माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहुति माओवादीभित्र एक बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनले हालै एक मिडियामा दिएको अन्तर्वार्तामा नेपालमा कम्युनिस्ट पार्टी नै नरहेको तर्क दिएका छन् । आहुतिले कसरी कम्युनिस्ट पार्टी नरहेको अभिव्यक्ति दिएका छन् त ? यसबारे नेता आहुतिले गत असोज २१ गते ‘मेरो अनलाइन टिभि’ का लागि दिएको अन्तर्वार्ता सार संक्षेपमा सम्पादन गरी यहाँ प्रस्तुत गरिएकाे छ। – सम्पादक)

तपाईंलाई के लाग्छ, यो नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा गइराखेको छ ? नेपालमा सच्चा कम्युनिष्टहरु छन् त, अझै बाँकी छन् त ?
आधारभूत रुपमा मैले भन्ने गरेको के हो भने, नेपालमा पार्टीको रुपमा र संगठित शक्तिको रुपमा चाहिँ कम्युनिष्ट पार्टी छैन अहिले । तर कम्युनिष्टहरु छन्, विभिन्न पार्टीहरुभित्र रहेका कम्युनिष्टहरु छन् । कुनै पार्टीमा धेरै छन्, कुनै पार्टीमा कम छन् । कम्युनिष्ट पार्टी नै बनाएर अगाडि बढ्नुपर्छ भन्ने आम बौद्धिकहरु पनि छन्, जनता पनि छन् र कम्युनिष्टलाई मनपराउने विशाल जनमत, संसारमा कहीँ नभएको जनमत नेपालमा छ । हामी त माओवादी केन्द्रभित्र पनि लगातार छलफल गरिराखेका छौँ कि आजको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी अब कसरी बनाउने ? हाम्रो एउटा मूल एजेण्डाभित्र छ त्यो ।
हामी यो चुनाव सकेर महाअधिवेशनतिर जाने बेलामा महाबहस सृष्टि गरेर हामीले कम्युनिष्ट आन्दोलन आजको आवश्यकता अनुसारको बनाउनुपर्छ, किनकि हिजोको आवश्यकता अनुसारको बनाउँदै बनाउँदै यहाँसम्म आइयो र यति उपलब्धि भयो । अबको आवश्यकता अनुसारको बनाउनुपर्छ भन्ने त हाम्रो बहस नै छ । मैले त्यही त भन्दै छु, पार्टी एकताका सन्दर्भमा पनि त्यही महाबहसको ठूलो भुमरीभित्र हामी छिर्नैपर्छ । र त्यहाँबाट नयाँ ढंगको आजको आवश्यकता अनुसारको कम्युनिष्ट आन्दोलन निर्माण गरेर जानुपर्छ ।
त्यो सम्भव चाहिँ तपाईं देख्नुहुन्छ फेरि पनि ?
अर्को विकल्प के छ र ? संसारमा दुईवटा विचारधाराहरु छन् । एउटा प्रत्ययवादी, वा हामीले आदर्शवादी भन्दै आएका छौँ, अर्को मार्क्सवाद छ । ८ हजार वर्षदेखिको यो वर्ग समाजको हल कसले गर्छ ? आज अरबौँ अरब मानिसहरु भोकभोकै छन् । आज अरबौँ अरब मानिसहरुलाई विश्व साम्राज्यवादले मेशिन बनाइदिएको छ । मेशिनले के गर्छ ? तेल खान्छ, विजुली खान्छ, सामान उत्पादन गर्छ । तर मेशिनले आफ्नो बारेमा सोच्दैन, आफ्नो समाजको बारेमा सोच्दैन । त्यस्तो मान्छे बनाउँदैछ साम्राज्यवादले । यसले संसारको धेरैभन्दा धेरै दोहोन गरेर खोक्रो बनाउँदैछ संसारलाई
तपाईंहरु त्यसको विरुद्धमा हुनुहुन्छ ?
सिंगो मानवसमाज त्यसको विरुद्धमा छ । त्यसको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्छ । ८ हजार वर्षको वर्ग समाजसँग लडेको हामी पौने दुई सय वर्ष मात्र भयो ।
तर विश्वबाट कम्युनिष्टहरु विस्तारै पलायन हुँदै गइराखेको छ नि ?
यो कुरा त लेनिनको पालामा पनि भनिएको हो, सिद्धियो मार्क्सवाद भनेर । किनकि सिद्धियो भनेपछि सिध्याउन सकिन्छ भन्ने उनीहरुलाई लागेको छ । तर यो त्यस्तो चिज होइन, यो विचारधाराको कुरा हो । यो मानवमुक्तिको कुरा हो, यो पर्यावरणलाई, पृथ्वीलाई जोगाउने कुरा हो । त्यसकारणले मार्क्सवादी आन्दोलन, कम्युनिष्ट आन्दोलन कहिले सेलाउँछ र ? मैले भनिहालेँ नि, ८ हजार वर्षको वर्ग समाजको विरुद्ध हामी लडेको १ सय ७० वर्ष भयो । १ सय ७० वर्षमा कुनै धर्मभन्दा पनि छिटो, तीव्र गतिमा संसारलाई यसले एकचोटी निल्यो ।
८ हजार वर्षको निम्ति पौने दुई सय वर्ष भनेको ९ महिनाको शिशु जस्तो हो । ९ महिनाको शिशु लड्यो भनेर रुनु भनेको उसले हिँड्न नसिकोस् भनेको हो । ९ महिनाको शिशु लड्छ, उठ्छ, लड्छ, उठ्छ र अनि मात्रै ऊ युवा हुन्छ । कम्युनिष्ट आन्दोलन विश्वमा युवा हुन नै बाँकी छ । त्यसकारणले यो हराउँछ भन्ने कुरा होइन । यो नयाँ ढंगले अगाडि आउँछ भन्ने कुरा चाहिँ हो ।
सबै मानिसको व्यक्तिगत सम्पत्ति त उस्तै–उस्तै लेभलको हुनुपर्छ भन्ने तर्क त गर्नुहुन्छ नि, होइन ?
त्यो त हुनैपर्छ नि । त्यो भएन भने त शोषण हुन्छ नि त । एकजनासँग सम्पत्ति बढी हुने, अर्कोसँग कम हुने । सम्पत्ति त प्रकृतिले दिएको हो नि । उसले जन्मिँदै लिएर आएको होइन ।
व्यक्तिगत सिपले त फरक पार्छ नि । कोही मानिस चाहिँ धेरै कमाउने खालको नहोला ?
त्यसो हो भने यसो गरौँ । किसानहरुलाई सबैलाई मार्दिऔँ । उनीहरु नभएको संसार चलाऔँ न त, पुँजीपति मात्र भएको संसार चलाऔँ । चल्छ ? चल्दैन । एउटा इन्जिनियरको खास बेलामा किसानको भन्दा बढी भूमिका हुनसक्छ । तर किसानको खास बेलामा इन्जिनियरको भन्दा बढी भूमिका हुन्छ । ती दुईवटै समाजको निमित्त चाहिन्छ नि त । त्यसो भएर उनीहरुले गर्ने श्रम सबै सम्मानित हुनुपर्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




