नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले गरेको दमन, धरपकड र षडयन्त्रका विरुद्ध भण्डाफोर गर्न आफ्ना कार्यकर्तामा अपिल गरेका छन् ।
आज विहान महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा यस्तो अपिल गरिएको छ ।

बाँकी महासचिव विप्लवको विज्ञेप्तीको पूरा पाठ ः
केही समयदेखि राज्यले हाम्रो पार्टी विरुद्ध धढपकड, दमन र भ्रामक प्रचार गर्दै आएको छ । हिजो मन्त्रिपरिषद्मा गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ ।
हाम्रो पार्टी राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, जनताको अधिकार, जनताको सुविधाको पक्षमा अग्रभागमा बसेर काम गरिरहेको छ भने भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकता विरुद्ध संघर्ष गरिरहेको छ ।
यतिवेला हाम्रो पार्टी यही फाल्गुन १ गतेदेखि १० गतेसम्म ऐतिहासिक आठौं महाधिवेशन गर्ने काममा जुटिरहेको छ र महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बेला हाम्रो पार्टीको विरुद्धमा एकदमै भ्रामक प्रचार राज्यका सञ्चार माध्यमबाट गर्नु भनेको हाम्रो महाधिवेशनलाई बाधा पुर्याउने र जनताको आकर्षणलाई भाड्ने खेल हो ।
यो गम्भीर किन पनि छ भने राष्ट्र र जनताको पक्षमा काम गर्दा, साथै गलत कार्यको विरुद्ध संघर्ष गर्दा उक्त कार्यहरुलाई प्रोत्साहित गर्नुको सट्टा उल्टो दमन गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्वन्द्वतिर धकेल्ने कार्य गर्नु हो । राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु शसक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।
अतः हाम्रो पार्टी प्रचण्ड सरकारलाई यस्तो जनघाती कार्य रोक्न र हामीले अगाडि बढाएका विषयमा गम्भीर हुन आग्रह गर्दछ । अन्यथा आउने परिस्थितिको जिम्मेवार राज्य नै हुने चेतावनी पनि दिन्छ ।
साथै राज्यको यस दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गर्दछ ।
धन्यवाद ।।
……….
(विप्लव)
महासचिव
मिति ः २१ माघ, २०७३







