पत्रकार उमेश चाैहानले हालै एक लेखमार्फत एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । चाैहानले नेपालमा विनाेद चाैधरीजस्ता केही सीमित मान्छेले दिनमा झण्डै ६ कराेड कमाइरहेकाे बेला नेपालका ७५ लाख सर्वसाधारणले दिनमा २ सय पनि कमाउन नसकेकाे तथ्य उजागर गरेका छन् ।
उनले नयाँ पत्रिका दैनिकमा लामाे लेख लेख्दै यस्ताे उजागर गरेका हुन् । चाैहान लेख्छन् –

यो देशमा विनोद चौधरीजस्ता डलर अर्बपति पनि छन् । फोर्ब्सले सन् २०१८ मा जारी गरेको सूचीअनुसार चौधरीको सम्पत्ति एक सय ५० अर्ब नेपाली रुपैयाँ नाघेको छ ।
संसारका सर्वाधिक धनी १५ सय जनाभित्र परेर चौधरीले नेपालको पहिचान अन्तर्राष्ट्रिय म्यागेजिनमा रंग्याइदिएका छन् । चौधरीले पछिल्लो एक वर्षमा मात्र २० अर्ब रुपैयाँ सम्पत्ति थपेका छन् । उनले वर्षमा २० अर्ब अर्थात् हरेक महिना एक अर्ब ६६ करोड अर्थात् हरेक दिन पाँच करोड ५५ लाख अर्थात् हरेक घन्टा २३ लाख कमाइरहेका छन् । तर, यहीबीचमा नेपालको २५ प्रतिशत अर्थात् ७३ लाख जनसंख्या गरिबीको रेखामुनि छ ।
हो, आजको मितिमा ७३ लाख २५ हजार नेपालीले दिनमा १.९० अमेरिकी डलर अर्थात् दिनमा दुई सय अर्थात् महिनाभरमा ६ हजार पनि कमाउन सक्दैनन् ।
चौधरीले एक घन्टामा जति कमाउँछन्, गरिबीको रेखामुनि रहेका नेपालीले ३२ वर्ष अर्थात् जुनीभर रगत पसिना बगाउँदा पनि कमाउन सक्दैनन् । फेरि गरिबीको रेखामुनि रहेको ७३ लाख जनसंख्या रुखो अंकगणित होइन, टाउको, आँखा, मुटु, कलेजो, मुख, पेट र समग्रमा अमूल्य जीवन भएका एक–एक मानवको हिसाब हो ।
तिनको जीवन पनि केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र विनोद चौधरीकै जस्तै अमूल्य हो । तर, महिनाभरमा जम्मा ६ हजार पनि आम्दानी गर्न नसक्ने यो मानवसागरको दुर्भाग्यको जिम्मेवार को हो ?
माथिका परिदृश्य दुर्लभ परिघटना होइनन्, कांग्रेस वा कम्युनिस्ट भनेर विवाद गर्ने विषय पनि होइनन् । सिंगापुर र स्विट्जरल्यान्डको हवाई सपनामा हामीले वेगवान् यात्रा गरिरहेको वेला अहिले पनि ३५ प्रतिशत गर्भवती महिला रक्तअल्पताले ग्रसित छन् । तिनले जन्माएका एक हजारमध्ये ३९ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ । हुर्कंदै गरेका ३० प्रतिशत अर्थात् २६ लाख २२ हजार बालबालिका कुपोषणले ग्रसित छन् ।
यो सब किन भइरहेको छ भने जनताको स्वास्थ्यमा सरकारको लगानी छैन । उपचारको ७० प्रतिशतभन्दा बढी रकम स्वयं नागरिकले तिनुपर्ने हो भने त्यो धान्न सक्ने नेपाली कति छन् भनेर समीक्षा गर्न झन् सान्दर्भिक हुन्छ ।







