पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही । १९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष जेलमा बसेर रिहा भएपछि उनी जोगबुढास्थित रङ्गुना खोलाको बगरमा गिट्टी कुटेर जीवनको गुजारा चलाइरहेका छन् । उनकै निवासमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश प्रकाशित गरिएको छ
यहाँको जन्म कहिले, कहाँ भएको हो ?
मेरो जन्म वि.सं. १९९४ मा प्युठानमा भएको हो । बाजेहरू डँडेल्धुरा बसाइँ सरेका थिए । पण्डितले दिलबहादुर नाम राखिदिए पनि मलाई पूर्णबहादुर भनेर चिन्छन् । अहिले यही डँडेल्धुराको जोगबुढास्थित रङ्गुनाको किनारमा ऐलानीमा छाप्रो हालेर बसेको छु ।
भीमदत्त पन्तसँग तपाईंको चिनजान कहाँ भएको हो ?
२००७ सालमा ब्रह्मदेव नाकामा नुन लिन जाँदा भीमदत्त पन्तसँग मेरो भेटघाट भएको हो । भीमदत्त २००७ सालको क्रान्तिमा भाग लिएका तर दिल्ली सम्झौताबाट असन्तुष्ट कमान्डर रहेछन् । उसबेला मलाई त्यो कुरा थाहा थिएन । जेलबाट रिहा भएपछि भीमदत्तले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । नाकामा भारतीय अत्याचार र सामन्ती कहरका विरुद्ध उनले विद्रोह गरे । म पनि उनको पार्टीको एकजना सिपाही थिएँ ।
आन्दोलन कसरी सुरु भएको थियो ? केके गर्नुभयो त ?
काठमाडौँको बेवास्ता र भारतीय ज्यादतीले जनता आजित थिए । तीन वर्षदेखि नेपालमा नुन रोक्का भएको थियो । भारतीयहरूलाई ‘काली स्वास्नीको ४ आना, गोरी स्वास्नीको ८ आना’ कर तिर्नुपथ्र्याे । जाली तमुसकले गरिबलाई उठिबास गराइरहेको थियो । प्रहरीले ती सबैको रक्षा गथ्र्याे । थानाका मुखियालाई बोरामा पोको पारेर जिउँदै महाकाली नदीमा फालिदिए । जनतालाई नुन बाँडिदिए । हामीले नाकाका सबै भारतीय व्यापारीलाई लखेट्यौँ र तिनका पसलमा आगो लगायौँ ।
विद्रोहको नेतृत्व कसले गथ्र्याे ? सेना पनि थिए कि ?
छाकमा ५ बोरा चामल खाने फौज थियो । तिमीहरूकै खुन खाएका हुन् भनेर नुन र चामल जनतालाई बाँडिदिन्थ्यौँ । हातले बाँड्दा तलमाथि होला भनेर साबेलले बाँड्थ्यौँ । मुख्य नेता भीमदत्त थिए । फौज थियो । जनता सबै अत्याचारको विरुद्ध उत्रिएका थिए । नेता, जनता, फौजको लर्काे लाग्थ्यो ।
भीमदत्तका विषयमा राेचक प्रसङ्ग केही छन् ?
भनेर साध्य नै छैन । उनी असाध्यै दूरदर्शी र जनतालाई माया गर्ने नेता थिए । त्यस्तो मान्छे त देखेकै छैन । उनले श्रीमतीसँग बिदा हुने बेलामा ‘साउनको महिना घर आय आया, नआया तिमी राँडी भयौ’ भन्दै हिँडेका थिए । नभन्दै त्यस्तै भयो, उनी साउनमा घर पुगेनन्, मारिए ।
भीमदत्तको फौजलाई तालिम कसले दिन्थ्यो ? हतियार कहाँबाट आउँथ्यो ?
भीमदत्त आफैँ फौजी मान्छे थिए । भारतीय सेनाका अवकाश प्राप्त हबल्दार हाम्रो सेनामा थिए । धनगढीको लडाइँमा उनी भारतीय सेनाद्वारा मारिए । हामीले सरकार र सामन्तका हतियार खोसेर फौज बनाएका थियौँ ।
धनगढीको मोर्चामा तपाईंहरूले ठूलो क्षति बेहोर्नुपरेको चर्चा छ नी ?
हामी लगातार ३ दिन ३ रात लडेका थियौँ । धनगढी जित्न पाएको भए नेपालै कब्जा हुन्थ्यो । मेरो टाउकोमा उसबेलाको घाउको दाग अझै छ । हाम्रो ३०० जतिको फौज थियो । हामीसँग लड्न सरकारले भारतीय सेना पनि बोलाएको रहेछ । हाम्रो गोलीगट्ठा सकियो । त्यसपछि कति मरे, लेखाजोखा भएन । म आफैँ घाइते थिएँ । साथीहरूले छोडेर गए । म¥यो भन्ठानेर होला । मैले भने लाससँग मरेझैँ गरेर पल्टिएर ज्यान जोगाएको हूूँ ।
भीमदत्त पन्त कसरी मारिए ? केही बताइदिनुहुन्छ कि ?
धनगढीमा क्षति भएपछि फौज पहाडमा क्रियाशील थियो । भारतीय र शाहीसेनाले पछ्याउँदै थियो । कारी गाउँका लालबहादुर बोहोरा प्रहरी थिए । उनी भीमदत्तका मित थिए । उसले विश्वासघात गरेछ । बासको इरामा बन्दुक भित्तामा अड्याएर खाना खान सुरुमात्र गरेका थियौँ, गोली चल्यो । सुरुमै भीमदत्तलाई ताकेर गोली हानेछन् । उनको छातीमा ३ गोली लागेको थियो ।
प्रतिरोध गर्नुभएन ? भीमदत्तले केही भन्न भ्याएनन् ?
मर्ने बेलामा ‘मेरो खुन बौरनेछ’ भनेका थिए । दुवै पक्षले फायर नखोल्ने सहमति थियो । उनीहरूले नियम उल्लङ्घन गरे । हामी असावधान भएछौँ । आदेशबिना गोली चलाउन पनि भएन ।
तपाईं जेल पनि पर्नुभयो कि ? कहिले छुट्नुभयो ?
२००९ सालमा गिरफ्तार भएर ७ वर्ष जेलमा बसेँ । २०१६ सालमा बहुदल आएपछि रिहा भएँ । जेलमा भीमदत्तका सबै राजबन्दीलाई छोड्ने पत्र माथिबाट जेलमा आएको रहेछ ।
तपाईंलाई सङ्गठित गर्न कोही आउँदैनन् ?
एमाले पार्टीका मान्छेहरू आएर तिमी भीमदत्तका सिपाही रहेछौ, पार्टीमा लागौँ भन्थे । धेरैपछि माओवादीहरू लिन घरैमा आए । तर गएको छैन । भीमदत्तजस्ता मान्छे नै देख्दिनँ । जनतालाई माया नगर्नेले जनताको सरकार कसरी बनाउला भन्ने ठान्छु ।
भीमदत्तको आज ठूलो महिमा छ । तपाई जिउँदो सहिद भेट्न कोही आउँदैनन् त ?
म त ऐलानी जग्गामा छाप्रो हालेर बसेको छु । बगरका गिट्टी कुटेर जीविका चलाएको छु । सहरमा केके हुन्छ, मलाई थाहा छैन । भीमदत्तकै विषयमा चलचित्र बनेको पनि सुनेको थिएँ । तर पैसा नभएर हेर्न जान सकिनँ ।
देशमा गणतन्त्र आयो, कसरी बुझ्नुभएको छ ?
देशमा अब झन् ठूलो उथलपुथल हुनसक्छ । शान्ति हुनेवाला छैन ।
अन्तिममा थप केही भन्न चाहनुहुन्छ ?
राजनीतिमा लागियो । जेल, यातना सबै भोगियो । लडाइँ लडेकै हो । जेलबाट छुटेपछि बिहे गरेर यहाँ बसेको छु । लौ हजूर, भीमदत्तको एउटा सेना जिउँदै छ भन्ने खबर काठमाडौँलाई दिनुहोला ।
– राताे खबर साप्ताहिकबाट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




