
यसपटक निकै पछि चुनु गुरुङको `तिम्रै निम्ति बरु यो ज्यान गए गै जाला´ बोलको गीत सुन्दै यात्रा गर्ने अवसर जुर्यो।काठमाडौंदेखि कपिलवस्तु हुँदै अर्घाखाँचीसम्मको सामुहिक यात्रामा झण्डै चार दर्जन साथीहरू थियौँ।राजधानीको गङ्गबुस्थित नयाँ बसपार्कबाट अलि अगाडि बढिसकेपछि थानकोट पार गरेर धादिङ हुँदै उपत्यकाबाट बाहिरिन अरु दिन जस्तो सास्ती पनि बेहेर्नु परेन यसपटक।थानकोट वरिपरि प्रायः भइरहने लामो जामको अवस्था पनि थिएन। किन कि नागढुङ्गा नौबिसे सुरुङ मार्ग यतिबेला निर्माण सम्पन्न भैसकेको थियो।
निकै लामो प्रतीक्षापछि सवारी साधन आवतजावत गर्न मिल्ने गरी बनाइएको उक्त सुरुङ मार्ग यो बर्षदेखी मात्रै सञ्चालनमा आएको हो र संभवत म लगायत हाम्रो टोलिका अक्सर साथीहरूका लागि यो पहिलो पटकको सुरुङ्ग यात्रा थियो।सुरुङ पार गरेर नौबिसे पुगेपछि मलाई दुईटा कुरा झलक्क स्मरणमा आए- बहुचर्चित मेलम्ची खानेपानी आयोजना र वरिष्ठ पत्रकार सुदर्शन दाइसङ्गका केहि यात्रा स्मरणहरु।काठमाडौ उपत्यकाको खानेपानी व्यवस्थापनका लागि मेलम्ची आयोजना निर्माण थालनी भएको कुरा मैले सानै छँदादेखी सुन्दै आएका थिएँ।तर बिडम्बना नै भन्नुपर्छ अझै मेलम्ची आयोजना सुचारु भएर उपत्यकावासीहरुको खानेपानी आपूर्तिको सपना पूरा भएको छैन।
केहिदिनअघि मात्रै मैले उक्त आयोजनाका एकजना आधिकारिक व्यक्तिसङ्गको भेटमा आयोजनाबारे कुराकानी गर्दा हालैको रसुवा बाढीको कारण मेलम्ची आयोजनाको भौतिक पूर्वाधारमा क्षति पुगेको र बाँकी काम गर्न थप केहि समय लाग्नसक्ने उहाँको जवाफ थियो।आयोजना सम्पन्न गर्ने अवधी बढ्दै जाँदा त्यसको निर्माण लागत मात्रै बढेको छैन,राज्यका आधिकारिक निकायसङ्गको जनविश्वास र भरोशा समेत टुट्दै गएको सजिलै बुझ्न सकिन्छ।आखिर सरकार र शक्तिमा बसेकाहरु जिम्मेवार हुने हो भने जतिसुकै अफ्ठ्यारो काम पनि निर्धारित समयमै सम्पन्न गर्न सकिदो रहेछ भन्ने कुराको एउटा सकारात्मक उदाहरण त नागढुङ्गा- नौबिसे सुरुङ मार्ग नै हुनसक्छ भन्ने कुरा कसैका अगाडि लुकेको छैन होला ।

लेखक शेरबहादुर विश्वकर्मा ‘दर्शन’
सुरुङ्गबाट निस्किदै गर्दा धादिङ्को नौविसे पुगिन्छ।पूर्व-पश्चिम राजमार्गको नौबिसे पुग्ने बित्तिकै त्यसको अलिकति माथीपट्टी बरिस्ठ पत्रकार सुदर्शनराज पाण्डेको पुर्ख्यौली घर छ।उहाँ तीन बर्ष अघि हामीबाट सदाका लागि बिदाई भैसक्नु भएको छ।पाण्डे दाइसङ्ग संगठनको कामको सिलसिलामा देशका विभिन्न ठाउँमा भ्रमण गरेका थियौं र उहाँको बुवाको निधनमा म लगायत केही साथीहरू नैविसेको उहाँको त्यही घरमा गएर परिवारका सदस्य र आफन्तहरुसङ्ग भेटघाट गरेका थियौं। नौबिसे पुग्ने बित्तिकै यी दुईटा कुराहरु यात्राको सुरुमै मानसपटलमा आए।
बस यात्राको क्रममा नौबिसेबाट अलिकति अगाडि पुग्दै गर्दा बेलुका ७:३० बजिसकेको हुँदो हो।सबै सवार साथीहरू आ-आफ्नो सिटमा एक-आपसमा कुराकानीमा व्यस्त थिए।कोहि निद्रामा पनि हुनुहुन्थ्यो भने केही साथीहरू सोचमग्न भएर बसीरहको देखिन्थ्यो।त्यतिकैमा गाडी स्टाफले पानीको बोतल दिन्छन्।हामी सबैले त्यसलाई लिएर आ-आफ्नो सिटमा राख्यौं ।त्यसपछि यात्रालाई सहज र रमाइलो बनाउन गीत बजाउन अनुरोध हुन थाल्यो।एकैछिन पछि हामी मध्यकै केहि साथीहरूले क्रान्तिकारी गीत बजाउन भन्न थाल्नु भयो र कमरेड इच्छुकले त्यसको प्रबन्ध गर्नुभयो।हुन त क्रान्तिकारी गीतसङ्गीतको मूल्य आजकाल हाम्रो समाजका लागि त्यति प्रिय छैन जस्तो लाग्छ,बरु त्यसको सट्टा बजारमा जे बेचिन्छ, जुन कुराले नाफा दिन्छ, त्यही नै लोकप्रिय भन्ने बजारवादी नयाँ मानक स्थापित भैसकेको देख्छु।
सामाजिक आर्थिक परिवर्तनको लागि समाजलाई उत्प्रेरित गर्ने, जनतालाई जगाउने र शासकहरु विरुद्ध घृणा र आक्रोश ओकल्ने गीत, सङ्गीत,कला र सिर्जनालाई हामी क्रान्तिकारी, जनवादी, जागरणमुलक, प्रगतिवादी र मार्क्सवादी सिर्जनाको रूपमा अर्थ्याउछौं।त्यही सिलसिलामा जब सुरुमै चुनु गुरुङको गीत गुन्जन थाल्छ,मलाई त्यसले टपक्क छोएको अनुभूति भयो।`तिम्रै निम्ति बरु यो ज्यान गए गै जाला´ शीर्षकको उक्त गीतको रचना जनवादी कलाकार एवम् सहिद चुनु गुरुङले तत्कालीन जनयुद्धका आँधीमय दिनहरुमा गर्नु भएको रहेछ।यात्राको प्रारम्भमै त्यसले बेग्लै उर्जा थपिएको अनुभूति गराएको थियो।
तिम्रै निम्ति बरु यो ज्यान गए गै जाला
तिमिसङ्ग गहिरो माया बस्यो जलजला ।
बर्गीय मायाले बाँधी राखुला
दुश्मनको नजरबाट लुकाई राखुला।
लुकामारी खेल्दै खत्तम गरी दुश्मनलाई
बिजयको टीका लगाई आउँला बरि लै।
यो रातो क्षितिजको पहिलो किरणमा
म लडिरहन्छु मुक्ति युद्धमा ।
लड्दा लड्दै मेरो यो ज्यान गए गै जाला
मेरो प्यारो लाल किल्ला प्यारो जलजला ।
तिम्रै निम्ति बरु यो ज्यान गए गै जाला
तिमिसङ्ग गहिरो माया बस्यो जलजला ।
२०५८ सालको माघमा कास्कीको भरतपोखरीबाट तत्कालीन सेनाले पक्राउ गरेर बन्दी बनाइनु भएकी चुनु गुरुङ २०५९को पाल्पा ब्यारेकमा सहिद हुनु भएको रहेछ। अन्याय,अत्याचार, शोषण, दमन,असमानता र विभेद सहित वर्गमा बिभाजित समाजमा क्रान्ति र जनयुद्वलाई आदर्शीकरण गर्ने, जनताको नयाँ शौन्दर्य, कला र सिर्जनाको माध्यमबाट लडाइँमा बहादुरितापूर्वक आफूलाई समर्पित गर्ने ती मुक्ति योद्दाको जीवनलाई रसमय बनाउने कुरा सबैका लागि प्रिय नहुन पनि सक्छ, सबैलाई प्रिय नलाग्न पनि सक्छ।एकथरी मानिसहरूका लागि त जनयुद्ध भन्ने कुरा नै आतंक र अपराध जस्तो थियो।किन कि जनयुद्धले जनताको संगठित ताकतका भरमा ती तथाकथित वैभव र सत्ताको रसस्वादनमा लिप्त परजीवीहरुलाई झापड दिएको थियो।उनीहरूहरुको स्वर्गमाथी धावा बोलेको थियो र बादशाहालाई साँच्चिकै घोडाबाट खसालेको थियो।उनीहरुलाई जनयुद्ध अप्रिय लाग्नु अन्यथा हो जस्तो पनि लाग्दैन।यहि त बर्ग बिभाजित समाजको शौन्दर्यशास्त्र हो।त्यही कुरा अर्थात एउटै कुरा कसैलाई निकै प्रिय लाग्छ र उनीहरू त्यसको लागि बलिबेदीमा चढ्न तयार हुन्छन् र बर्गीय सपनालाई पच्छ्याइरहन्छ्न।त्यसका लागि उनीहरू आफ्नो इमान, बोली र बचनलाई पूरा गर्न अगि बढिरहन्छ्न।
जनयुद्ध आफैमा महान थियो,जनताका निम्ति त्यो गौरव र उत्सव थियो।त्यसलाई महिमामण्डित गर्न सयौं कवि, कलाकार, पत्रकार, लेखक, साहित्यकारहरुले त्यसमा सिर्जना मात्रै भरेका थिएनन् उनीहरु आफैले बलिदान समेत दिएका थिए।त्यसकै एउटा उदाहरण हुन पुगिन चुनु गुरुङ ।`लड्दा-लड्दै बरु यो ज्यान गए गै जाला- तिमिसङ्ग गहिरो माया बस्यो प्यारो जलजला´ भनेर जसरी उहाँले जलजला पहाडलाई बिम्ब बनाएर गीत गर्नु भएको थियो आखिर उहाँले त्यसलाई आफैले सबित पनि गरेर देखाउनु भयो तर सत्ताको जेलरुपी खोरसङ्ग आत्मसमर्पण गर्नु भएन।प्राणको भिक्षा मागेर सपना र प्रतिबद्धताहरुलाई तिलाञ्जली दिनु भएन।सायद त्यसो गरेको भए उहाँ भौतिक रूपमा अझै जीवित हुन सक्नुहुन्थ्यो कि?यद्यपि भौतिक रूपमा चुनु जी हामी माझ नरहे पनि उहाँको गीत र सङ्गीत स्पर्श गर्ने बित्तीकै हरेक क्रान्तिकारी र न्यायको पक्षधर व्यक्तिका लागि यसले निकै गम्भीर हुन प्रेरित गर्छ नै।यो र यस्ता उदाहरणहरु जनयुद्धमा अरु थुप्रै थिए र छन् पनि।चुनु गुरुङको गीत मैले युद्धकालमै कैयौंपटक सुनेको थिए।हामीहरू त्यो बेला क्यासेट ,टेप र रेडियो मात्रै होइन, खाने पकाउने भाँडाकुडा र सियोधागो समेत आफैले बोक्नु पर्थ्यो।बम र बारुद त युद्धका सारथि नै हुने भैहाले।

केन्द्रीय जनकम्युन मुक्तभूमिमा आयोजित बैंठकमा बागमति प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु ।
आजकाल अर्थात शान्ति प्रक्रिया पछि जनयुद्धका मूल्य, मान्यता, सामुहिक सपनाहरु जे थिए, तीनलाई अपराधिकरण गर्ने, बिद्रुपीकरण गर्दै लगेर त्यसलाई हत्या र आतंकको पर्याय बनाउने अभियान जोडतोडले चलिरहेको छ र हामी त्यसविरुद्ध अर्थात बिद्रुपीकरणको साम्राज्यवादी षड्यन्त्र विरुद्ध जनयुद्धलाई आदर्शीकरण गर्ने लडाइको मैदानमै छौँ।पछिल्लो समय जनयुद्धलाई नकारात्मक बिम्ब बनाएर चलचित्र बनाउने, साहित्य लेख्ने, त्यसलाई मदन पुरस्कार लगायतका कथित पुरस्कार र प्रवर्द्धनका नाममा मलजल गर्ने काम पनि त्यत्तिकै भएका छन् ।यसो हुनु किन पनि स्वभाविक छ भने माओवादी जनयुद्ध सहमतिको नाममा पराजय हुन पुगेको, अस्थायी रुपमै भए पनि हारमा बदलिएको कुरा साँचो थियो।जनयुद्धका नायकहरु नै सत्ता र स्वार्थको चास्निमा डुबेर परिवार मोह, पदको मोह र द्रव्यमोहको साङ्लोमा परिसकेपछी क्रान्ति र परिवर्तन बिरोधी बर्गले जनयुद्धका भग्नावशेषहरुलाई नामेट पार्न खोज्नु उनीहरूको बर्ग धर्म भित्रकै काम भयो क्यारे।तर हामीलाई भने बिगतप्रति कुनै शङ्कोच छैन र एकदिन जनता र देशले जित्ने कुरामा कुनै ढुकचुक पनि छैन।त्यो अवश्यम्भावी छ।
१० गते दिउँसो ३ बजे कार्यक्रम सुरु भयो।काठको घर र गाजोले बनाइएको परम्परागत छाना, त्यसभित्र सुरु भयो हाम्रो प्रशिक्षण र बैठक।बैठकलाई प्रदेश इन्चार्ज माइला लामाले औपचारिक रूपमा सुरु गर्नुभयो।उहाँले सुरुमै कम्युनिस्ट आन्दोलन र विशेषत: माओवादी आन्दोलन वरिपरि देखिएका विचलन, स्खलन, मूल्यहरुको क्षयीकरण र अब क्रान्तिकारीहरुले गर्नुपर्ने आचरण, व्यबहार र शैलीबारे छोटो तर सारगर्भित मन्तव्य राख्नु भयो र आफ्नो वर्ग, वर्गीय प्रतिबद्धता र आन्दोलनप्रति इमानदार हुनुको अर्को विकल्प नभएकोमा उहाँको जोड थियो।
यति भनिसकेपछी अब अलि यात्राको संयोग कसरी जुर्यो त्यसबारे अलिकति भन्नै पर्ने भयो।केहि समय अघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को केन्द्रीय समिति सचिवालयको बिस्तारित बैठक बसेर देशभर प्रशिक्षण गर्ने, प्रशिक्षणहरु प्रदेशहरुको अलगअलग गर्ने र त्यसमा पार्टी केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि समिति सदस्य र जनवर्गीय संगठनका प्रमुखहरुलाई आमन्त्रण गर्ने निर्णय भएको रहेछ।त्यहीअनुसार देशभरबाट पालैपालो जाने र महासचिव विप्लवले फिल्डको रिपोर्ट सुन्ने र प्रशिक्षण गर्ने कार्यतालिका रहेछ।त्यही अनुसार बागमती प्रदेश सहित हामी उपत्यकामा रहेका साथीहरू कात्तिक ९ गते उपत्यकाबाट प्रस्थान गरेका थियौं र हाम्रो टोलीको नेतृत्व वागमती प्रदेश इन्चार्ज माइला लामाले गर्नु भएको थियो।एउटै गाडीमा खचाखच भएर रातभर यात्रा गर्यौ र भोली अर्थात कात्तिक १० गते बिहान ५ बजे कपिलवस्तु र दाङको मध्यवर्ती क्षेत्र- दोबाटो- हुँदै बिहानीको पैदल यात्रा थाल्यौं।त्यहाँबाट पार्टीको केन्द्रिय कम्युन मुक्तभूमिसम्म पुग्न करिब ३ घण्टाको पैदल यात्रा रहेछ।तर हामीलाई भने झण्डै ५ घण्टा नै लाग्यो।
अर्घाखाँची, प्युठान र दाङको दोभानमा अवस्थित कम्युनसम्म पुग्दै गर्दा हामी सबैले पानी, बाटोको लागि ड्राईफूड, दुई दिनको बसाईलाई पुग्ने दाल, तेल र प्रतिव्यक्ति दुई केजी चामल पनि बोकेर लिएका थियौं।गन्तव्यसम्म पुग्न सडक बनिसकेको थिएन,कम्युनको वरिपरि घनाजङ्गल,चारैतिर चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज।रातभरिको गाडी यात्रा,बिहानको पैदलयात्रा र अलिकति थाक र भोकको मिश्रणले सम्बन्धित ठाउँमा पुग्न कति लाग्ला, त्यहाँको अन्य स्थिति के होला,मौसमले साथ देला वा नदेला आदि इत्यादि प्रश्नहरु भने छँदै थिए।तर त्यो भन्दा बढी कार्यक्रममा पुग्ने र समकालीन आन्दोलनका मुद्दामा छलफल गरेर पुनर्ताजगी हुने कुरा हाम्रा लागि महत्त्वपूर्ण थियो।
बिहान ११ बजे हाम्रो टोली मुक्तभूमि जनकम्युनमा पुग्यो।पुग्ने बित्तिकै महासचिव विप्लव र उहाँसङ्ग रहेको टोलीसङ्ग हात मिलाएर अभिवादन गर्यौं । लामो समयको अन्तरालपछि भएको भेटघाटमा व्यक्तिगत हालखबर र सुखदुःखका कुराकानी त हुने नै भए।एकछिन पछि सामान्य सरसफाइ गरेर खाना खायौं।खानाको लागि मेष व्यवस्थापनमा रहेका साथीहरूले दशैंको बेलादेखि तयार पारेर राखिएको सुकुटी कम्युनमा आउने टोलीलाई खुवाउने गर्नु भएको रहेछ।हामीले पनि बिहानको खानामा त्यही खायौं।त्यसपछि अलिकति आराम गरेर दिउँसो ३ बजेबाट कार्यक्रम सुरु गर्ने जानकारी प्राप्त भयो र हामी त्यसरी नै तयार भयौं।

बैंठक समापनपछि महासचिवसँग बागमति प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु ।
कम्युनमा पुग्ने बित्तिकै महासचिव विप्लवले त्यहाँ भैरहेका कामहरू बारे सामान्य तर अनौपचारिक रूपमा केहि जानकारी दिनु भयो।कम्युनमा रहेका साथीहरू बिहानतिर शारीरिक एक्सरसाइज गरेर सैद्धान्तिक प्रशिक्षण र अध्ययन गर्ने अनि दिउँसोतिर श्रम लगायतका काममा जोडिने समय तालिका रहेछ।त्यो दिन पनि हामी पुग्दै गर्दा केहि साथीहरू हातमा कापी, कलम र डायरी सहित सैधान्तिक कक्षाबाट भर्खरै बाहिरिदै हुनुहुन्थ्यो।उहाँहरु सबैसँग भेटघाट र अभिवादन गर्यौ।कम्युनमा झण्डै ९ बिघा क्षेत्रफलमा विभिन्न कृषिजन्य काम भएका रहेछन्।बाख्रापालन, गाइपालन, कुखुरापालन पनि सङ्गसङ्गै गरिएको रहेछ।केहि ठाउँमा कफी खेती, केहि ठाउँमा कागती खेती,तरकारी र अन्न्न उत्पादनका लागि विभिन्न कामहरू भैरहेका रहेछन् ।कम्युनलाई सडक, सञ्चार र बिजुलीसङ्ग जोड्नका लागि मङ्सिरपछि आवश्यक काम गर्ने निर्णय भैसकेको र पार्टी सम्बद्ध नेताकार्यकर्ता समेत उक्त कामका लागि परिचालन हुने योजना छ। हेर्दा निकै निर्जन लाग्ने त्यो ठाउँ आवश्यक पूर्वाधार बनाएर एउटा नमूना कम्युन बनाउने विप्लवको सोच छ।
राजनीतिक आन्दोलनलाई आर्थिक आत्मनिर्भरता र श्रमसङ्ग संयोजन गरेर दलाल पुँजीवादी व्यवस्थाबाट नागरिक र देशलाई मुक्त गर्न पार्टीलाई खेतिपाती,उद्योग र व्यापारसङ्ग जोड्ने योजना अन्तर्गत माओवादीले देशका विभिन्न ठाउँमा उत्पादन केन्द्र र उपजेन्द्रहरु सञ्चालन गरिरहेको छ।आन्दोलनकै विचबाट कपिलवस्तुको शिवगढीमा केन्द्रीय कार्यालयको भव्य संरचना निर्माण भैसकेको छ।यसका साथै देशका विभिन्न ठाउँमा बनाइएका संरचना र उत्पादन सम्बन्धि कामहरूले बिगतमा कम्युनिस्ट आन्दोलनमा देखिएको नेतृत्वको बिचलनको एउटा कारण नै `कम्युनिस्ट पार्टीको आर्थिक परनिर्भरता हो´ भन्ने कुरालाई विप्लव स्कुलको एउटा महत्त्वपूर्ण शिक्षाको रूपमा हेर्न सकिन्छ।
१० गते दिउँसो ३ बजे कार्यक्रम सुरु भयो।काठको घर र गाजोले बनाइएको परम्परागत छाना, त्यसभित्र सुरु भयो हाम्रो प्रशिक्षण र बैठक।बैठकलाई प्रदेश इन्चार्ज माइला लामाले औपचारिक रूपमा सुरु गर्नुभयो।उहाँले सुरुमै कम्युनिस्ट आन्दोलन र विशेषत: माओवादी आन्दोलन वरिपरि देखिएका विचलन, स्खलन, मूल्यहरुको क्षयीकरण र अब क्रान्तिकारीहरुले गर्नुपर्ने आचरण, व्यबहार र शैलीबारे छोटो तर सारगर्भित मन्तव्य राख्नु भयो र आफ्नो वर्ग, वर्गीय प्रतिबद्धता र आन्दोलनप्रति इमानदार हुनुको अर्को विकल्प नभएकोमा उहाँको जोड थियो।
कार्यक्रममा धादिङ सेक्रेटरी प्रमोद, ललितपुरबाट ललित, रसुवाबाट प्रकाश,मकवानपुरबाट मिङमार,काठमाडौबाट इच्छुक, चितवनबाट राजेन्द्र, सिधुपाल्चोकबाट समीर, काभ्रेबाट परिभाषा,नुवाकोटबाट महेन्द्र,भक्तपुरबाट बिद्रोही,नेवा मुक्ति मोर्चाबाट ज्ञानेन्द्र, अखिल नेपाल जनसाँस्कृतिक महासंघबाट कुशल,महिला संघ (क्रान्तिकारी)बाट भृकुटी, मगर मुक्ति मोर्चा नेपालबाट सुदर्शन र जनपत्रकार संगठन नेपालबाट दर्शन सहित १५ जनाले समसामयिक राजनीतिक, क्रान्तिकारी आन्दोलन,दलाल पुँजीवादको संकट र त्यसका परिणामका विभिन्न आयाम र संभावनाबारे आआफ्ना धारणाहरु राखेका थिए।रिपोर्टमा तत्कालका लागि प्रतिक्रान्ती हाबी भएको जस्तो देखिए पनि त्यसको गर्भमा क्रान्ति र सामाजिक अन्तरबिरोध हुर्किदै गएकोले त्यसलाई क्रान्तिमा बदल्न सकिने साथीहरूको निष्कर्ष थियो।
आजकाल अर्थात शान्ति प्रक्रिया पछि जनयुद्धका मूल्य, मान्यता, सामुहिक सपनाहरु जे थिए, तीनलाई अपराधिकरण गर्ने, बिद्रुपीकरण गर्दै लगेर त्यसलाई हत्या र आतंकको पर्याय बनाउने अभियान जोडतोडले चलिरहेको छ र हामी त्यसविरुद्ध अर्थात बिद्रुपीकरणको साम्राज्यवादी षड्यन्त्र विरुद्ध जनयुद्धलाई आदर्शीकरण गर्ने लडाइको मैदानमै छौँ
भ्रष्टाचारको अन्त्यका लागि छानबिन आयोग बनाउने,रोजगारी दिने लगायतका माग र जेनजी बिद्रोहको पृष्ठभूमिमा जन्मिएको बालेन सरकारले उल्टै भ्रष्टाचारीलाई पक्रिने र चोख्याउने काम गरिरहेको , महङ्गी र ग्यास आपूर्ति सहज बनाउन नसक्दा सर्वसाधारणको दैनिकी सकसमा पर्दै गएको, रसुवा बाढीमा सरकारको अहमताले कैयौं नागरिकको ज्यान बचाउन नसकिएको,सुकुम्बासी माथी क्रूर व्यबहार गरिएको,सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेट लगायतका कुराहरूले सरकार क्रमशः नाङ्गिदै गएको रिपोर्ट राख्नेहरुको बुझाई थियो।
त्यस्तै बाढी पहिरो पछिको उद्दार राहत र श्रमदानको बेला नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली श्रम तथा बचत सहकारीको १४ लाख१४ हजार ९ सय ५१ रुपैयाँ संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठलाई माओवादी बागमती प्रदेशको श्रम टोलीले हस्तान्तरण गरेको कुराले माओवादी पार्टीबारे जनताको सकारात्मक धारणा निर्माण गरेको साथीहरूको बुझाई थियो।

बैंठकमा महासचिव कमरेड विप्लव सी प्रशिक्षणात्मक मन्तव्य राख्ने क्रममा ।
क्षेत्रगत रूपमा गरिएको मौखिक रिपोर्ट सुनिसकेपछि महासचिव विप्लवले कार्यक्रमलाई सम्बोधन गर्नु भयो।सम्बोधनको क्रममा उहाँले हालै सम्पन्न सचिवालयको विस्तारित बैठकले लिएका निर्णय,पार्टीको आगामी योजना र समसामयिक परिस्थितिबारे पार्टी धारणा राख्नु भएको थियो।उहाँले कम्युनिस्ट आन्दोलनमा देखिएका चुनौती, मूल्य र आदर्शको बिसर्जनबारे मसिनो रूपमा चर्चा गर्दै निष्क्रियता, निराशा र पलायनताको समस्याबारे चर्चा गर्नु भयो।त्यसक्रममा महासचिव विप्लवले ती समस्याका कारण र श्रोत तर्फ संकेत गर्दै आजको कम्युनिस्ट आन्दोलनमा अज्ञयवादको गम्भीर समस्या रहेको बताउनु भयो।
सबै कम्युनिस्ट आन्दोलन र विशेषत:माओवादी आन्दोलनभित्र राजनीतिमा देखिने हरेक ब्यबहारिक समस्या र कार्यशैलीलाई बिचार, राजनीति र आर्थिक सम्बन्धसङ्ग जोडेर चर्चा गर्ने चलन छ।कुनै पनि समस्याको बैचारिक सम्बन्ध त हुन्छ नै।समस्या र त्यसका परिणामहरुलाई हामीले कार्य कारण अन्तरसम्बन्धबाट केलाउनै पर्छ।कुनै समस्या वा परिणामको कुनै न कुनै कारण त हुन्छ, कारणविना कार्य हुन सक्तैन।त्यसैले पनि क्रान्तिकारी कम्युनिस्ट राजनीतिका दैनिकीसङ्ग विभिन्न दार्शनिक शब्दावली जोडिएर आउनु अन्यथा हुने त कुरै भएन।
`विप्लवले अज्ञयवाद आजको एउटा समस्या हो´ भन्ने बित्तिकै हामीले अझ बढी यसबारे ध्यान दिएर बुझ्ने कोसिस गर्यौं।संसारभर विभिन्न दर्शन र दार्शनिक धाराहरु अस्तित्वमा छ्न। तिनका नामको प्रयोगको सन्दर्भहरु बेग्ला बेग्लै लागे पनि त्यसका सारभूत कुराहरुमा भने त्यति धेरै अनेकताहरु छैनन् र हुन्नन पनि।जस्तै पूर्वीय दर्शन, पाश्चात्य दर्शन, मार्क्सवादी दर्शन,भारतीय दर्शन, बुद्ध दर्शन, चिनियाँ दर्शन,साङ्ख्य दर्शन, ताओवादी दर्शन,चार्बाख दर्शन आदिइत्यादि जति दर्शनहरु छन् तिनलाई वा तिनको गुणात्मक पक्षलाई केलाउने हो भने त्यसमा दुइटा खेमा सजिलै भेट्टाउन सकिन्छ।कुन दर्शन,कुन कित्तामा पर्छ भन्ने कुरा निर्क्यौल गर्नु अघि त्योसङ्ग जोडिएका दुई ओटा प्रश्नहरू हुन्छन् ।पहिलो प्रश्न हो के यो दुनियाँलाई बुझ्न, जान्न वा थाहा पाउन सकिन्छ वा सकिन्न? र अर्को प्रश्न हो के बस्तु, चेतना वा दुनियाँ जड र स्थिर छ कि गतिशील, परिवर्तनशील र अन्तरबिरोधपूर्ण ? कुनै वस्तु निरन्तर गति र अन्तर्विरोधको प्रबाहमा छ भने पनि त्यसलाई के कुराले संभव बनाउछ? वस्तुको गतिमा निश्चित बैज्ञानिक नियमले काम गरेको छ कि कुनै परमेश्वरको इच्छाले ?भन्ने प्रश्नको उत्तर यी विभिन्न दार्शनिक शाखाहरुले कसरी दिन्छन् भन्ने आधारमा तिनलाई हामी भौतिकवादी र आदर्शवादी सिद्धान्तमा बिभाजन गर्न सक्छौं।त्यस्तै पद्धतिको हिसाबले यी दुईटै प्रश्नको उत्तर हामी कसरी दिन्छौं भन्ने कुराले तपाई द्वन्द्ववादी/मार्क्सवादी हो कि अधिभूतवादी हो भन्ने कुरा छुट्याउन सकिन्छ।
अज्ञेयवादले दुनियाँ बुझ्न र बदल्न सकिन्न भन्ने निष्कर्ष दिएर सत्तासीन वर्ग र व्यवस्थाको पक्षपोषण गर्दछ भने ज्ञेयवादले शोषणकारी व्यवस्थालाई बदल्न सकिन्छ भन्ने कुरा अगाडि सारेर जीवन र जगतका प्रश्नहरुको आशावादी समाधान दिन्छ।
आदर्शवादी दार्शनिक सिद्धान्त अनुसार संसारमा दुख हुनु, गरीबी हुनु,अज्ञानता हुनु जस्ता कुरालाई दैवीशक्तिको कारण हो भन्दै त्यसलाई रहस्यमय बनाउने गरिन्छ।सबै समस्यालाई इश्वरीय शक्ति र प्रभुको इच्छासङ्ग जोडेर सम्प्रेषण गरिन्छ।धर्म, इश्वर, देउता, स्वर्ग, नर्क जस्ता कुराहरुको सहारामा समस्यालाई सैद्धान्तिकीकरण गरिन्छ, जीवन र जगतका आदिकारणबारे जान्न, बुझ्न सकिन्न भन्ने तर्क गरिन्छ र दुनियाँ बुझ्न वा बदल्न सकिन्न भन्ने मान्यता राखिन्छ ।त्यसलाई दार्शनिक पदावलीमा अज्ञयवाद भन्ने गरिन्छ।कुनै चिजको रहस्य वा आदि र अन्त्य बारे केहि भन्न नसकिने निश्कर्ष दिने भएकोले अज्ञयवादले जीवन र जगतका यावत प्रश्नहरूको हल दिने कुरा पनि भएन।
त्यसको ठिक बिपरित सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीको दासतामुनि पिसिएका करोडौं जनता- जो त्यसबाट मुक्ति चाहान्छ्न, त्यस प्रकारको कहालीलाग्दो जीवनबाट परिवर्तन चाहान्छ्न र त्यस्तो परिवर्तनलाई डोर्याउने दार्शनिक सिद्धान्त चाहान्छ्न, जसले आजसम्म रहस्य भनिएका प्रकृतिका नियमहरुको रहस्योद्घाटन गर्छ, त्यो सिद्धान्त भनेको द्वन्द्वात्मक भौतिकवाद हो।यसलाई मार्क्सवादी दार्शनिक सिद्धान्त पनि भन्न सकिन्छ।यसअनुसार आज मान्छेले नै मान्छेलाई हेलाहोचो गर्ने जुन प्रथा छ, त्यसको कारण विद्यमान सामन्ती र पुँजीवादी व्यवस्था हो, ती व्यवस्थाहरु पनि सभ्यताको क्रममा पैदा भएका र कालान्तरमा तिनको पनि अन्त्य भएर नयाँ व्यवस्था अर्थात समाजवादी क्रान्ति हुन्छ भन्ने निष्कर्ष दिन्छ।अज्ञेयवाद- ज्ञयवाद,अबोधगम्यता- बोधगम्यता, आदर्शवाद- भौतिकवाद,अधिभूतवाद/ अध्यत्मवाद र द्वन्द्ववाद जस्ता शब्दावलीका मुख्य मर्मको आधारमा दुनियाँका सबै बिचारधाराहरुको पहिचान र पक्षधरता स्पष्ट हुन्छ।
यी दुई दार्शनिक बिचारधारामध्ये अज्ञेयवादले दुनियाँ बुझ्न र बदल्न सकिन्न भन्ने निष्कर्ष दिएर सत्तासीन वर्ग र व्यवस्थाको पक्षपोषण गर्दछ भने ज्ञेयवादले शोषणकारी व्यवस्थालाई बदल्न सकिन्छ भन्ने कुरा अगाडि सारेर जीवन र जगतका प्रश्नहरुको आशावादी समाधान दिन्छ।त्यसैले बोधगम्यतावादलाई श्रमजीवी जनता, परिवर्तनकारी शक्ति, न्याय र मुक्तिको हिमायती विचार हो भनेर बुझ्न सक्छौं।
यसरी पार्टीको केन्द्रीय कम्युनमा आयोजित कार्यक्रममा अज्ञेयवादबारे चर्चा परिचर्चा गरिरहनुको पछाडि अकारण भने पक्कै थिएन र छैन।किन कि यसको अन्तरसम्बन्ध आजको वस्तुगत यथार्थलाई बदल्न सकिन्छ भनेर कम्युनिस्ट आन्दोलनको यात्रामा समाहित हजारौं व्यक्तिमा किन आफ्नो घोषित आदर्शमा उनीहरू टिक्न सकिरहेका छैनन् ? किन आन्दोलनको भबिष्यबारे उनीहरू अल्मल र किङकर्तव्यमुढ जस्तो देखिन्छन् ? किन नेपालमा जनता र कार्यकर्ताको भारी समर्थन हुँदाहुँदै पनि समाजवादी क्रान्तिले लय लिन सकेन? यी र यस्ता अनुत्तरित प्रश्नहरूबारे कसरी सम्यक विश्लेषण गर्ने भन्ने कुरासङ्ग गाँसिएको छ।
निस्संदेह आजको विश्व पुँजीवादी विश्व हो।यो अहिले साम्राज्यवाद,उपनिवेशवाद, नवउपनिवेशवाद र अझ नेपाल जस्ता देशमा दलाल पुँजीवादको स्वरुपमा छ।त्यसलाई जित्नसक्ने तहमा तत्कालका लागि समाजवादी व्यवस्था अगाडि आइसकेको पनि छैन।तर जतिसुकै शक्तिशाली र भीमकाय जस्तो देखिए पनि साम्राज्यवाद माओले भने जस्तै `तत्कालीन रूपमा साँच्चिकै बाघ हो भने रणनीतिक रूपमा कागजी बाघ मात्रै हो´ भन्ने कुरालाई चरितार्थ हुँदैछ। पुँजीवाद भनेको आफ्नै भित्री अन्तर्बिरोधले जेलिएको व्यवस्था हो।त्यहाँ सारा सम्पत्तिको उत्पादन गर्ने काममा सिङ्गो समाजको सहभागीता र योगदान हुन्छ भने सम्पत्तिको बितरणमा सिमित व्यक्तिको मात्रै स्वामित्व हुने गर्छ, जसले अतिउत्पादनको संकट पैदा गर्छ।यसलाई आर्थिक संकटको रूपमा लिने गरिछ।पुँजीवाद रहेसम्म एउटा निश्चित साइकल पछि यस्तो संकट आउँछ र त्यसलाई क्रान्तिमा बदल्न सकिन्छ भन्ने बिषय नै क्रान्ति र आर्थिक संकटबारे राजनीतिक अर्थशास्त्रको निचोड हो।
सन १९९० पछि शोभियत संघको विघटन हुन पुग्यो र संसारभर नवउदारवादी पुँजीवाद निर्यात गरियो।उनिहरुले त्यसलाई `इतिहासको अन्त्य र अन्तिम मान्छे´को रूपमा परिभाषित पनि गरे।तर जसरी जीव बिज्ञानमा माछाले माछालाई खान्छ, त्यसैगरि मान्छेले नै मान्छेलाई निल्ने ढाँचामा उभिएको पुँजीवादले आफैभित्र अन्तर्निहित बिरोधाभाषको कुनै समाधान दिन सकेन।उल्टै पुँजीवादी व्यवस्थामा नयाँ नयाँ संकटहरु पैदा हुन थाल्यो।हालैका दिनहरुमा फ्रान्स लगायत युरोपका विभिन्न देशहरूमा बेरोजगारी,महङ्गी र जीवनको बढ्दो लागत विरुद्ध माग राखेर जारी आन्दोलनले अब सापेक्षित रूपमा स्थिर मानिएको युरोप-अमेरिकामा पनि क्रमशः वर्गसंघर्ष नयाँ रूपमा उठ्दैछ र पुँजीवाद यही स्वरुपमा बाँच्न संभव छैन भन्ने कुरालाई नै प्रमाणित गर्दैछ।संयुक्त राष्ट्रसंघ लगायत अन्तरास्ट्रिय स्तरका भनिएका संस्थाहरु निकम्मा हुँदै गएका छन्। दुनियाँ शक्ति र हतियारको होडबाजीतिर गैरहेको प्रतीत हुँदैछ।
अमेरिकाको न्युयोर्क जस्तो धनाढ्य बस्ने शहरमा समेत समानताको नारा दिएर केहि समय अघि जोहरान मम्दानी मेयरमा बिजय हुन पुगे।हालै ब्राजिलमा वामपन्थी पार्टीका नेता लुला डा. सिल्भा ५१.७९ प्रतिशतको भारी मत सहित पुनः बिजय भए।यसरी विश्वका अन्य थुप्रै दृष्य घटनाहरुले नवउदारवादी पुँजीवादको क्षयीकरण र समाजवादी विश्वव्यवस्थाको अपरिहार्यतातर्फ आधारहरु निर्माण गर्दै गएको देख्न सक्छौं।

बैंठकपछि महासचिव कमरेड विप्लवसँग सामुहिक तस्बिर खिचाउँदैं कमरेडहरु ।
तर नेपालमा भने यहाँको कम्युनिस्ट आन्दोलन दोबाटोमा उभिएको जस्तो लाग्छ।`सूचना प्रबिधिको चमत्कारिक विकास र अब नयाँ ढङ्गले मात्रै गर्न सकिन्छ, पुरानै ढङ्गले हुन्न´ भन्ने जस्ता अमूर्त तर्क दिएर एकथरी क्रान्तिकारीहरु निष्क्रिय, पलायन र निराशा हुन लागेको र अर्को थरी पुरानै सत्ता, शक्ति र सामर्थ्य जोगाउने बाहेक कम्युनिस्ट आन्दोलनको संरचनागत परिवर्तनका लागि सिन्को भाच्न नपर्ने जस्ता परम्परावादी सोचबाट माथी उठ्न नसकिरहेको दुरुस्तै देख्न सकिन्छ।खासगरी गएको भदौ २३ र २४को बिद्रोह, त्यसपछि भएको निर्वाचन र त्यसको परिणामले समेत एकहदसम्म यहाँको कम्युनिस्ट आन्दोलनको भबिष्य अब के होला ? भन्ने प्रश्नको तहमा पुर्याएको छ।तर ती जम्मै कुराहरू पुँजीवादी संकटमोचनका लागि रचिएका खेलहरु मात्रै हुन्।
यसपटकको मुक्तभूमिको जमघटमा हामीले बर्तमान सरकारका आन्तरिक एवम् बाह्य अन्तर्बिरोध,रास्वपा नेतृत्वको सरकारको आर्थिक एवम् वर्गीय चरित्र र त्यसले ल्याउने संभावित परिणामबारे मिहिन ढङ्गले छलफल गर्यौं।सुरुमा रास्वपाको उदय नै राजनीतिक दलहरुको बिरोध गर्दै,स्वतन्त्र उम्मेदवार मार्फत चुनावी बाटोबाट आएको थियो।यसको बैचारिकी के हो, रास्वपाको बिचार केहो भन्ने नै स्पस्ट छैन भन्ने जस्ता प्रश्नहरू पनि उसमाथी उठेका थिए।जब उसले आफ्नो चितवनमा सम्पन्न गरेको महाधिवेशन मार्फत सामाजिक लोकतन्त्रको कुरा गर्यो र त्यस अघि बालेन रवि सहमतीको सात बुँदेमा सामाजिक न्यायमा आधारित उदार अर्थव्यवस्थाको कुरा गरियो, त्यसपछि भने उसको विकास मोडेल र त्यसको बिभ्रमबारे कुनै अस्पष्टता रहेन।त्यस्तै हालै सम्पन्न काङ्ग्रेस महाधिवेशनमा समेत उसले सामाजिक लोकतन्त्रकै कुरा गरेको छ।यसले `काङ्ग्रेसले वीपीको समाजवाद छोडेको हो वा के हो ?´भन्ने प्रश्न समेत एकै चोटि सतहमा ल्याइदिएको छ।रास्वपाले अङ्गीकार गरेको बैचारिक धार र आर्थिक दृष्टिकोण केलाउदा ऊसलाई परिमार्जित वा परिस्कृत काङ्ग्रेसको रुपमा हेर्दा अन्यथा हुन्छ जस्तो लाग्दैन।यी दुई शक्तिबिच एक आपसमा शक्ति र अस्तित्वको प्रतिस्पर्धा जस्तो देखिए पनि समाजवादी क्रान्तिलाई हेर्ने लगायत अन्य कैयौं आधारहरुमा खासै अन्तर पनि छैन।
मुलुकले आज जुन संकट भोगिरहेको छ त्यसको मुलकारण र त्यसको श्रोत नै दलाल पुँजीवादी उत्पादन सम्बन्ध हो।त्यसलाई नबदलेसम्म धरै छैन।पञ्चायको उत्तरार्धबाट लागु गरेर बहुदलीय व्यवस्थाको पुनर्स्थापना वरिपपरीबाट बेरोकटोक कार्यान्वयनमा ल्याइएको संरचनागत समायोजन कार्यक्रम तथा त्यस प्रयोजनका लागि भएका अन्य कामहरुको संरचनागत विस्फोट नै हाम्रो बिकास, स्थायित्व र रुपान्तरणको लागि आजको बाधक तत्व हो।त्यही सेरोफेरोबाट नै नवउदारवाद कार्यान्वयन हुन थालेको थियो।त्यसले नै निम्त्याएको थियो द्वन्द, अस्थिरता, बेरोजगारी,भ्रष्टाचार र कुशासनको जालो।त्यसैको अर्को संकरण थियो जेनजी बिद्रोह ।जेनजी बिद्रोह पछि पनि कुनै नयाँ ढाचागत परिवर्तनको डिपार्चर भएको छैन र हुने छाटकाँट पनि छैन।जुन कुराले हिजो समस्या निम्त्यायो, त्यसैको पुनरावृत्ति गरेर कुनै नयाँ कुरा निस्किन्छ भन्नु आइन्स्टाइनले भन्नू भए जस्तै `उहीँ काम दोहोर्याइरहनु तर फरक परिणामको अपेक्षा गर्नु नै मुर्खताको परिभाषा हो´ भने जस्तै स्थिती हुन्छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा भूराजनीतिक चुनौती लगायत बिचार र संगठनमा समेत पुनर्गठन गर्नुपर्ने चुनौती थपिएको महसुस गर्न सकिन्छ तर त्यसभित्रको उज्यालो र संभावनाको पक्षलाई समेत नदेख्नु मुलतः यो अज्ञयवादको समस्या हो।शब्दमा आफूलाई मार्क्सवादी भनिरहे पनि सामाजिक अंतर्विरोधको भित्री बिकासक्रमलाई नदेख्ने हो भने त्यसको अन्तिम परिणाम निराशा र पलायनता नै हुन्छ।त्यसैले फेरी पनि मार्क्सवादका आधारभूत बिषय समातेर नै समाजवादी क्रान्तिले अगाडिको बाटो पहिल्याउने छ।
– २०८३ कात्तिक १४, काठमाडौ ।







