धर्मेन्द्र बास्ताेला नेत्र विक्रम चन्द विप्लव नेतृत्व माअाेवादीका अन्तराष्ट्रिय व्युराे इन्चार्ज हुन् । जनयुद्धकालदेखि पार्टीकाे अन्तराष्ट्रिय विभागमा रहेर काम गरेका बास्ताेला अहिले पनि माअाेवादी अन्तराष्ट्रिय व्युराे इन्चार्जकाे रूपमा नेतृत्व गरिरहेका छन् ।
सन् १९१७ काे अक्टाेबर क्रान्तिकाे सन्दर्भमा उनै बास्ताेलासँग जनपाटीले लिएकाे संक्षिप्त वार्ताकाे अंश :

९९ वर्षअगाडि रुसमा सम्पन्न भएको अक्टोबर क्रान्तिको सन्देश र शिक्षा के हो ?
रुसी अक्टोबर क्रान्तिको महानता अहिले पनि बढेर गएको छ । अक्टोबर क्रान्तिले देखाएको बाटो समाजवादी क्रान्ति थियो । त्यो बाटोमा अहिले पनि विश्व अगाडि बढिरहेको छ ।
कसै कसैले लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर समाजवादी क्रान्तिलाई माक्र्सको सिद्धान्तभन्दा लेनिनले अलि बढी बलजफ्ती रुपमा सशस्त्र संघर्षको बाटोबाट अलि बढि बलपूर्वक क्रान्ति गरे भनेर आरोप लगाउने गर्छन् । तपाई के भन्नु हुन्छ ?
यसबारे दुईवटा कुरा आएका छन् । पहिलो कुरा संशोधनवादी र माक्र्सवादविरोधीहरुले गरेको कुरा । अनि दोस्रो क्रान्तिकारीहरुको कुरा । यो कुरा सत्य होकि माक्र्सले कुनै खास सन्दर्भमा शान्तिपूर्ण तवरले समाजको रुपान्तरण हुने कुरा गर्नु भएको छ । खासगरी समाजको परिपक्वतापछि । त्यो कुरालाई बोकेर कतिपयले के भन्ने गरेका छन् भने शान्तिपूर्ण तरिकाले क्रान्ति हुन्छ भनेर भनेर ।
तर माक्र्सले प्रष्ट कुरा के औल्याउनु भएको छ भने वर्ग विभाजित सत्तामा एउटा वर्गले हतियारको बलमा मात्र एकले अर्कोलाई पराजित गर्न सक्छ । माक्र्सको पछिल्लो विश्लेषण नै वैज्ञानिक कुरा हो । जब समाज सर्वहारावर्गको हातमा आउँछ त्यो बेला समाज शान्तिपूर्ण तबरले अगाडि बढ्छ भन्ने सही कुरा हो ।
त्यो कुरालाई बंग्याएर संशोधनवादी र अवसरवादीहरुले शान्तिपूर्ण तवरले क्रान्ति हुन सक्ने भन्दै लेनिनको बलप्रयोगको सिद्धान्तलाई आलोचना गर्ने गरेको देखिन्छ । लेनिनले वैज्ञानिक तवरले अक्टोबर क्रान्तिमा प्रयोग गर्नु भएको थियो ।
रुसमा लेनिनको नेतृत्वमा सम्पन्न भएको अक्टोबर समाजवादी क्रान्तिमा पुँजीवादी जनवादी क्रान्तिको सम्वन्ध र सीमा कस्तो थियो ?
त्यो कुरा शक्ति सन्तुलनमा भर पर्ने कुरा हो । हुन त जनवादी क्रान्तिलाई तेस्रो मुलुकमा हुने क्रान्तिलाई परिभाषित गरियो । अनि समाजवादी क्रान्तिलाई विकसित देशमा गरिने क्रान्तिलाई लिने गरिएको छ एउटा चरणमा । त्यो कुरा त्यति वस्तुवादी र सही रहेको देखिदैनथ्यो ।
रुसमा कस्तो थियो भने सिधै सर्वहारावर्गले सर्वहारा सत्ता लिन र चलाउन सक्ने थियो । त्यो समयको सामाजिक उत्पादन सम्वन्धलाई परिवर्तन गर्न सक्ने अवस्था थियो । त्यसकारण त्यो क्रान्ति समाजवादी थियो ।
यता चीनमा सर्वहारावर्गको नेतृत्वमा क्रान्ति गरिएको भएपनि सामाजिक उत्पादन सम्वन्ध रुसको भन्दा पिछडिएको र सामाजिक शक्रि सन्तुलनका कारणले चीनमा भएको क्रान्तिलाई जनवादी क्रान्ति भनियो ।
सन् १९१७ मा लेनिनको नेतृत्वमा सम्पन्न भएको अक्टोबर क्रान्तिमा लेनिनको कार्यकुशलतालाई नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले के शिक्षा लिन सक्छन् ?
अक्टोबर क्रान्तिबाट सिक्ने कुरा के हो भने कुनै पनि देशमा हुने सामाजिक अन्तरविरोधलाई ठीक ठीक ढंगले पहिचान गर्न सक्नु नै क्रान्तिकारीहरुको विजयको संभावना हो भन्ने कुरा नै अक्टोबर क्रान्तिको मुख्य शिक्षा हो ।

भन्ने गरिन्छ लेनिनले फरवरी क्रान्ति हुनुभन्दा एक महिनाअघि रुसमा सर्वहारा क्रान्ति नहुने भन्दै पछिल्लो पुस्ताले मात्र क्रान्तिको स्वाद चाख्न पाउने विश्लेषण गरेका थिए । तर लेनिनले फरवरी क्रान्तिपछि अक्टोबर क्रान्ति गरेर देखाइदिए । यसलाई कसरी लिने ?
क्रान्ति कुनै पनि बेला संभावना भएर आउन सक्छ । जहाँ उत्पीडन हुन्छ । जहाँ परिवर्तनको अपेक्षा गरिएको हुन्छ । त्यहाँ अनिवार्य क्रान्ति सक्छ । रुसमा भएको कुरा त्यही थियो । आज जसरी विश्वमा केही मुठ्ठीभर मान्छेहरुको हातमा सिंगो विश्वको सम्पति हात परेको छ । यसले विश्वमा कुनैदिन क्रान्तिले जन्म लिने कुरा निश्चित छ । त्यो हरेक समाज र युगमा त्यो भइरहेको छ ।
केही मान्छेहरुले के भन्ने गर्छन् भने पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) का कारण मात्र अक्टोबर क्रान्ति सन् १९१७ हुन पुग्यो । अनि दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) का कारण चिनियाँ जनवादी क्रान्ति (सन् १९४९) हुन पुग्यो । तर अब न विश्वयुद्ध हुन्छ न त अव सर्वहारा क्रान्ति नै हुन्छ भनेर केही मान्छेहरुले विश्लेषण गर्ने गरेका छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
विश्वयुद्ध नभएपनि विश्वयुद्ध प्रकृतिकै युद्धहरु त विश्वमा भइराखेका छन् नि त । संसारभरि आज जताततै युद्धहरु भइराखेका छन् । जनतामाथिको उत्पीडनहरु पनि भइरहेका छन् पक्कै पनि अघिल्ला विश्वयुद्धहरुले मान्छेहरुलाई छिटो छिटो संगठित गर्न मद्धत गर्यो । तर अहिले भइरहेका युद्धहरुले पनि क्रान्तिलाई नै मद्धत गरिरहेको कुरामा कुनै दुईमत छैन ।
फेरि अहिले पनि विश्वमा कुनै न कुनै नाममा युद्धहरु भइराखेका छन् । अहिले विश्वमा देखा परेको वर्गीय खाडल र चरित्रले पनि धनी र गरिबबीच ठूलो खाडल ल्याइरहेको छ । पछिल्लो विश्व पुँजीवादका अन्तरविरोधले त झन् विश्वमा क्रान्ति झन् अपरिहार्य बन्दै गइरहेको छ ।
संसारमा सर्वहारा क्रान्तिका दुई मोडल हुन् । पहिलो रुसी सशस्त्र विद्रोहको मोडल र दोस्रो चिनियाँ दीर्घकालीन जनयुद्धको मोडल । तर अहिले पार्टीले लिएको पछिल्लो एकीकृत जनक्रान्तिको मोडल कस्तो प्रकारको मोडल हो भनेर मान्छेहरुले प्रश्न गरिरहेका छन् । तपाई के भन्नु हुन्छ ?
वास्तवमा संसारमा सर्वहारावर्गका दुईवटा मोडल मात्र छैनन् । अरु मोडलहरु पनि छन् । पहिलो रुसी अक्टोबर क्रान्ति र दोस्रो चीनको जनवादी क्रान्तिको मोडल । त्यसबाहेक हामीसँग क्युबामा गरिएको ग्वेभारको क्रान्तिकारी मोडल अनि कोरियामा किम इल सुङद्धारा लडिएको राष्ट्रिय मुक्ति युद्ध पनि अर्को मोडल हो ।
त्यसमा हामीले माक्र्सवाद लेनिनवाद र माओवादमा गरेको नयाँ विकास के छ भने अहिलेको विश्वको अन्तरविरोधलाई हेरेर एकीकृत र नयाँ तरिकाले क्रान्ति गर्ने भनिएको छ । यो कार्यदिशा निकै भिन्न र मौलिक छ । यसमा कुनै दायाँ या बायाँ गर्ने भन्ने कुरै छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




