्छन् मलाई तिमी सृजनाकी मूल हौ ।
कोही भन्छन् तिमी मेरी
माया मोहिनी…
‘मैले यो गीत एउटी राम्री केटीको यौवन र वैशको कल्पनामा लेखेको हुँ,’ गायिका बर्देवाको नयाँ गीत ‘मेरो ठुम्कामा मर्छन् हजार’ बोलको गीतका गीतकार पत्रकार नृपेश उप्रेतीले भने, ‘यो गीतले मान्छेलाई जवानीको याद दिलाउँछ।’
नेपालखबरसँग कुराकानी गर्दै सो गीतका गीतकार उप्रतीले भने, ‘यो गीत शृंगारिक भावमा लेखिएको हो, यो गीतले सबैको मन जित्ने आशा गरेको छु।’
गायिका बर्देवाको नयाँ गीतको म्युजिक भिडियो आइतबार लन्डनमा एक समारोहबीच सार्वजनिक भएको हो।
संगीतकार वसन्त सापकोटाले गीतामा संगीत दिएका छन्। यो गीतको भिडियो छायांकन लन्डनमै गरिएको हो। विजय घिमिरेको निर्देशनमा स्वयं विजय र मोडल साराले म्युजिक भिडियोमा अभिनय गरेका छन्। यो गीतको भिडियो बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको छ।
बर्देवा फूलको जवाफ पत्थरले दिनेलाई, आँखैमा झलझली, आगो लाग्यो दिलैमा जस्ता चर्चित गीतकी गायिका हून्छ।







