काठमाडौं । सरकारले विदेशीलाई रिझाउन अघि बढाएको संविधान संशोधन सम्बन्धी प्रस्ताव बलपूर्वक संसदमा टेबुल गरेको छ । प्रमुख प्रतिपक्ष दल सहितको विपक्षीको कडा विरोधका वावजुत संसदमा हेराफेरी गर्दै सत्ताधारी दल माओवादी केन्द्र, नेपाली कांग्रेससहितले संसदमा संविधान संशोधन सम्बन्धी प्रस्ताव टेबुल गरेको हो ।
बलपूर्वक संसदमा संविधान संशोधन सम्बन्धी प्रस्ताव टेबुल भएपछि एमालेसहितका नौ विपक्षी दल आक्रोसित बन्न पुगेका छन् । एमालेले औपचारिक कुनै प्रतिक्रिया भने दिइसकेको छैन । आइबार संसदमा सत्ताधारी गठबन्धन दलले प्रमुख प्रतिपक्षी दललाई सन् १९७५ अप्रिल ६ तारिखका दिन सिक्किमलाई भारतमा गाभ्ने लेण्डुप दोर्जें काजी खाङ्सारले त्यहाँको संसदमा प्रस्ताव पेश गरिएको शैलीमा पेश गरिएको आरोप राजनीतिक विश्लेषकहरुले लगाएका छन् ।
‘नेपाली जनताको मुक्तिको लागि भन्दै १० वर्षसम्म जनयुद्ध लडेर आएको नेकपा माओवादी केन्द्रसहितका दलहरुले आइतबार संसदमा देखाएको प्रस्तुती तथा हेराफेरिका घटनाक्रमले १९७५ मा सिक्किम भारतमा बिलयको याद आयो’, बामबुद्धिजीवी तथा विश्लेषक जीत बहादुर रायमाझीले गुनासो पोख्दै भने ।
आइतबार कतिसम्म फटाई र हेराफेरि भयो भने, राष्ट्रघाती संविधान संशोधनसम्बन्धी बिधेयकमा सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहितका व्यक्तिहरुले मिलेमतो गरेका थिए । सुरुमा संविधान संशोधन सम्बन्धी बिधेयकलाई पहिलो कार्यसूचिबाट हटाएर अन्तिम कार्यसूचिमा राखियो । सो बिधेयकका प्रस्तोता थिए उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि । निधि आफै बैठकमा उपस्थित थिएनन् । त्यसैले कार्यसूचिमा रहेको अन्य जरुरी महत्वका प्रस्ताव अघि बढाउन दिने सम्बन्धमा विपक्षी तयार भए ।
सोही बमोजिम संसदमा अबरोध हटाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने सम्बन्धी प्रस्ताव अघि बढाउन सबै दल तयार भए । त्यस्तै निर्वाचन सम्बन्धी बिधेयक टेबुल गर्न पनि दिइयो ।
तर एकाएक षडयन्त्रपूर्वक तरिकाले पूर्व योजना अनुसार सभामुख ओनसरी घर्तीले संविधान संशोधन सम्बन्धी बिधेयक प्रस्तोता उपप्रधानमन्त्री बिमलेन्द्र निधिको अनुपस्थितिमा कानुन मन्त्री अजयशंक नायकलाई नै उक्त बिधेयक प्रस्तुत गर्न निर्देशन दिइन् । पूर्व योजना अुनसार उक्त प्रस्ताव साथैमा राखेका कानुन मन्त्री नायकले होहल्लाका बीच संविधान संशोधन सम्बन्धी बिधेयक संसदमा टेबुल गरियो ।
संसदीय अभ्यासमा रोष्ट्रममा पुगेर प्रस्ताव पेश गरेपछि उक्त पेश गर्ने व्यक्ति तल ओर्लनु पर्ने थियो । तर कानुनमन्त्री नायक रोष्ट्रम नजिकै लुकेर बसेका थिए । विपक्षीले माथि आउन नदिने र रोष्ट्रममा चढ्न नदिई रोक्न सक्ने भएकाले अन्य दुई बिधेयक प्रस्तुत गर्ने बाहनामा माथि रोष्ट्रममा चढेर त्यही लुकेर बसेका कानुनमन्त्री नायकले विपक्षीहरुको अबरोधका बीच राष्ट्रघाती बिधेयक पेश गरेका थिए । कानुनमन्त्री नायकले विपक्षी दलका नेताको होहल्ला र नाराबाजीका वीच संविधान संशोधन प्रस्ताव टेबल गरे । र, अब यो प्रस्ताव संसदमा मतदानका लागि औपचारिक प्रवेश पाएको छ ।

संसदमा जालसाँझीपूर्वक संविधान संशोधन बिधेयक टेबलु भएपछि सिंगोदेश स्तब्ध हुन पुगेको छ । संसदमा एमालेसहित प्रमुख विपक्षी दलको विरोधका वावजुत उक्त बिधेयक संसदमा पेश हुन नसक्ने आशामा बसेका जनता बिदेशीको इसारामा सिक्किमीकरणको योजना अन्तर्गत प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बिधेयक टेबुल भएपछि संघीयताको कारण मुलुक अप्ठेरोमा पर्ने, जातीय सद्भावमा खलल पर्ने आशंकामा सिंगो देश स्तब्ध बनेको हो ।
यद्यपि सरकारले भने आफ्नै सुगाको शैलीमा जातिए एकता फैलने भन्दै संशोधन विधेयकको समर्थन गरिरहेको छ । संसदमा उक्त बिधेयक टेबुल भएसँगै अब राप्रपाले कस्तो भूमिका निर्वाह गर्दछ भन्नेतर्फ आम जनताको ध्यान केन्द्रीत भएको छ । राप्रपालाई विदेशीले प्रभावमा पारेर संसदबाट उक्त बिधेय पास गराउन भूमिका खेल्ने भन्दै राप्रपालाई खबरदारी गर्न सुरु गरेका छन् ।
यसैबीच, संसदमा संविधान संशोधन सम्बन्धी बिधेयक बलपूर्वक टेबुल गरिएपछि अधिकांश पुराना पुस्ताका मानिसहरुले सन् १९७५मा सिक्किम भारतमा बिलय गर्दा त्यहाँको संसदमा क्रान्तिकारीको आवरणमा सिंगो मुलुक भारतमा मिसाउने मुख्य भूमिका निर्वाह गरेका लेण्डुप दोर्जेको संस्मरण गरेका छन् ।
नेपाली जनताको मुक्तिको लागि भन्दै १० वर्षसम्म जनयुद्ध लडेर आएका व्यक्ति प्रधानमन्त्री भएका बखत मुलुकमा पहाड र तराई छुट्टाउने भारतीय योजनाले संसदमा प्रवेश पाएपछि विश्वभर रहेका नेपालीहरु सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिन सुरु गरेका छन् ।
उता, माओवादी भारतीय कठपुलती बनेको आरोप खेपेर संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेपछि उसले सिंगो राजनीतिक भविष्य नै दाउपेजमा लगाएको भन्दै पार्टीभित्रैबाट चर्को आलोचना सुरु भएको छ । प्रदेश नं ५ र ४ का जनताले आजसम्म एक शब्द पनि असन्तुष्टि नजनाएको सन्दर्भमा भारतीय योजनामा प्रधानमन्त्री पदमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई टिकाईराख्नको लागि राष्ट्रघाती प्रस्ताव अघि सारेको भन्दै पार्टीका कैयौं कार्यकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
– नयाँ प्रकाश साप्ताहिकबाट







