नेकपा एमालेका नेता माधव कुमार नेपाल हालसालै उत्तर कोरिया पुगेर फर्किएका छन् । अमेरिकालाई आणविक युद्धको धम्की दिएको उत्तर कोरियामा जनताको जनजीवन कस्तो छ ? त्यहाँका नेताहरु कसरी सोचिरहेका होलान् ? यसबारे सेतोपाटीले लिएको अन्तर्वार्ताको सम्पादित अशं :

उत्तरकोरिया र अरू मुलुकबीच तनाव बढिरहेको बेला तपाईं उत्तरकोरिया जानुभयो। क्षेप्यास्त्र परिक्षण, अन्तर्राष्ट्रिय नाकाबन्दी चलिरहेकै बेला तपाईं किन जानुभएको हो?

पहिलो कुरा, यो अपर्झट तय गरिएको भ्रमण होइन। अहिलेको तनावसँग यसको कुनै सम्बन्ध छैन। प्रत्येक पाँच वर्षमा हुने कार्यक्रममा भाग लिन म गएको हुँ। २०१२मा पनि भएको थियो, २००७, २००२ र १९९७ पनि भएको थियो।

दोस्रो, यो निम्तो मलाई धेरै पहिले नै आएको थियो। ‘इन्टरनेसनल एसोसियएसन अफ पार्लियामेन्टरियन्स फर पिस’ भन्ने शान्तिका लागि काम गरिरहेको संस्थाले मलाई उत्तरकोरिया जान आग्रह गर्यो। ‘इन्टरनेसनल कन्फेरेन्स अफ पोलिटिकल पार्टीज्’का अध्यक्ष तथा मेरा मित्र होसेदो भेनिसियाले पनि मलाई आग्रह गरे। यो संस्थाको म संस्थापक पनि हुँ। द्वन्द्व भइरहेको यो ठाउँमा शान्तिको प्रयास थाल्न सकिन्छ कि भन्ने उनको आशय थियो।

शान्ति कुनै एउटा पक्षको चाहनामात्रै होइन, आम मानव जातिको चाहना हो। सबै तमासामात्रै हेरेर बस्ने तर पहलचाहिँ कसैले नगर्ने हो भने संसारमा कहीँ पनि शान्ति सम्भव छैन। लामो समयदेखिको मेरो सम्बन्ध त्यहाँ रहेको हुनाले उहाँहरूले मलाई आग्रह गर्नुभएको हुनसक्छ।

तपाईंको उत्तर कोरियासँगको सम्बन्ध कहिले देखिको हो?

म सन् ११९३को अक्टोबरमा पहिलो पटक प्योङयाङ गएको थिएँ। त्यहाँ किम इल सङसँग भेट भएको थियो। उहाँले हामीलाई ‘लन्च’ दिनुभएको थियो। उहाँसँग लामो वार्ता भयो। उहाँले आफ्नो लामो अनुभव बताउनु भयो।

कसरी कोरियालाई खुलापन तिर लैजादैछौं, चीनको आर्थिक विकासबारे कसरी अध्ययन गर्दैछौं भन्ने उहाँले सुनाउनु भएको थियो। कोरियाली प्रायद्वीपमा कसरी शान्ति कायम गर्ने र दुई कोरियाको एकिकरणको प्रयास कसरी अघि बढाउने भन्ने पनि उहाँको सोच थियो। उहाँले संघीय खाकाको परिकल्पना पनि गर्नुभएको थियो।

उत्तर काेरियाले भाैतिक विकासमा गरेकाे चमत्कार

यसपछि १९९६ र १९९८मा पनि म गएको थिएँ।

सङसँग तपाईंको फेरि भेट भयो?

सङसँग मेरो दोस्रो भेट हुन सकेन। १९९४मा नोभेम्बर महिनामा हामीले नेपालमा सरकार बनायौं। ११९३को भेटमा मैले नेपालमा चुनाव हुँदैछ र अबको सरकार हामीले बनाउने सम्भावना छ भनेको थिएँ।

उहाँ बहुत खुशी हुनुभएको थियो। राजा भएको देशमा कम्युनिष्ट पार्टीले सरकार बनाउने निकै रोचक छ र मैले त्यो सम्भावना देखिरहेको छु भन्नुभएको थियो। राजासँग मिलेर जान सजिलो हुन्छ भन्नुभएको थियो। नरदोक सिंहानुक लामो सम्बन्धबाट उहाँलाई त्यस्तो लागेको रहेछ।

मलाई थकथक पनि लाग्छ, नोभेम्बरमा हामीले सरकार बनाउनुअघि त्यही वर्ष जुलाइमा उहाँको निधन भयो।

सङका छोरा किम जोङ इलसँग पनि भेट भएको थियो?

भेट भएन, उनका छोरासँग पनि भेट भएन। उनका नाती किम जोङ उनसँग पनि भेट भएको छैन। यसपटकको भ्रमणमा पनि उनीसँग भेट भएन।

यसपाली त्यहाँका राष्ट्रपतिसँग भेट भयो। त्यहाँ अहिले राष्ट्रपति बेग्लै हुनुहुन्छ, प्रेसिडेन्ट अफ द सुप्रिम एसेम्बली। उहाँ सुप्रिम लिडर किम जोङ उन पछिको दोस्रो दर्जाको नेता हुनुहुन्छ। पार्टीका उपाध्यक्षद्वयसँग पनि भेट भयो। अरू तीनजना महत्वपूर्ण नेताहरूसँग भेट भयो। जसमध्ये एकजना मन्त्री हुनुहुन्छ, एकजना पार्लियामेन्ट्री फ्रेन्डसिप कमिटी अध्यक्ष हुनुहुन्छ। उहाँहरू लगायत महत्वपूर्ण नेताहरूसँग भेट भयो।

त्यहाँ गएर मैले शान्तिको हाम्रो अनुभव र सन्देश पुर्याएँ। बुद्धको जन्मभूमिकाबाट संसारमा जाने भनेकै शान्तिको सन्देश हो। नेपालले संसारलाई दिने भनेको दुई कुरा छ- प्रजातन्त्रको नयाँ नमुना हामी दिनसक्छौं र अर्को शान्ति प्रकृयाको आफ्नो अनुभव बाँड्ने हो।

त्यसैले मेरो उत्तर कोरिया भ्रमणलाई अन्यथा रूपमा कसैले लिनु जरूरी छैन। बरू खुशी केमा हुनु पर्छ भने ‘ट्र्याक टु’ पनि सुरु भयो, ‘ट्र्याक थ्री’ पनि सुरू भयो। राजनीति ट्रयाक वनले मात्रै चल्दैन।

यहाँ म पार्टीको प्रतिनिधित्व गरेर गएको हुँ कि भन्ने पनि प्रश्न उठेको छ। म पार्टीको प्रतिनिधित्व गरेर गएको होइन। नेपालको परराष्ट्र मन्त्रालयले नजानु भनेको कुरा अवज्ञा गरेर म गएको होइन। सरकारलाई थाहै छैन भन्ने पनि होइन। दक्षिण कोरियाका राजदुतले परराष्ट्र मन्त्रालयमा सामान्य चासोचाहिँ राख्नुभएको रहेछ। त्यो स्वभाविक हो। त्यसैले यसलाई अन्यथा लिनु पनि हुँदैन। द्वन्द्व देख्यो कि डराएर भागिहाल्नु पनि हुँदैन।

उत्तर काेरियाले भाैतिक विकासमा गरेकाे चमत्कार

तपाँईको उत्तर कोरियासँग लामो सम्पर्क छ। अरु कसैले पनि तपाईलाई उत्तर कोरिया जान आग्रह गर्नुभएको थियो ?

दक्षिण कोरियाका कतिपय मित्रहरुले मलाई भन्नुभएको थियो। उहाँहरूको चाहना युद्ध रोकेर वार्ता र संवादको सुरूवात गर्न सकियोस् भन्ने हो। विश्वासको वातावरण बनाउने उहाँहरूको चाहना हो। यो सम्भव छैन भने पनि त कोशिश त गर्नुपर्यो नि। सन्देश त पुर्याउनु पर्यो। त्यो काम मैले गरेको हुँ।

अन्तरराष्ट्रिय शान्तिका क्षेत्रमा काम गर्ने अर्को एउटा संस्थाले पनि मलाई यस्तो आग्रह गरेको थियो। अमेरिकाको सो संस्थाको उपाध्यक्ष अमेरिकी कंग्रेसम्यान हुनुहुन्छ, उहाँले पनि मलाई आग्रह गर्नुभएको थियो।

नेपालको अनुभवबाट संसारलाई लाभ हुन्छ र मेरो व्यक्तित्वबाट कसैलाई लाभ हुन्छ भने मैले यो गर्नुपर्थ्यो। त्यहाँको नेतृत्व समक्ष सन्देश पुर्याउन सकिन्छ भनेर म गएको हुँ। शान्तिका लागि लागेको र शान्ति स्थापनाको विज्ञता हासिल गरेको नेपालको अनुभव यहाँ काम लाग्छ। यसलाई कसैले अन्यथा लिनु जरूरी छैन।

उत्तर कोरियाली नेताहरूसँग भेट हुँदा अहिलेको तनावको बारेमा पनि कुरा भयो?

अहिलेको तनावको विषयमा उहाँहरूको एउटा प्रश्न छ- न्युक्लियर हतियार हामी सानो देशले राख्न किन नपाउने र ठूला र शक्तिशाली देशले मात्रै किन राख्न पाउने? के तर्सेर बस्ने मात्रै नियती हो हाम्रो? हामीलाई किन तर्साउने? तर्साएपछि हामीले त्यसको प्रतिवाद गर्नुपर्छ भन्ने उहाँहरूको भनाई छ।

मैले कुटनीतिक भाषामा उहाँहरूलाई भनेको छु- आफूले गरिरहेको काम जसलाई पनि राम्रो लाग्छ। अरूको कुरा सुन्नु, सुझाव लिनु राम्रै हुन्छ भनेको छु।

उत्तरकोरियाका नेताहरू साँच्चिकै युद्धमा जान चाहिरहेका छन् अथवा शान्ति प्रकृया फेरि सुरु भए हुन्थ्यो भन्ने छ?

यो इगोको लडाइँ बडो खतरनाक हुन्छ। यो इगोलाई त्याग्ने हो भने अब शान्ति सहज पनि हुन्छ।

मैले त आफ्नो कुरा भनेर आएको हुँ। तर शान्तिप्रकृयालाई केन्द्रमा राखेर छलफल गर्न म गएको थिइनँ। मेरो मुख्य विषय त्यो थिएन। मैले आम भावना सम्प्रेषण गरेर आएको हुँ। उहाँहरूसँग जति बढि अन्तरक्रिया हुन्छ, एकअर्कालाई विश्वास गर्ने वातावरण त्यति नै राम्रो बन्दै जान्छ। त्यति नै उहाँहरूले अरूका कुरा सुन्ने वातावरण बन्दै जान्छ।

अहिलेको तनावको छायाँ उत्तरकोरियाली नेताहरूमा, त्यहाँका सर्वसाधारण मानिसहरुमा थियो कि थिएन ?

त्यहाँ वातावरण रिल्याक्स देखेँ मैले। सर्वसाधारण मानिसमा पनि कुनै त्रास थिएन। मलाई लागेको थियो, त्यहाँ त्रास होला। मलाई कसैले तर्साइरहेका थिए। म त्यहाँ भएकैबेला कसैले न्युक्लियर हान्दिने हो कि पनि भन्दै थिए। तर म गएँ।

तपाईं प्योङयाङ बाहिर पनि जानुभएको छ?

म यसपटक प्योङयाङबाहिर गइनँ। तर, अघिल्ला भ्रमणहरूमा गएको छु। त्यहाँको विश्वविद्यालयय लगायत घुमेको छु। उहाँहरूलाई मैले ‘आइसोलेसन’मा नबस्न आग्रह गरेको छु। कोरियाको बारेमा संसारभरिका मानिसको धारणा राम्रो छैन, कोरिया त मगन्तेको देश हो भन्ने मानिसको दिमागमा छ। यो राम्रो कुरा होइन। अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क बढ्यो भने मात्रै यो धारणामा परिवर्तन ल्याउन सकिन्छ भनेको छु।

नेपाली र संसारलाई उत्तर कोरियाको अवस्था बारे थाह छैन। भौतिक पूर्वाधार, विकास, जनजीवन हेर्दा उत्तर कोरियाको अहिलेको अवस्था कस्तो छ?

११९६ मा म त्यहाँ जाँदा ठूलो बाढी र बाढीपछि लामो खडेरी परेर निकै समस्या भएको थियो। उनीहरू ठूलो खाद्यसंकट सामना गरेका थिए।

यसपटक मैले त्यस्तो देखिनँ। फलफुल र तरकारी निकै राम्रो छ। धेरैतिर फलफुल र तरकारी खेती भएको मैले देखेँ। भौतिक प्रगति पनि गज्जब छ। उनीहरु चिनियाँ जस्तै तिब्र गतिमा काम गर्न सक्ने रहेछन्।

एक वर्षभित्र उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छन्। ९ महिनाभित्र एउटा ‘स्याटलाइट सिटी’ तयार गरेका छन्। एक वर्षभित्र अत्याधुनिक आँखा अस्पताल बनाएका छन्। त्यहाँको ‘फन पार्क’ म हेर्न गएँ, एक साथमा पचास हजारदेखि एक लाख मान्छे त्यहाँ जाने गर्छन्। त्यो पनि उनीहरुले एक वर्षभित्र बनाए।

मलाई त यसपाली उत्तर कोरियामा त्रासैत्रास होला भन्ने थियो तर त्यहाँ फनपार्कमा त मानिसहरू मासु पोल्दै खाँदै परिवारसँग रमाइरहेको बडो रमाइलो दृश्य देखिन्थ्यो। अहिले राजधानीमै एकसय पाँच तले होटल बन्दै छ। एउटा ५५ तले होटलको कफि हाउसमा म गएको थिएँ, त्यहाँबाट पुरै प्योङयाङ हेर्न सकिन्छ।

यहाँको सार्वजनिक यातायात पनि असाध्यै राम्रो छ। प्योङयाङमा ट्रलिबस चल्छ, ट्राम चल्छ। अण्डरग्राउण्ड रेल्वे छ, डबल डेकर बस छ। जब कि त्यहाँको जनसंख्या काठमाडौं उपत्यकाको जति पनि होइन। सडक पनि यहाँका चौडा र सफासुग्गर भएका छन्। ८ लेन, ६ लेन, ४ लेनका सडक बनाएका छन्। ‘ग्रिनरी’ पनि व्यापक छ।

उनीहरूले विज्ञान र प्रविधिमा पनि राम्रो विकास गरेका छन्। विज्ञान र हातहतियारका लागि उनीहरूले धेरै ठूलो स्रोतसधान खर्च गरिरहेको देखिन्छ। यसलाई विकास निर्माण र उत्पादनमा लगाउन सक्ने हो भने विकासको गति अझ बढ्छ।

अब युद्धतिर होइन, शान्ति र विकासतिर जाने हो भने उत्तर कोरियाले साँच्चै नै अचम्मको प्रगति गर्न सक्छ। त्यसैले अब कसरी हुन्छ, सबैले युद्ध रोकेर शान्तितिर फर्कन जरूरी छ। यसैबीच रूस र चीनले केही प्रस्ताव गरेका छन्। यो प्रस्तावलाई अमेरिका र उत्तरकोरिया दुवैले अस्वीकार गरेका छन् भन्ने सुनिएको छ। यस्ता प्रस्ताव आउनु र छलफल अगाडि बढ्नु आवश्यक छ।

अलिकति खुलापन, अलिकति नीजि स्वामित्व, अलिकति अन्तर्राष्ट्रिय सम्पर्क बढाउने हो भने त्यहाँ आर्थिक विकासको दर धेरै नै बढ्न सक्छ।

किम इल सङले तपाईंसँग जसरी बिस्तारै उत्तर कोरियालाई खुलापन तिर लैजाने भन्नुभएको, त्यो सम्भावना भने अब रहेन, होइन?

त्यस्तो सम्भावना अहिले तत्काल देखिँदैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार