क्युबाली क्रान्तिका भेट्रान नेता फिडेल क्यास्त्रोको शुक्रबार निधन भएको छ । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।
क्रान्तिपछि लामो समय राष्ट्रपतिको जिम्मेबारी सम्हालेर नेतृत्व गरेका क्यास्त्रोको निधनबाट सिंगो विश्वले एउटा महान् क्रान्तिकारी नेतृत्व र अभिभावक गुमाएको छ ।

सन् १९२६ मा जन्मेका क्यात्रोले क्युबाको इतिहासमा एउटा युगान्तकारी इतिहास कामय गरेर यो धर्तीबाट विदा भएका छन् । ३३ वर्षको उमेरमा क्युबामा क्रान्तिको नेतृत्व गरेर सम्पन्न गरेका क्यात्रो विश्व इतिहासमा एउटा अजर र अमर मान्छे बनेर विदा भएका छन् ।
अमेरिकी साम्राज्यवादको उपनिवेशमा रहेको क्युवालाई मुक्त पार्ने काम क्यास्त्रो र चे ग्वेवभारको नेतृत्वमा सन् १९५९ मा भएको थियो । सन् १९५९ देखि हालसम्म क्युबामा कम्युनिस्ट सत्ता कायम छ । अहिले फिडेल क्यास्त्रोका भाई राहुल क्यास्त्रो राष्टपति छन् ।
अमेरिकाको नाकैमुनि कम्युनिस्ट समाजवादको अभ्यास गरेर साम्राज्यवादीहरुलाई चुनौति दिने काम फिडेलको नेतृत्वमा भएको थियो । ५७ वर्षदेखि समाजवादी सत्ताको अभ्यासबाट क्युबालाई निरन्तर साम्राज्यवादबाट मुक्ति दिलाउने काम क्यास्त्रोको नेतृत्वमा भएको हो ।
क्यास्त्रोको निधनपछि सिंगो विश्व स्तव्ध भएको छ । विश्वका मजदुर र किसानहरुलाई सर्वहारावर्गको नेतृत्व गुमाउनु पर्दा ठूलो पीडा पैदा भएको छ ।
यस घडीमा क्यास्त्रोको विचार र नेतृत्वलाई विश्वका क्रान्तिकारीहरुले आफ्नो ठाउँबाट आत्मसात गर्दै अगाडि बढे मात्र उनलाई सम्मान र स्मरण गरेको ठहर्नेछ ।
अलविदा फिडेल क्यास्त्रो ।







