
मानिस मात्र होइनन् — चीनमा रोबोटहरू पनि लुनार नयाँ वर्ष मनाउन तयार भइरहेका छन्।
पश्चिमी बेइजिङको एक सपिङ मलमा शुक्रबार चार वटा करिब ९५ सेन्टिमिटर अग्ला आकर्षक ह्युमानोइड रोबोटहरूले ड्रेस रिहर्सल गरे। जिज्ञासु दर्शकहरू रोकिने र हेर्ने क्रम चलिरह्यो।
प्रत्येक रोबोटलाई रंगीन सिंह नृत्यको पोशाक लगाइयो। केही मिनेटमै उनीहरूको चाल सुरु भयो— घुँडा मोड्ने, उठ्ने, देब्रे–दायाँ घुम्ने, मुखौटा हल्लाउने, र फेरि दोहोर्याउने।
आगामी साता मनाइने लुनार नयाँ वर्षको तयारीस्वरूप बेइजिङका विभिन्न मेला र कार्यक्रम स्थलहरूमा मञ्च र सामग्री सजाउने काम तीव्र बनेको छ। लगातार दोस्रो वर्ष, एउटा विशेष मेला प्रविधिमा केन्द्रित हुनेछ, जहाँ फेरि रोबोटहरू नै मुख्य आकर्षण बन्नेछन्।
मेलामा रोबोटहरूले नृत्य मात्र होइन, ब्लकहरू थुपारेर टावर बनाउने, चिनीको सिरपले कोट गरिएको हावथर्न फल स्टिकमा उनेर लोकप्रिय मिठाइ तयार गर्ने, र फुटबल खेल्ने प्रदर्शन गर्नेछन्।
आयोजक समितिका सदस्य क्यु फेङका अनुसार यस वर्ष रोबोटहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। ‘उनीहरूले नृत्य, मार्शल आर्ट, पेइचिङ ओपेरा, कविता वाचन र फुटबल प्रस्तुत गर्नेछन्,’ उनले बताए।
गत वर्ष पनि केही कार्यक्रमहरू समावेश थिए, तर यसपटक रोबोटहरूको चाल अझै सूक्ष्म र प्रविधिगत अनुभूति अझ बलियो रहेको क्युको भनाइ छ।
चीनले कृत्रिम बुद्धिमत्ता प्रयोग गरी कम मानवीय हस्तक्षेपमा विभिन्न गतिविधि गर्न सक्ने उन्नत रोबोट विकासमा तीव्र गति दिएको छ।
यद्यपि, केही वर्षअघिसम्म कल्पना गर्न कठिन कामहरू गर्न सक्षम भए पनि रोबोटहरूलाई अझै मानव सहयोग आवश्यक पर्छ— जस्तै पोशाक लगाइदिनु वा मिनी फुटबल मैदानमा बीचमै रोकिँदा सार्नु।
बुस्टर रोबोटिक्स जस्ता चिनियाँ स्टार्टअपहरूले ती रोबोटहरू विकास गरेका हुन्। कम्पनीले करिब २० ह्युमानोइड रोबोट प्रदर्शन गर्नेछ, जसले नृत्य र फुटबल दुवै प्रस्तुत गर्नेछन्।
कम्पनीका मार्केटिङ निर्देशक रेन जिक्सिनका अनुसार यो पूर्ण एआई वातावरण हुनेछ। ‘सिटी बज्नेबित्तिकै रिमोट कन्ट्रोल हटाइनेछ र त्यसपछि सबै निर्णय र चाल नियन्त्रण रोबोटहरूले आफैं गर्नेछन्,’ उनले बताए।
एजेन्सी







