शनिबार चिनियाँ कम्युनिष्ट पार्टी पोलिटब्यूरोको बैठकले चीनका राष्ट्रपति र उपराष्ट्रपति दुई कार्यकालभन्दा बढी रहन नपाउने संवैधानिक प्रावधान हटाउने प्रस्ताव गरेपछि वर्तमान राष्ट्रपति सी चिनफिङले तेश्रो कार्यकाल पनि हाँक्ने छाँटकाँट देखिएको छ।

यस प्रस्तावले विश्वका प्रजातान्त्रिक भनिने मुलुक र त्यहाँका बुद्धिजीविहरूको चिन्ता ह्वात्तै बढाएको मात्रै छैन, ‘चीन अब निरंकुश कालमा प्रवेश गर्ने भयो’ भनेर टीकाटिप्पणी गर्नेहरूको पनि लस्कर लागेको छ। मार्च ३ देखि शुरू हुने चीनका दुई ठूला अधिवेशन अगावै यो कुरा सार्वजनिक गरिनुले विश्व समुदायलाई आलोचनाको अवसर पनि दिएको हुनसक्छ।

सामान्यतः आम नागरिकका लागि गास, वास, कपास, मनोरञ्जन र न्यूनतम् मानवीय आवश्यकताका कुराको पूर्ति हुनुजस्तो ठूलो अर्को हुँदैन। नेपालमा शाहीकाल हुँदाखेरि पनि प्रजातन्त्र छ, देश अनुसार प्रजातन्त्रको आफ्नै मोडल हुन्छ भन्थे। तथापि शाहीकालीन प्रजातन्त्र केही समयपछि नै उन्मूलन भएर गयो।

सन् १९४९ देखि जनगणतन्त्र शुरू भएयता विश्व समाजले चीनको विपक्षमै वकालत गर्दै आएको हो। तर पृथक् शैलीको चिनियाँ विशेषतायुक्त समाजवाद लिएर चीन झन् झन् समृद्धिको मार्गमा अघि बढिरह्यो र अब विश्व हाँक्ने दिशातर्फ उन्मुख भइरह्यो र पनि आलोचकहरूको मुखमा बुजो लागिसकेको छैन।

एक सारथीका रूपमा राष्ट्रपति सीको गरिबी र भ्रष्टाचार विरूद्धको ‘निरंकुशता’ यसरी बढ्दै गयो कि चीन दिनप्रतिदिन स्वच्छ र विकासको मार्गमा अझै वैज्ञानिक ढंगले अघि बढ्दै गएको मुलुकको रूपमा गनिँदै गयो।

सन् २०१३ मा सीले राष्ट्रपतिको पद सम्हालेयता वर्षेनी १ करोड जनता गरिबीबाट मुक्त भैरहेका छन् र सन् २०२० सम्ममा पुरै चीन पूर्णतः गरिबीमुक्त हुने अभियानमा छ। सीका नीतिका कारण चिनियाँको गुणस्तरीय जीवनशैली, सामाजिक सद्भाव, आर्थिक वृद्धि, स्थिरता, पर्यावरण संरक्षण, प्रविधि आविष्कार र विश्वव्यापी अडान निरन्तर बढ्दै गयो।

सीको ५ वर्षे कार्यकालको पटाक्षेप गर्दा ७० हजारभन्दा बढी पार्टीभित्रकै भ्रष्टाचारीहरू दण्डित भए। गलत गतिविधि गर्ने सहकर्मीमाझ उनको यो अनुदार रवैया अनुचित हो र? कब्जामा पारिएका टाइगरमध्ये केन्द्रिय कमिटीदेखि सामान्य सदस्य लगायत १.३४ मिलियन टाउनसीप र ग्रामीण तहका ६ लाख ४८ हजार पार्टी सदस्य तथा अधिकारीहरू रहे। विदेशतर्फ भगौडा भ्रष्टाचारीहरू समातिए र चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको सर्वेक्षणमा ९२.२ प्रतिशत सर्वसाधारणले भ्रष्टाचारविरोधी अभियानको प्रशंसा गरे।

जनताको दैनिक जीवनमा स्तरीय सेवा सुविधा, सामाजिक सद्भाव, हाइस्पिड रेल, शिक्षा–स्वास्थ्य–रोजगारीका पक्षमा सीले देखिने गरी काम गरे। विश्वसमुदायले पनि सीको चमत्कारको सिंहावलोकन गरिरहेको छ। उनका ५ वर्षका ५ मुख्य प्रगति गरिबी निवारण, पर्यावरण संरक्षण र हरित क्रान्ति, पुनःसंरचना, प्रविधि तथा पूर्वाधार विकास, भ्रष्टाचार विरोधी अभियान अविच्छिन्न चलिरहेको छ। अर्को १० वर्षमा अरू १० उल्लेख्य प्रगति पनि देख्न किन नसकिएला र?

चीन अझै खुल्दै जाने र विश्वका लागि ढोका खुल्लै राखेर विश्व विकासमा होमिने प्रतिवद्धता २ हजार २ सय ८७ जना प्रतिनिधिहरुमाझ पार्टीको १९औं महाधिवेशनका दौरान सीले राखिसके। सन् २०१९ मा जनगणतन्त्र चीन स्थापनाको ७०‌औँ वार्षिकोत्सव सम्ममा नयाँ विकास अवधारणा पछ्याएर दिगो आर्थिक तथा स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने, तेह्रौँ पञ्च वर्षीय योजनामार्फत् चौतर्फी विकासलाई प्रवर्द्धन गर्ने, यसै वर्ष चीनमा खुलापनको ४०औं वार्षिकोत्सव मनाउने तयारी गरे। बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बीआरआई) लाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरेको नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण र समग्र मानवजातीय एकरूपको भाग्य सिर्जनामा बल पुग्ने यत्न गरिएको छ।

सन् १९४९ मा जनगणतन्त्र चीनका संस्थापक माओ र खुलापनका प्रणेता तङ स्याउ फिङको मार्गचित्रबाट सी अघि बढ्दै नयाँ चीनलाई विश्वमञ्चमा डोर्याइरहेका छन्। साथमा विकास नपाएर छट्पटाइरहेको विश्व समुदायको साझा भाग्य निर्माणमा जुटिरहेका छन्।

विश्वका सन्की नेताहरूको भीडमा सी जस्ता शालीन र समझदार नेता हुनुले शान्ति तथा स्थिरतामा प्रेरणादायी भूमिका खेल्नेछ भने विकासप्रतिको इमान्दार छविले अझै विकासको उत्कृष्ट अभ्यास गरिरहनेमा दुईमत छैन।

सीको अगुवाईमा विश्वले निःसन्देह विकास प्रवाहमा होमिने अवसर पाउनेछ।

सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी उत्सव, सन् २०२० सम्म चौतर्फी सम्पन्न समाजको लक्ष्य, सन् २०१९ मा जनगणतन्त्र चीन स्थापनाको सत्तरी‌औँ वार्षिकोत्सवले सीलाई चिनियाँको प्रिय नेतामा दर्ज गर्नेछ। अति कम विकसित मुलुकहरूलाई समर्थन दिने, छिमेकीसँगको सम्बन्धलाई झन् मजबुत बनाएर रोग, भोक र शोकबाट उन्मुक्तिका लागि सहकार्य गर्ने, मैत्रीभाव जगाउने उनको मनशायले विदेशलाई शायदै पिरोल्नेछ।

सीको आगामी एजेण्डा विकासबाहेक विश्वको शासन हैन भन्ने त उनको भनाइ र गराइले चरितार्थ गर्दै गएको छ। समृद्धिको जुनसुकै उचाइमा पुगेपनि प्रभुत्ववाद नलाद्ने, आफ्नो विश्वव्यापी उदय शान्तिपूर्ण र अहस्तक्षेपकारी भएकाले सबै मुलुकले सुरक्षित महसुस गर्ने वातावरण बनाउन उनी लागिपरेका छन्। बीआरआईमार्फत् पूर्वाधार विकास, सम्पर्क, स्वतन्त्र व्यापार क्षेत्र, पर्यटन, साँस्कृतिक आदानप्रदान, जनस्तरको सम्बन्ध, समुद्री सिल्क रोड, प्राचीन रेशमी मार्गबाट एशिया, अफ्रिका लगायत अभावको दलदलमा फसेका मुलुकहरूलाई निकाल्न थोरै समयले भ्याइँदैन थियो। सय भन्दा बढी देश, क्षेत्र र संगठनलाई बीआरआईमा हस्ताक्षर गराएर विकासको मार्गचित्रमा समाहित गराउनु, उनीहरूसँग सहकार्य गर्नु र विश्वतर्फको उत्तरदायित्व देखाउनुले सीको व्यक्तित्व खुलस्त देखिन्छ।

कुनै पनि देश विकासका लागि उदार अधिनायकवादका पक्षपातीहरूले चीन अब निरंकुशताको बाटोमा जान लाग्यो भनेर आत्तिनु आवश्यक देखिँदैन। हुन त जनगणतन्त्र थालिएदेखि नै संसारले खतरासूचक आँखाले नहेरेको हैन, तैपनि चीन कसरी यति उदार हुँदै गयो? सीको तेश्रो कार्यकालको ढोका खुल्नुले उनको अभियान पूरा गर्नका लागि मार्गप्रशस्त गर्नेछ। संसारकै लागि हितकारी यी उदार शासकले चलाएको अभियान अरूबाट पूर्ण सम्पादन हुन्थ्यो कि हुन्थेन, के थाहा?

जब गरिबी, भ्रष्टाचार, अशान्ति, अस्थिरता, अविकासका विरूद्ध सीको कदम जारी रहन्छ भने दुनियाले निरंकुशताको जतिसुकै रंग छ्यापेपनि के फरक पर्छ र? जब जनता जनार्दन नै आफ्ना नेताको शासन शैलीबाट सन्तुष्ट हुन्छन् भने दुनियाले टाउको दुखाइरहनुको के तुक रहन्छ र? घरेलु र विश्वकै लागि नबिझाउने काम गरेपछि त कसैले उछित्तो काढ्नुको पनि अर्थ रहँदैन।

विश्व परिदृश्यमा घातक शासकहरूको पतन पो अपेक्षित हुन्छ तर सर्वजन हिताय संकल्पितको उपस्थिति त सदैव अपेक्षित नै हुन्छ। बाराक ओबामाको कार्यकालमा तुलनात्मक शान्त अमेरिकालाई डोनाल्ड ट्रम्पजस्तो शासक कहिले सत्ताच्युत होला भन्ने पनि लागिरहेकै होला। नेपालमा पनि अकर्मण्य शासकहरू कहिले गलहत्याइएलान् जस्तो लागिरहन्छ भने सफा नियतले डोर्याइएको शासनशैली अनुमोदन नहुने त प्रश्नै हुँदैन।

कुनै पनि विहानीले त्यस दिनको संकेत गर्ने सिद्धान्त मान्ने हो भने सीको पाइला उचाइतर्फ नै लम्किरहेको संकेत गर्छ। तर तमाम सुधारका बाबजुद सीको आगामी बाटो निरंकुशताको वास्तविक परिभाषा भित्र अट्न जाला या उदारतातर्फ नै अग्रसर होला, त्यो त समयचक्रले नै हिसाब राख्दै जाला।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार