भारतको माओवादी आन्दोलन ५० वर्षअघि नक्सलवाडी आन्दोलनको निरन्तरतामा निर्माण भएको अहिलेको शक्तिशाली माओवादी आन्दोलन हो । आज यो आन्दोलनले भारतको ठूलो भागमा प्रभाव जमाएको छ । नक्सलवाडी आन्दोलनले ५० वर्ष पार गरेको सन्दर्भमा भाकपा माओवादी निकट बुद्धिजीवि वरवर रावसँग मुम्बई मिररले लिएको महत्वपूर्ण अन्तर्वार्तालाई नेपालीमा जनमेलले अनुवाद गरेको छ । त्यसको बाँकी अशं ।

आधा शताब्दी बितिसकेको छ, नक्सलबाडी आन्दोलनले आरम्भ गरेको सपना पूरा भएको छ त ?
राव : छैन, परन्तु आरम्भमा यसले केही धक्का खाए पनि अहिले यो निकै अघि बढेको छ । नक्सलबाडी एउटा गाउँको नाम थियो, तर यसले हरेक मान्छेको गाउँको प्रतिनिधित्व गर्यो । यो पदावली हाम्रो भाषाको एउटा अङ्ग बन्यो । नक्सलबाडी र खरिबाडीका आदिवासीहरूको शक्तिको उद्घोष दावानल बनेर फैलियो । उनीहरूले आफ्नो भूमिमाथिको अधिकारको दावा गरे । त्यो उद्घोष वैकल्पिक राजनीतिक विचारको अङ्ग बन्यो ।
आन्दोलन संसदीय व्यवस्थाको खारेजीबाट आरम्भ भएको थियो र यसले त्यसको साटो जनकेन्द्रित राजनीतिलाई अघि सार्यो । अहिले यो आन्दोलनले मुलुकको पूर्वी र मध्यभागको जङ्गली क्षेत्रहरूमा आधारइलाकाहरू निर्माण गरेको छ । पुलिस र गुन्डाहरूको रेखदेखमा रहेको जमिनदारहरूको जग्गा कब्जा गरेर जनताले सहकारी संस्थाहरूको निर्माण गरेका छन् । बितेका १३ वर्षदेखि बस्तरमा आदिवासी, दलित र साना किसानहरूको संयुक्त मोर्चाका रूपमा जनता सरकारका रूपमा वैकल्पिक राजनीतिको अभ्यास हुँदैआएको छ । यो वल्र्ड ब्याङ्कजस्ता ब्याङ्कहरूको सहयोगबिना आफ्नै किसिमको सरकारी कोषबाट सञ्चालित हुन्छ । यसले ती क्षेत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरू र ठूला व्यापारिक घरानाको पुँजीको विस्तारलाई रोकेको छ । विश्वको इतिहासमा यस किसिमको दीर्घकालीन सशस्त्र सङ्घर्षको उदाहरण अन्यत्र छैन ।
तर आन्दोलन जङ्गलमै बढी सीमित भयो ...
राव : जङ्गली र ग्रामिण क्षेत्रमा श्रम सस्तो पर्ने हुनाले पुँजीको लगानीकर्ताको चाहना त्यतातिर बढी भएकाले नै यसो भएको हो । बस्तरको जङ्गल क्षेत्रमा मात्रै २८ प्रकारका खनिज स्रोतहरू छन् । त्यसैले यो क्षेत्रमा पुँजीपतिहरू लगानी गर्न बढी रुचाउँछन्, अनि उनीहरूले जनप्रंतिरोधको सामना गर्नुपर्छ र त्यसलाई दमनद्वारा दबाउन खोजिन्छ । त्यसैले सङ्घर्ष यहाँ स्थानान्तरण भएको छ ।
जनताले आफूलाई लागेअनुसार गर्न पाइरहेका छन् र ? सुराकीका नाममा मान्छेलाई जथाभावी गोली ठोक्नु र बलजफती गर्नु नि ?
राव : जनतामाथि बलजफती गर्ने तथा मनपरी किसिमले हत्या गर्ने गरिन्थ्यो भने आन्दोलन यति लामो समयसम्म टिक्न सक्ने थिएन । माओवादीहरू आदिवासी जनताका माझ छन् । माओवादीहरू लामो समयसम्म उनीहरूबीच रहेर उनीहरूका सुखदुखका साथी भएका छन् । यति जोरजबर्दस्ती हुन्थ्यो भने यतिका समयसम्म सँगै रहने स्थिति कसरी बन्थ्यो र ?
जतिबेर आन्दोलन आरम्भ भएको थियो, भन्ने गरिन्थ्यो, दलित, आदिवासीहरू र पैतालाको धुलो हुन् । नक्सलबादीहरूले यो भनाइलाई उल्टाइदिए : “पैताला मुनिको धुलोले अहिले तपाईँको आँखालाई चुनौती दिइरहेको छ ।” के जोरजबर्जस्तीले यस्तो हुनसक्छ ?
माओवादी पार्टीमा महिलालाई यौनदासीका रूपमा लिइन्छ भनेर आरोप लगाइन्छ नि ?
रावः सबै पुलिसको प्रचारबाजी हो । बस्तरमा ५० प्रतिशतभन्दा बढी माओवादीहरू महिला छन् । दण्डकारण्यको महिला सङ्घमा एक लाखभन्दा पनि बढी महिला छन् । तिनमा सांस्कृतिक मोर्चासित सम्बद्ध मिलिसिया पनि छन् । यौनदासीका रूपमा व्यवहार गरिएको भए उनीहरू यत्रो औधी हुन्थे ? आन्ध्रमा कसैले बिहे गर्यो भने पहिलो रात जमिनदारकोमा आफ्नी श्रीमती पुर्याउनु पर्ने चलन थियो र यसको अन्त्य गराउनु सबैभन्दा ठूलो प्राप्ति थियो । यो सबै आन्दोलनले गरेको हो ।
तर यसका लागि कति मूल्य चुकाउनु पर्यो ? अहिंसात्मक जनआन्दोलन पनि त भएका छन्, जस्तो ‘नर्मदा बचाओ’ आन्दोलन ।
राव : तर ती आन्दोलनद्वारा के हासिल भएको चिज के हो ? आखिर बाँध त बनेरै छाड्यो । पचास वर्षको नक्सलबाडी आन्दोलनमा नक्सलबाडीबाट जनकारबाही गरिएका मान्छहरूको संख्याभन्दा कति हो कति बढी मान्छेहरू बुर्जुवा पार्टीहरू र सत्ताद्वारा मारिएका छन् । नेहरू शासनका पुलिसले तेलङ्ना र हैदरावादका कम्युनिस्टहरूका विरुद्ध, इन्दिरा गान्धीले अपरेसन ब्लु स्टारका विरुद्ध र त्यसपछि, १९८४मा राजिव गान्धीको शासनमा भएको सिख हत्याकाण्ड, नरसिंहा रावको समयमा भएको बाबरी मस्जिद काण्ड, गुजरातको नरेन्द्र मोदी साशनमा भएको सन् २००२ को कान्ड र अहिलेसम्म भएका काश्मिरका हत्याहरू हाम्रा सामु छन् । अनि भोपाल काण्ड, यस्तै अरू काण्ड र व्यवस्थाद्वारा गरिएका अनेक हिंसाहरूमा मारिने सङ्ख्याको टुङ्गो छैन । यसरी पनि हेर्नुपर्छ ।
नक्सलबाडी आन्दोलनले पहिलो चरणामा आदर्शवादी युवा पुस्ता समेटेको थियो, जसले आन्दोलनका लागि सबै कुरा समर्पण गरेको थियो । के अहिले पनि यसो भइरहेको छ ?
राव : हो, अलग तेलङ्गनाका लागि लडेका धेरै युवाहरू पछि माओवादीहरूसित जोडिएका थिए । तीमध्ये केटाकेटीदेखि नै कुशाग्र र सबैभन्दा चर्चित पात्र विवेक थिए, जो कानुनको पढाइ छाडेर जङ्गल पसेको थियो । ऊ १९ वर्षको उमेरमा सन् २०१५ मा एउटा मुठभेडमा मारिएको थियो । वास्तवमा, यो नै राज्यको सबैभन्दा डरको विषय भएको छ । सत्ताका प्रहरीहरूले ले पनि आन्दोलनसित सम्बद्ध नयाँ पुस्तालाई छानीछानी बढी दमन गरेको छ र योजनाहरू बनाएको छ ।
तपाईँको चुनाव वहिष्कार आन्दोलन पूर्णतया असफल भएको छ । नियमित रूपमा चुनाव हुनुलाई हाम्रो प्रजातन्त्रको सबैभन्दा ठूलो सफलताका रूपमा हेरिएको छ ।
रावः बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ । भर्खरै काश्मिरमा भएको चुनावमा ६ प्रतिशत मत खसेको थियो । सामाजिक जीवनमा बिम्ब (आइकन) नै बनेकी शर्मिला इरोमले पाएको भोट ७२ मात्र थियो । यसलाई हेरेर पनि चुनावबारे धारणा बनाउन सकिन्छ । भोटका आधारमा प्रजातन्त्रको सफलताको कुरा नगरौं। भोट खसाल्ने धेरजसोमा पनि चुनावले आधारभूत समस्या हल गर्छ भनेर अलि कति पनि विश्वास छैन । जनताले संसदीय प्रजातन्त्रको भ्रमित राजनीतिलाई बुझेका छैनन् भन्ने होइन । संविधानले दिएको अधिकार र सुविधा पनि आदिवासीले पाएका छैनन् । असली प्रजातन्त्रको अभ्यास गर्न पाएका छैनन् । जल जङ्गल र जमिनमाथि उनीहरूको अधिकार पाउन सकेका छैनन् ।
असफलताहरू ?
राव : अझै पनि दलितहरू कृषि श्रमिकका रूपमै बढी व्यस्त छन्, उनीहरूमाथिको छुवाछुत विरुद्धको लडाईँ पुगेको छैन, उनिहरूलाई आवश्यक मात्रामा आन्दोलनसित जोड्न सकिएको छैन । मुस्लिम समुदायबीच काम गर्ने कुरामा पनि कमजोरी भएका छन् । कम्युनिस्ट पार्टीको संस्थापकमध्ये मुस्लिम पनि थिए । आज उनीहरूको यत्रो आवश्यकता छ, तर उनीहरू आन्दोलनबाट हराएका छन् । इस्लामबाट नै सबै समस्याहरू हल हुन्छन्, पुँजीबाद र साम्यवादबाट होइन भन्ने धार्मिक कट्टरवादी मुस्लिम नेताहरूको प्रभाव र पकडका कारण यसो भएको हो । आदिवासीहरू जसरी जनमुक्ति आन्दोलनमा सरिक भएका छन्, त्यसैगरी मुस्लिमहरूलाई पनि त्यो भ्रमबाट मुक्त गराउन सकिएला कि नसकिएला भनेर म सोच्ने गर्दछु ।
०००
(मुम्बई मिररका लागि ज्योति पुनवानीले यसै हप्ता गरेको कुराकानी)
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
श्रीलंकाली एमसीसी विज्ञ भन्छन्, ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी पारित गर्न अस्वीकार गर्यौ’
संसारको आजसम्मको इतिहासमा कुनैपनि महान् आन्दोलनहरु बिना रक्तपात भएको छैन : कार्ल माक्र्स(अन्तर्वार्ता)




