सन् १९७० मा प्रकाशित ‘इण्डियाज चाइना वार’ लाई सन् १९६२ मा भएको चीन–भारत युद्धको आधिकारिक विश्लेषण मानिन्छ । आफ्नो सो कृतिमा लेखक नेभिल्ले मेक्सवेलले त्यत्तिबेला भारतले चीनलाई सिमाना युद्धमा धकेलेको औंल्याएका छन् । चीन र भारतबीचको सिमाना विवाद किन अझै समाधान हुन सकेको छैन ? सन् १९६२ को सिमाना युद्धको भारतीय जनताका विभिन्न तप्कामा परेको प्रभावबारे हामीले कसरी व्याख्या गर्नुपर्दछ ? दोक्लाम क्षेत्रमा भएको दुई पक्षीय तनाव कसरी समाधान गर्न सक्छौं ? यी विविध विषयमा ग्लोबल टाइम्सका अस्टे«लिया संवाददाता लि फेङले लेखक मेक्सवेलसँग लिएको अन्तर्वार्ता प्रस्तुत छः

ग्लोबल टाइम्सः चीन र भारत दशकौंदेखि सिमाना विवादमा फसेको छ । तपाईको दृष्टिकोणमा सिमाना विवादको सन्दर्भमा दुई देशका बुझाईबीच कति भिन्नता छन् ?
मेक्सवेलः चीन र भारतबीचको सिमाना विवाद कहिल्यै समाधान भएको छैन । मुख्य रूपमा तपाईले यो कुरामा प्रष्ट हुन जरुरी छ । दुई देशबीचको रेखा वा क्षेत्रलाई सिमाना बनाउने एउटा निश्चित कुटनीतिक प्रतिक्रिया हुने गर्दछ । अहिले भारत र चीनबीचको हजारौं किलोमिटर सिमानामध्ये दुई पक्षलाई स्वीकार्य भएको कुनै क्षेत्र छैन अथवा भनौं सबै क्षेत्र विवादित छन् । दुवै पक्षबीच सिमाना कहाँ हुनुपर्ने हो भन्ने विषयमा मतभेदहरू छन् । भारत इतिहास, लोकाक्ति र वर्तमान अवस्थामा आधारित रहेर आफ्नो सिमाना कहाँ पर्छ भन्ने कुराको निर्णय गर्न पाउनु आफ्नो अधिकार भएको ठान्ने गर्दछ । भारत आफ्नो नियन्त्रणमा रहेको रेखा नै सिमाना बनाउन चाहन्छ । अर्कोतिर चीनका धेरै अरू छिमेकीहरू छन् । चीनको सिमाना चौध वटा देशहरूसँग जोडिएको छ । र, धेरै अघि नै चीनले सहमतिको सिमाना रेखा पहिल्याउन छिमेकी देशहरूसँग वार्ता थाल्ने कामको शुरुवात गरिसकेको थियो । तर भारतले भने यसको विपरीत दृष्टिकोण राख्दै आएको छ ।
भारतले आफूले नै आफ्नो सिमाना निर्धारण गर्ने र थोपर्ने निर्णय गर्दै आएको देखापर्दछ । चिनियाँहरूले निकै बुद्धिमत्तापूर्वक छिमेकी देशसँगको संवादमार्फत् सिमाना तय गर्ने निर्णय गरेका छन् । परिणामतः चीनसँग सिमाना जोडिएका १४ वटा देशहरूमध्ये १२ वटासँग सिमाना सन्धि भइसकेको छ भने भारत र भुटानसँग मात्र सिमाना सन्धि हुन बाँकी छ ।
किन ? किनभने भारत र भुटान वार्तामै बस्न चाहँदैनन् । दुवैले भन्दै आएको छ,‘ सिमाना कहाँ पर्छ, हामी भन्नेछौं ।’ यही कारण समस्याको समाधान टाढा बन्दै गएको हो । भारत र चीनबीचको सिमाना विवाद कहिल्यै समाधान भएको छैन ।
ग्लोबल टाइम्सः तपाईले आफ्नो पुस्तकमा भारतसँग आफू एउटा निर्दोष शिकार बनेको मानसिकता भएको लेख्नुभएको छ । चीनसँग सन् १९६२ मा भएको सिमाना युद्धयता भारतलाई यही छायाँले लखेट्दै आएको छ । किन यो छायाँले सताइरहेको छ ?
मेक्सवेलः युद्धमा भोग्नुपरेको पराजयका कारण जन्मिएको तीतो हिनताबोध हो यो । सन् १९६२ मा भारत आफू जित्ने विश्वासका साथ चीनसँगको युद्धमा होमिएको थियो । तर उसको त्यो सपना भङ्ग हुन एक महिना पनि लागेन । भारतले पूर्णतः अपमानजनक पराजय भोग्नुप¥यो । भारतको त्यो पराजयले त्यहाँको राजनीतिक वर्गमा अहिलेसम्म गहिरो खत छोडेको छ र सन् १९६२ को पराजयको तीतोपना भारतको राजनीतिक सम्भ्रान्त वर्गको चेतनामा अपुरणीय चोट पु¥याएको छ ।
त्यस्तो तीतोपनाका कारण भारतसँग केही गरेर देखाउने वा प्रतिशोधको भावना आएको देखापर्दछ । भारतको राजनीतिक संरचनामा यो एउटा निकै खतरनाक बानी हो ।
भारतसँग फेरि एक पटक दोस्रो लडाई होस् जसमा भारतले विजय हासिल गर्न सकोस् भन्ने भावना पलाएको हुनसक्छ, । विशेषतः भारतीय सेनामा रहेको यो खतरनाक मनोवैज्ञानिक रोग हो ।
चीनविरुद्ध लडाई लडेको पुस्तालाई भारतकै कारण त्यो द्वन्द्व चर्केको थाहा छ । तर नयाँ पुस्ताका भारतीय सिपाहींलाई यसबारे थाहा छैन । चीनसँग एक दिन बद्ला लिनु नै आफ्नो तयारीको सार भएको उनीहरू सोच्छन् ।
भारतका जनता र बुद्धिजीवीलाई भारत सरकारले चीनले आफुमाथि अचानक ‘पिठ्युमा चक्कु हमला गरेको’ भनी प्रचार गरेको छ ।
यो गलत व्याख्या हो किनभने जवाहरलाल नेहरु नेतृत्वको भारत सरकारले आफूभन्दा बलियो शक्तिसँग भिड्न भारतीय सेना पठाएको थियो । फलतः भारतले स्वाभाविक पराजय भोग्नुपरेको थियो ।
तर नेहरु यो सत्य स्वीकार्न तयार भएनन् । अनि चीनले भारतलाई अचानक हमला गरेको झुठको आवरण दिइयो । भारतीय जनता र भारतीय राजनीतिक वर्गलाई गलत विश्वासमा भुलाइएको छ ।
ग्लोबल टाइम्सः चीन–भारत सिमाना विवादको सम्बन्धमा तपाईले लेख्नुभएको पुस्तकलाई आधिकारिक कृति मानिन्छ । पुस्तक सन् १९७० को दशकमा प्रकाशित भयो । मलाई लाग्छ, त्यत्तिबेला सम्पूर्ण संसार चीनको विरोधमा भारतको पक्षमा उभिएका थिए । किन त्यसो भएको थियो ?
मेक्सवेलः त्यत्तिबेलासम्म संरा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई अवैधानिक राज्य मानेको थियो । जनवादी गणतन्त्र चीनले चीनको प्रतिनिधित्व गरिरहेको थिएन र कोमिङताङलाई चीन मानिएको थियो ।
भारतीयहरूलाई पश्चिमाको समर्थन थियो किनभने सबैले चीनलाई अवैध राज्य मानेका थिए । त्यही भएर भारतले आफूमाथि चीनले हमला गरेको भन्ने बित्तिकै पश्चिमा देशहरूले विश्वास गरिहाले ।
ग्लोबल टाइम्सः चीन र भारत सिमानाको सिक्किम खण्डबारे सन् १८९० मा बेलायत र चीनबीच सिक्किम र तिब्बतको सिमानाबारे भएको सीमा सन्धिमा प्रष्ट व्याख्या गरिएको छ । भारत स्वतन्त्र भएयता पनि भारत सरकारले पटक–पटक लिखित रूपमा चीनसँग उसको सिमाना सिक्किम खण्डसँग जोडिएको सीमाना नै भएको स्वीकारेको छ । तर यो पटक भारतीय सशस्त्र बल त्यही क्षेत्रबाट चीनमा प्रवेश ग¥यो । आफ्नो क्षेत्रमा चीनले सडक बनाएको भन्दै भारतीय सशस्त्र बलको चीन प्रवेशलाई सही ठह¥याउनज खोजिएको छ । साथै चीनले अहिले बनाएको बाटो सिलिगुरी कोरिडर नजिक भएको भन्दै उनीहरू आफ्नो चिनियाँ भूमि प्रवेशलाई सही ठह¥याउन खोजिरहेका छन् । तपाईको बुझाई के हो यो विषयमा ?
मेक्सवेलः त्यो स्वीकार्य व्याख्या हुन सक्दैन । चीनले अझ आक्रामक रूपमा प्रतिक्रिया दिएको भए पनि त्यो आश्चर्यको विषय बन्ने थिएन । त्यो चिनियाँ भूमिमा घुसपैठ नै हो । तर त्यसलाई सैनिक द्वन्द्वमा बद्ल्न दिनु हुन्न । मलाई लाग्छ, यो विषयले दुई देशबीच लडाईसमेत भड्काउन सक्छ । तर मेरो विचारमा दुवै पक्षमध्ये कोही पनि युद्ध भोग्ने पक्षमा भने छैनन् ।
ग्लोबल टाइम्सः हजारौं वर्षदेखि चीन र भारतबीच धेरै–धेरै विवाद र द्वन्द्व हुँदै आएका छन् । कहिलेकाहीं त लडाई पनि भए ।
मेक्सवेलः तर सौभाग्यवश कसैले पनि ट्रिगर भने दबाएको छैन ।
ग्लोबल टाइम्सः तर यो पटक घटना अलि फरक छ किनभने अहिलेको विषयमा दक्षिण एसियाको एउटा सानो देश भुटान पनि संलग्न छ ।
मेक्सवेलः मलाई लाग्दैन कि त्यो महत्वपूर्ण पक्ष होइन । मूल कुरामा परिवर्तन बिना त्यो निकै सामान्य परिवर्तन मात्र हो । सारमा अहिलेको द्वन्द्व भारत र चीनबीचको द्वन्द्व नै हो । भुटान त भारतको कठपुतली हो ।
भुटानले आफ्ना दुवै विशाल छिमेकीहरू भारत र चीनसँग राम्रो सम्बन्ध राख्न चाहनु स्वाभाविक हो । भुटानको चीनसँग कुटनीतिक सम्बन्ध छैन किनभने भारतले उसलाई चीनसँग कुटनीतिक सम्बन्ध राख्न अनुमति नै दिएको छैन । भुटानभित्रै भारतीय सेना राखेर भारत सरकारले भुटानमाथि नियन्त्रण जमाएको छ ।
ग्लोबल टाइम्सः भुटानमाथि नियन्त्रण गर्न भारतसँग के कुनै अन्तर्राष्ट्रिय कानुनी आधार छ ?
मेक्सवेलः अहँ छैन । तर भुटानभित्र भारतका पन्ध्र हजार फौज छन् र उनीहरूमार्फत भारतले भुटानमाथि कब्जा जमाएको छ ।
भुटानमा नै भारतीय सेना छ । भुटानले यो विषयमा संरा सङ्घमा उठाउन सक्दछ र उजुरी गर्न सक्दछ । तर उनीहरू त्यसो गर्दैनन् । भुटानीहरू चुपचाप भारतीय प्राधिकार सहेर बस्न बाध्य छन् । उनीहरूसँग अर्को विकल्प छैन ।
ग्लोबल टाइम्सः दोक्लाम क्षेत्रमा भइरहेको सैनिक आमनेसामनेलाई ध्यानमा राखी चीनलाई भारतसँग कस्तो व्यवहार गर्न सुझाव दिनुहुन्छ ?
मेक्सवेलः धैर्यता र तर्क । भारतलाई यो विषय चीनको लागि ज्यादै महत्वपूर्ण विषय हो भन्ने कुरा बुझाउनुपर्दछ । यदि भारत सरकारले द्वन्द्व थप उछाल्ने तरिकाबाट अघि बढ्दैन भने चीनले धैर्यता कायम राख्नुपर्दछ र राम्रो परिणाम आउने आशा गर्नुपर्दछ । यो विषयलाई सालिन तरिकाले समाधान गर्नतिर जानुपर्दछ । अहिलेको अवस्था खतरनाक अवस्था हो भन्ने कुरा पनि प्रष्ट बनाउनुपर्दछ ।
ग्लोबल टाइम्सः वर्षौ–वर्षसम्म चीनले कहिले पनि भारतलाई आफ्नो प्रतिस्पर्धी र शत्रुको रूपमा हेरेको पाइएन । चीनले सधैं भारतलाई आफ्नो मित्रको रूपमा लिएको छ किनभने भारत र चीन दुवै तेस्रो विश्वका देशहरू हुन् । तर भारतले सधैं चीनलाई ‘होइन म तिम्रो शत्रु नै हुँ’ भन्दै गरेको देखिन्छ ।
मेक्सवेलः किनभने भारतीय जनतालाई सन् १९६२ मा चीनले उनीहरूमाथि हमला गरेका भनी गलत सन्देशलाई विश्वास गर्न लगाइएको छ । जब कि सत्य भने अरू नै केही छ । तर भारतीयहरू अझै त्यो सत्यलाई विश्वास गर्दैनन् । उनीहरू अझै आफू सन् १९६२ को पीडित पक्ष भएको विश्वास गरिरहेका छन् ।
ग्लोबल टाइम्सः भारतभन्दा चीन बलियो छ । चीन र भारतबीच अर्को लडाई भए त्यो निकै विध्वंसकारी हुने पक्का छ । तर चीनले नै त्यो लडाई जित्नेछ किनभने चीन बलियो देश हो । तपाईको विचार के छ ?
मेक्सवेलः यो कुरामा म सहमत छु तर भारतीयहरू सहमत छैनन् ।
ग्लोबल टाइम्सः भारतीयहरू निकै आत्मविश्वासी भएको देखापर्दछ । उनीहरूमा यो आत्मविश्वास कहाँबाट आएको जस्तो लाग्छ ?
मेक्सवेलः गौरव, आफ्नो देशको शक्तिप्रतिको गौरव ।
तर जे भए पनि यी दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध आवश्यक छ । दुःखको कुरा भारतीय जनतालाई चीनप्रति शत्रुको रूपमा हेर्ने गलत दृष्टिकोणले दोहो¥याइएको छ ।
ग्लोबल टाइम्सः दक्षिण एसियामा भारतको प्रभाव दक्षिणपूर्व एसियामा चीनको प्रभावभन्दा बलियो छ । तपाईको विचारमा दक्षिण एसियामा भारतीय शक्तिको स्रोत के हो ?
मेक्सवेलः उसको आकार, उसको आर्थिक प्रभुत्व र सारमा त्यो क्षेत्रमा भारत सबभन्दा ठूलो सैनिक शक्ति हुनु नै यो शक्तिको स्रोत हो भन्ने मेरो अध्ययन छ ।
स्रोत ग्लोबल टाइम्स(२०१७ अगस्त १७)
नेपाली अनुवादः नीरज
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




