नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशन थबाङमा सम्पन्न भइसकेको छ । पार्टीले निकै ठूला दूरगामी र ऐतिहासिक निर्णयहरु पारित गर्दै महाधिवेशन सफल पारेको छ । तर त्यसले लिएका निर्णयहरु प्रचण्ड-बाबुरामपछि वैद्य-वादल अलगसँग अलग भएसँगै नेता नेत्र विक्रम चन्द विप्लवले नयाँ विचार प्रक्षेपण गरेका थिए । जुन एकीककृत जनक्रान्तिको रुपमा । यो विचार आजको नेपालको समकालीन माओवादी आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ वहसको विषय बनेको छ । यही सेरोफेरोमा महाधिवेशनको बेला  महासचिव विप्लवसँग मिरमिरे एफएमले लिएको वार्तालाई अडियोबाट साभार गरेर प्रकाशित गरिएको छ ।

जनयुद्ध सुरु गर्दा तपाईँ युवा हुनुहुन्थ्यो, अहिले २२ वर्षपछि आउँदा अहिले पूर्ण जिम्मेवारीसहित पार्टीको नेतृत्व गरीरहनु भएको छ । जनयुद्ध दिवसलाई कसरी सम्झनु हुन्छ ?

वि.सं.५२ सालमा जनयुद्धमा प्रवेश गर्दा हामी युवा अवस्थामा थियौँ । लक्का जवान थियौँ । त्यति बेला जनयुद्ध हाम्रो सपनाको बाटो थियो । आदर्शको बाटो थियो । हामी जनयुद्धबाट गुज्रिएर शान्ति प्रक्रियासम्म पुग्दा फागुण १ गते नेपाली राजनीतिमा एउटा युगान्तकारी परिघटना र इतिहासको रुपमा दर्ज भएको थियो तर आज आउँदा के लाग्छ भने इतिहास नयाँ ढंगले पुनर्जागृत हुने अवस्थामा आइपुगेको छ । शान्ति प्रक्रियाले दश वर्षे जनयुद्धको रक्त रञ्जित इतिहासमा कालो दाग लगाउने काम गर्यो । त्यसलाई पञ्छाउँदै इतिहासको रक्षा गर्ने र पुनसंगठि गर्ने ठाउँमा जिम्मेवारी बोधसहित आएका छौँ भन्ने लाग्छ ।

प्रचण्ड र बाबुराम, जसको नेतृत्वमा जनयुद्ध भएको थियो । ती नेताहरुको अवस्था जहाँ पुगेको छ, त्यसै कारणले तपार्इँको नेतृत्वमा क्रान्ति अघि बढाउने अभियान चलिरहेको छ यसबारे तपार्इँको भनाई के छ ?

युगान्तकारी घटनाहरुले कैयाँै पात्रहरुलाई पटाक्ष गर्ने, मेट्ने र कैयौँ नयाँ पात्रहरुलाई सतहमा ल्याउने गर्दो रहेछ भन्ने जीवन्त अनुभूति भएको छ । प्रचण्ड र बाबुरामहरु जनयुद्धका सुत्रधारहरु हुन् त्यो कुरामा कुनै प्रश्न छैन । तर, जनयुद्धले उहाँलाई जसरी नायकको रुपमा स्थापित गरेको थियो । गलत बाटो लिएपछि त्यसैगरी इतिहासले पटाक्षप पनि गर्यो ।

जनयुद्ध लड्ने नेताहरु नै जनयुद्धलाई इतिहासको विषय बनाउँदै जनयुद्धको विपरीत बाटोमा उभिन पुगेका छन् । त्यसैले इतिहासले नयाँ युवाहरुलाई आफ्नो असल उत्तराधिकारीको रुपमा पैदा गर्ने काम गरेको छ । नेपाली क्रान्ति फेरि नयाँ उचाईमा पुनर्सगठित भएर नयाँ प्रतिनिधिहरुसहित अघि बढ्दै छ । यस्तो अनांैठो अनुभूति पैदा भएको छ ।

जनयुद्धका सुत्रधार प्रचण्ड-बाबुरामले पुरानो तरिकाले क्रान्ति संवभ छैन भनिरहेका छन् र तपार्इँ संभव छ र कसरी देख्नुहुन्छ ?

पहिलो कुरा आजको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि जनयुद्धको उपलब्धि हो । त्यसलाई हामीले इन्कार गर्ने कुरा होइन । तर, यो उपलव्धिको मुल्य जनयुद्ध होइन, हामीले राम्रोसँग सबैलाई भन्नुपर्छ । यति उपलव्धिको लागि हामीले जनयुद्धको मुल्य चुकाउनु पर्ने थिएन । यो राजनीतिक आन्दोलनकै क्रममा प्राप्त गर्न सकिन्थ्यो । उहाँहरुले मुल्य जनताको सत्ताको लागि चुकाउने अनि उपलव्धि निश्चित एउटा वर्ग र पंक्तिको लागि मात्रै स्थापित गर्ने र त्यसैलाई जनताको हो भनेर खुशी मनाउने जुन कुरा गर्नु भएको छ त्यो झुट्टो कुरो हो ।

जनयुद्धको एउटा मात्र मुल्य भनेको नेपालमा सामन्तवादी र दलाल पुँजीवादी सत्ताको अन्त्य गरेर जनताको नौलो जनवादी सत्ता निर्माण गरेर समाजवादतिर जाने सत्ता निर्माण गर्ने हो । यो सम्भव छैन भन्ने उहाँहरुको मनोगत कुरा हो । ५२ सालमा जुन कुरा सम्भव छ भन्ने तर्क उहाँ (प्रचण्ड) ले गर्नु भएको थियो । त्यो भन्दा कैयौं अनुकुलतामा हामी आइसकेपछि त्यो भनिएको छ । त्यो बेला सय जना पनि पूर्णकालीन कार्यकर्ता थिएनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल थियो । त्यस्तो प्रतिकुल समयमा उहाँहरुले सम्भव छ भनेर सुरु भएको जनयुद्धमा हामीले जित्यौँ । तर, आज सिङ्गै समाज माओवादीको राजनीतिक, सामाजिक, आर्थिक प्रस्तावमा सहमत भएर साथ दिन आउने विन्दुमा उहाहरु फेरि फर्किएर बुर्जुवा गणतन्त्र र संसदवादतिर फर्कनु भयो । आफ्नो स्वार्थका कारणले फर्किएको कुरालाई उहाँहरुले असम्भव भन्नु भएको हो । यो ठीक उल्टो छ ।

हामीले सम्भव देखेको कुरा के हो भने, आज पनि नेपाली जनताहरुले परिवर्तन, अधिकार र राष्ट्रिय स्वाधिनता चाहेका छन्् । संसदीय व्यवस्थामा दलाल पुँजीवादी व्यवस्थामा पैदा भएका संकटका कारण कोही पनि जनता सन्तुष्ट छैनन् । यसलाई बदल्नु पर्छ भन्ने कुरामा विमती पनि राख्दैनन् । यो नै हाम्रो क्रान्तिका लागि उपयुक्त र बस्तुगत आधार हो भन्ने हाम्रो तर्क छ ।

तपाईँले हिजोकै जनयुद्धको निरन्तरताको कुरा गरिरहनु भएको छ आरोप पनि छ नि ?

यो पनि एकदमै विषयान्तर हो । हामीले यसअघि पनि मिडियाबाट स्पष्ट पार्ने प्रयास गर्दै आएका छौं । हाम्रो लाइनको व्याख्या उहाँहरुले आफ्नो तरिकाले गरिदिनु भएन । यसलाई तोडमरोड गरेर जनतालाई भ्रमित पारेर जनतालाई सत्य तथ्यबाट पर राखेर अलग गर्ने तर्कहरु दुर्नियतपूर्ण छ र त्यो सत्य होइन ।

बरु हामीले जनयुद्धको तरिकाले हुँदैन भन्यौं । जनयुद्धको तरिकाले हुँदैन भन्नुको अर्थ सम्पूर्ण क्रान्तिबाट भाग्ने भन्ने होइन । क्रान्तिलाई संगठित गर्नुपर्छ र विकास गर्नुपर्छ हामीले भनेकोे हो । जनयुद्धबाट सम्भव छैन भनेर संसदवादतिर जानु भनेको त आत्मसमर्पण हो । त्यो कुरालाई हेरेर हामीले एकीकृत जनक्रान्ति ल्यायौं । हामीले यसको अर्थ जनयुद्धलाई छाडेको होइन, जनयुद्धको अपुग पक्षलाई पूर्णता दिएर नेपाली वस्तुस्थिति र नेपाली जनताको आकाक्षाअनुसार नीति र कार्यक्रम विकास गरेको कुरा हो । क्रान्तिको विकल्प छैन भन्ने कुरा आजको संसदीय व्यवस्थाको संकटले प्रष्ट देखाउँछ ।

एकीकृत जनक्रान्तिलाई माओवादीले ल्याएको २१ औं शताव्दीको जनवाद र मदन भण्डारीको बहुदलीय जनवादको विषय प्रवेश त भएको छैन भन्ने प्रश्न पनि कतिपयले गरेका छन् नी ?

यहाँ कस्तो छ भने अनुसन्धान र अध्ययनको पाटोलाई पकड्न झन्झट मान्ने र विगतमा विचारक, चिन्तक र नेताहरुले संश्लेषण गरेकै विषयलाई प्रचार गरेर खाने राजनीतिक चरित्र छ । त्यसले के ठान्छ भने नयाँ विषय बस्तु आउने वित्तिकै यो अर्कै पाटोमा गयो भन्दछ । अर्कोतिर विकासलाई समात्नु पर्छ भन्दै संसदीय विकासतिर फर्किएर जाने प्रवृति पनि छ । सबैतिरबाट हामीले पुँजीवादलाई खण्डन गर्नु छ ।

अमेरीकाको सबै भन्दा उत्कृष्ठ प्रजातन्त्र या ग्रेट डेमोक्रेसी असफल हुँदै गएको छ । त्यो सँगै जोडिएको तितो यथार्थ के छ भने पुँजीवाद यति ठूलो संकटमा पर्दा पनि समाजवाद आउन सकेको छैन । यूरोप एशियामा क्रान्ति आउन सकेको छैन । यसले के देखाउछ भने पुँजीवाद समाधान होइन भन्ने कुरा यसले प्रष्ट देखाउँछ । तर, वैज्ञानिक समाजवाद अगाडि आउँन सकेको छैन, त्यो अलग कुरा हो । पँजीवादको संकटलाई क्रान्तिमा बदल्ने हो भने पँजीवादले समाजवादको अगाडि खडा गरेको सबै प्रश्नहरुको समाधान हामीले दिनुपर्छ । त्यसो गर्दा हामीले अहिले दर्शनमा पनि विकास गर्नुपर्छ, राजनीतिमा कम्युनिष्टहरुको कमीलाई पनि हामीले हल गर्नुपर्छ ।

जनतासँग जोडिएका नीतिहरुलाई विचलन भनेर कहिले पनि ठान्नु हुँदैन । राजनीति, अर्थतन्त्र, दर्शन र संगठन पनि जनतासँग जोडिएर आउनु पर्छ । जनताबाट अलग भएको सानो झुण्डबाट आउने निर्णयहरुलाई वैज्ञानिक देख्ने, जनताको अनुमोदनसहित आउने कुराहरुलाई अवैज्ञानिक देख्ने दृष्टिकोण गलत छ, यसलाई हामीले सच्याउनु पर्छ । यहाँ जनता भन्नाले पुँजीवादी जनता होइन समाजवादी जनता भन्ने हो । यो कुरालाई छुट्याउन उहाँहरुले सक्नु भएको छैन । यसलाई बहस गर्ने भनेरै हामी उत्रिएका छौं ।

हामीले तीनओटा कुरा भनेका छौं । हामीले गर्ने कुरा नयाँ पनि हुनुपर्छ । पुँजीवादलाई क्रस गर्ने पनि हुनुपर्छ । त्यो जनताको भावनालाई जित्ने पनि हुनुपर्छ र क्रान्तिकारी र वैज्ञानिक पनि हुनुपर्छ । मार्क्स कहिले पनि बहसबाट फर्कनु भएन । सबै प्रश्नहरुको जवाफ दिन तयार हुनु भयो भने हामी प्रश्नहरुबाट किन तर्सने ? पुँजीवादलाई जवाफ दिन हामी किन तयार नहुने ?

रुसमा समाजवादी क्रान्ति भएको एक सय वर्ष पूरा भएछ, यहिबेला स्टालिनको भूमिकाको मुल्याकंनमा केही परिवर्तन गर्न खोज्नु भएको हो ?

रुसमा लेनिनले समाजवादी क्रान्ति स्थापना गरेको एक सय वर्ष भयो । एक सय वर्षभित्रको अवधिमा समाजवादले जितेको उत्कर्ष पनि छ र हामीले हार्याँै अर्थात समाजवादले हारेको पनि छ । अर्थात विघटन भएको दुःखद पक्ष छ । स्टालिनकै बारेमा पनि कम्युनिष्ट पार्टीका बुझाईहरुमा सही जे हो त्यसालाई हामीले भन्नु पर्छ ।

स्टालिन एउटा महान् क्रान्तिकारी थिए । कमरेड लेनिनको नजिकको कमरेड पनि । उहाँहरुकै कारणले रुसमा समाजवाद आएको हो । लेनिनको मृत्युपछि स्टालिनकै कारण विश्वभर समाजवादी क्रान्ति सम्पन्न भएको हो । स्टालिनको बारेमा एकथरी मानिसहरुले साम्राज्यवादी कोणबाट प्रश्नहरु उठाए त्यसको बहकावमा हामी जानु हँुदैन । अर्को कुरा माओले तीस प्रतिशत गल्ती भन्ने माओको मुल्यांकन समय सापेक्ष त्यो होला तर त्यसरी छुट्याउँदा अलि समस्या पर्यो भन्ने हाम्रो बुझाई हो ।

अर्कोतिर लेनिनले १२ औं महाधिवेशनमा जुन चिट्ठी लेख्नु भएको थियो । यो रुखो छ यसले चलाउन सक्दैन कि भनेर यसले पनि स्टालिनको कार्यशैलीमाथि नकारात्मक प्रभाव पार्यो । नेताहरुले ख्याल गर्नुपर्छ भन्ने हाम्रो भनाई छ । अर्को स्टालिनलाई अनुभवको कमी, आत्मसमर्पणवादीहरु, गद्धारहरु र साम्राज्यवादी एजेण्टहरुविरुद्ध लड्नु पर्ने, हिटलरसँग पनि लड्नु पर्ने दोहोरो चपेटामा पर्दा अधिनायकत्वको पक्षमा जसरी कुसलतापूर्वक प्रयोग गरियो त्यहाँ जनवादको पक्षमा प्रयोग गर्ने कुरामा केही कमी भएको छ हामीले भनेका छौं ।

अनि लेनिनले संश्लेषण गरेको साम्राज्यवादलाई ‘उत्तरसाम्राज्यवाद’ किन भन्न भयो ?

लेनिनले एक सय वर्षअघि लगभग यही समयमा साम्राज्यवाद भन्ने शब्दलाई अगाडि ल्याउनु भएको थियो । त्यो बेला लेनिनमाथि विरोध जनाइयो । साम्राज्यवाद भनेको पुँजीकोे अतिक्रमणकारी चरित्र हो भनेर व्याख्या गरेर गएपछि विश्वमा बहस र बुझाई बन्यो । उहाँले परिभाषित गर्दै गएपछि स्थापित बन्यो ।

आज एकसय वर्षपछि लेनिनले आफ्नो दस्तावेजहरुको लेखाइमा पनि कल्पना नगरेका विषयहरु अनुसन्धानमा आएका छन् । विज्ञान र प्रविधि, राजनीति र अर्थतन्त्रमा ठूला ठूला परिवर्तन आएका छन् ।

साम्राज्यवादबारे लेनिनले भनेको पाँचओटा विषेशतामा छैन । लेनिनले साम्राज्यवाद भनेको प्रत्यक्ष युद्ध, अति उत्पादन, क्षेत्रको विभाजन, प्रत्यक्ष शासनजस्ता कुराहरुमा मात्र साम्राज्यवाद सिमित छैन । आज साम्राज्यवाद मिलिजुली खाउँ तर मुख्य म खान्छु भन्ने खालको छ । पहिला साम्राज्यवादले आफूले हस्तक्षेप गर्थ्याे अहिले उताबाट बोलाउछ । आज नेपालकै कुरा गर्नुस्, नेपालमा प्रत्यक्ष हस्तक्षेप छैन तर यहाँका दलालहरुले साम्राज्यवादी शक्ति खोज्दै हिँडेका छन् । बाहिरबाट आयात गर्ने खालको भएको छ । साम्राज्यवादलाई ल्याउने र त्यसको दलाल भएर सत्तामा पस्ने उनकै योजनामा काम गर्ने खालको चरित्रमा परिवर्तन आयो ।

त्यसैगरी अहिले एकाधिकार पुँजीको ठाउँमा समन्वयकारी पुँजी आईरहेको छ । सबैलाई बाड्या जस्तो गर्ने, आवस्यकता पूर्ति गरिदिने र बाँकी ठूलो हिस्सा कुम्ल्याएर हिड्ने प्रवृति आएको छ । विज्ञान र प्रविधि त आज झन् एउटा तरंगको रुपमा गएको छ । डिजिटल प्रविधिमा प्रवेश गर्यो दुनियाँ । यो कुरा लेनिनको पालामा थिएन तर यसको मतलव पुँजीवादको अन्त्य भएको छ त ? भन्दा त्यो त होइन । पुँजीवादकै चरित्र छ तर हिजोको जस्तो चरित्र छैन भनेका छौं । यसलाई हामीले उत्तरसाम्राज्य भनेका छौं ।

यसलाई कतिपय बुद्धिजीवी साथीहरुले मनपरी लेख्नु भयो भनेर भनेका छन् उत्तर भनेको त मरेको हो भनेका छन् । तर, त्यो होइन । उत्तर भनेको नेपालको साहित्यमा हेर्नु भयो भने पनि पछिको भनिएको हो । पोष्ट भन्ने पनि छ त्यो पनि पछि भन्ने नै आउछ, नयाँ भन्ने आउछ । अलि पछिल्लो प्रवृतिलाई जोड दिन यो शब्द प्रयोग गरिएको हो ।

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने दस्तावेजमा प्रस्ताव गर्नु भएको छ, किन ?

क्रान्तिकारी रंग के राख्दा आउँछ भन्ने कार्यकर्ताहरुको चिन्ता हो जस्तो लाग्छ । कम्युनिष्ट मात्रै राख्दा आउँछ कि, माओवादी मात्रै राख्दा आउँछ कि भन्ने कुरा आउछ । यो सबै कुरा गर्दा हामीले चारओटा तर्कहरु अघि सारेका छौं । पहिलो, कम्युनिष्ट मात्रै भन्दा राम्रो कि ? त्यसमा माओवादी थप्दा राम्रो भन्नेमा हामीले समग्र समयलाई समेट्ने र विचारलाई समेट्न कम्युनिष्ट शब्द नै उपयुक्त हुन्छ भन्ने हाम्रो छ ।

दोस्रो, नेपालमा माओवादी भन्ने शक्ति अहिले जसरी नेतृत्व पंक्ति विचलित भएर गयो र त्यही नामबाट काममा भाग लिइरहेको छ । जनतामा माओवादी भन्दा क्रान्तिकारी हो भनेर नबुझ्ने स्थिति बनेको छ । प्रचण्ड पनि माओवादी, किरणजीहरु हुनुहुन्छ अनि हामीले पनि माओवादी भन्दा यो समस्या देखिन्छ ।

माओवादी दमन गर्ने, जनताको अधिकार खोस्ने, देश लेनदेन गर्ने र राष्ट्रघाती सन्धि गर्ने ठाउँमा छ । माओवादी भन्ने वित्तिकै जनता र राष्ट्रको क्रान्तिकारी शक्ति हो भन्ने पर्दैन । सर्वहारा वर्गीय आचार व्यवहार भएको शक्तिमा पर्दैन । विकृत भएको जो पहिचान छ, नाम फेरेर जनतामा हामी जाँदा राम्रो काम गर्न थालेपछि जनताको साख आउँछ भन्ने लाग्छ ।

तेस्रो, हामीले सबै इमान्दार कम्युनिस्टहरुलाई एकताबद्ध गर्न चाहेका छौं त्यो सहज होस् भन्नका लागि पनि नाम फेर्दैछौं । चौथो, नेपालमा अहिले जुन परिस्थिति बनेको छ माओवादी नाम धेरै तितरवितर भयो । त्यो अहिले आवश्यक छैन भनेर भनेका छौं ।

अर्को कुरा रुसमा बोल्सेविक पार्टीले सामाजिक मजदुर पार्टी भनेर पनि लड्यो, बोल्सेविक भनेर पनि लड्यो र पछि कम्युनिष्ट पार्टी भनेर पनि लड्यो । त्यसैले राम्रो गरियो भने कम्युनिष्ट पार्टी भनेर जाँदा पनि जनता आउँछन् भन्ने लाग्छ ।

माओवादी दस्तावेजमा कतिपय राजनीतिक पार्टीहरुलाई ‘वर्गशत्रु’ जस्ता शब्द समेत प्रयोग गरिन्थे तर तपाईँको दस्तावेजमा देखिएन नि ?
हामीले सचेततापूर्वक त्यो नगरेको हो । एउटा कुनै समयमा एउटा पार्टीको हकमा त्यो भन्न सकिएला । हिजो गलत थियो । यो बिरालो बाँधेर श्राद गर्ने जस्तो बन्न गयो । दस्तावेज लेखेपछि एउटा न एउटा पार्टीलाई गाली गर्ने । अहिले त्यो परिस्थिति छैन । आन्दोलनका क्रममा पार्टीहरु परिवर्तन हुन्छन् सोही बमोजिम भन्नु पर्ने हुन्छ ।

अहिले कुनै पनि पार्टी नेपाली जनताको दुश्मन भन्ने अवस्था छैन । दलालहरु हरेक पार्टी भित्र छन् । नेपाली जनताको विरोधी, जनताको स्वाधिनता विरोधी भनेको वर्गमा अहिले एउटा दलाल प्रवृति आएको छ । यो प्रवृतिविरुद्ध नै जनताको लडाइँ हुनुपर्छ हामीले भनेका छौं । यो प्रवृति पार्टीभित्र, अर्थतन्त्र, राजनीति, कर्मचारी सबैतिर छ ।

दलाल भनेको देशविरुद्ध निर्णय गर्ने, विदेशीको अगाडि आत्मसमर्पण गर्ने, स्रोत साधन बेचेर खाने, कुर्सीको लागि राष्ट्रघाती सम्झौता गर्ने, प्राकृतिक स्रोत विदेशीको हातमा दिने, दलाल पँजीमार्फत लगानी गरेर मुनाफा बाहिर लैजाने यो प्रवृति नै दलाल प्रवृति हो । यसविरुद्ध हामीले लड्नु पर्छ । प्रवृतिगत ढंगले लड्ने हो । हामी काँग्रेस, एमाले वा कुुनै दलविरुद्ध लड्ने होइन ।

त्यसो भए कस्तो मोडलमा क्रान्ति गर्दै हुनुहुन्छ त ?

हामीले सैद्धान्तिक ढंगले यसलाई हल गरेका छौं । नीतिगत ढंगले भन्दा आजको लडाइँ दलाल सत्ता र जनताको बीचमा हो भनेर टुङ्गो लगाएका छौं । यो शक्तिको विरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु, माओवादीहरु, देशभक्तहरु, सही किसिमका लोकतन्त्रवादीहरु आउनु पर्यो ।
यति मिल्दा दलालहरुलाई हराउन सकिन्छ भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो ।

क्रान्तिकारी कोको छन् त भन्दा किरणजीहरु हुनु भयो, उहाँहरुलाई एकता गरौँ भनेका छौं । मशाल र रोहित जीहरु ( नारायणमान बिजुक्छे) सँग सम्भव भएसम्म कार्यगत एकता गरौं भनेका छौँ । त्यसपछि ध्रुबीकरण गरौँ भन्ने छ हाम्रो, माओवादी केन्द्र र एमाले भित्रका राष्ट्रवादी र क्रान्तिकारीसँग एकता गरौँ भनेका छौँ ।

देशभक्तको कुरा गर्दा कर्मचारी, सेना र प्रहरी भित्रको एउटा शक्तिले पनि हामीलाई साथ दिनुपर्छ भनेका छौं । यहासम्मको एकता चाहिएको छ हामीलाई । नेपाली काँग्रेसभित्रको पनि सही लोकतन्त्रवादी छ भने त्यो पनि आउनु पर्छ र दलाललाई सबै तिरबाट हान्यो भने जान्छ भन्ने सैद्धान्तिक कुराहरु छ । हामीले किरण जीहरु र मशालसँग त मिलेर केही कार्यक्रम पनि गर्यौं ।

तपाईँले सुरु गरेको नयाँ विचारको बहसलाई अन्तर्राष्ट्रिय क्षेत्रहरुबाट कस्तो प्रतिक्रिया आएको छ ?

हामीले केही लेखकहरु अंग्रेजीमा उल्था गरेर पुर्याएका छौं । उहाँहरुले पनि अध्ययन र छलफल गर्नु भएको छ । यहाँका बुद्धिजीवीहरुले जस्तै सोध्नु भएको छ केही विषयहरु । विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुले कुनै न कुनै नयाँ तरिकाले सोच्न थालेको देखिएको छ ।

आरसीपीले नयाँ संश्लेषण भनेर आफ्नो विषयहरु अघि सारेको छ । भाकपा (माओवादी)ले पनि दुर्गम क्षेत्रमा मात्र लडेर हुन्न शहरमा आउने खालको गर्नु पर्यो भनेका छन् । दिल्ली, मुम्बई, कलकत्ता, लखनउजस्ता शहरमा छुने क्रान्ति गर्नुस् भनेर हामीले पनि सुझाब दिएका छौँ ।

अन्त्यमा तपाईँले सोच्नु भएको क्रान्ति सम्पन्न गर्ने अवधिबारे कसरी सोच्नु भएको छ ?

हाम्रो दिमागमा प्रतिविम्वित हुने चेतना, आकांक्षा, जनतासँगँपनि जोडिएको छ । नेपाली जनताहरु छिटो भन्दा छिटो परिवर्तन चाहन्छन् । शान्ति, समृद्धि र स्वाधीनता र परिवर्तन चाहन्छन् । त्यसैले केही हामीले मेहेनत गर्नुपर्छ । त्यो स्थितिमा आमुल परिवर्तनको समय धेरै टाढा छैन । यद्यपि, यो एउटा कठिन युगिन कार्यभार हो ।

यो बेला हामीलाई विवेकको पनि जरुरी छ, साहसको पनि जरुरी छ । यसको समायोजन हुँदाको दिन धेरै पर हैन निकट भविश्यमा आउँदा दिनमा परिवर्तन सम्भव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार