नेकपा मालेका महासचिव सीपी मैनालीले केपी अाेली र प्रचण्डलार्इ लुटेरा पुँजीवादीकाे संज्ञा दिएका छन् ।

अाफ्ना अासेपासे पुँजीपतिहरूकाे संरक्षणमा लागेकाे हुनाले अाेली प्रचण्डले भन्ने गरेकाे समाजवाद नक्कली भएकाे मैनालीकाे अाराेप छ । अनलाइनखबरसँगकाे संक्षिप्त कुराकानीमा मैनालीले यस्ताे बताएका हुन् ।

मैनालीसँगकाे लामाे कुराकानीकाे सानाे अंश –

तपाईले नेकपालाई कांग्रेसजस्तै ‘प्रजातान्त्रिक समाजवादी’ शक्ति मात्र हो भन्न खोज्नुभएको हो ?

नेपाली कांग्रेसजस्तो गैरकम्युनिष्टले प्रजातान्त्रिक समाजवादी धारणा राखेर केही राम्रा काम गर्छन् भने मार्क्सवादीहरुले ती राम्रा कुरालाई सपोर्ट गर्न सक्छन् । तर, प्रजातान्त्रिक समाजवाद नै कम्युनिस्टहरुको सिद्धान्त हुन सक्दैन ।

किनभने, यो साँचो अर्थको समाजवाद, जनताको समाजवाद, सर्वहारा समाजवाद वा वैज्ञानिक समाजवाद होइन । यो मार्क्सवादी समाजवादलाई रोक्नका लागि आएको सिद्धान्त भएकाले प्रजातान्त्रिक समाजवाद कम्युनिस्ट पार्टीको सिद्धान्त हुन सक्दैन ।

उसोभए नेकपा र उसको नेतृत्वमा बनेको सरकार कम्युनिष्ट समाजवादी होइन ?

यिनीहरुको ‘डाइरेक्सन’ प्रजातान्त्रिक समाजवादतिर छ । तर, त्यो पनि किताबमा मात्रै छ । व्यवहारमा त त्यो पनि छैन । प्रजातान्त्रिक समाजवादले पनि डा. गोविन्द केसीले भनेजस्तो शिक्षामा, स्वास्थ्यमा राज्यको बढी भूमिका खोज्छ । तर, नेकपाका नेताहरुसँग त यो प्रजातान्त्रिक समाजवाद पनि मुखमा मात्रै छ । व्यवहारमा चाहिँ यिनीहरुसँग यही उदार पुँजीवाद नै छ । यही लुटेरा पुँजीवाद नै उनीहरुको व्यवहारमा छ ।

अहिले डेमोक्रेसी क्षत-विक्षत भएको छ । जनतन्त्र धनतन्त्रमा परिणत भएको छ । गुण्डातन्त्रमा परिणत भएको छ । दलाल र आसेपासे पुँजीपतिहरुको सहयोगमा नहुनेले एउटा वडामा पनि चुनाव लड्न सक्दैन । केपी ओली कम्युनिस्ट हुन् भने राजनीतिमा यो जुन विकृति घुसेको छ, यसलाई सिध्याउन् र राजनीतिलाई विकृतिमुक्त बनाउन् ।

तपाईको विश्लेषणमा केपी ओली वामपन्थी, कम्युनिस्ट अनि प्रजातान्त्रिक समाजवादीसम्म पनि नभएर ‘लुटेरा पुँजीवादी’ हुन् ?

वास्तवमा अहिलेको सरकारको गतिविधि हेर्दाखेरि यसले बाह्य आयातलाई कम गर्ने र निर्यात बढाउने कुनै कार्यक्रम अघि सारेको देखिँदैन । यसरी आयात गर्ने जो व्यापारीहरु छन्, तिनैलाई खुशी पार्नका लागि यो सरकारले काम गर्छ । यो सरकारले दलाल पुँजीवादलाई नै संरक्षण गरिरहेको छ । त्यतिमात्रै नभएर अहिले नयाँ शब्द आएको छ- क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवाद ।

हिजो कर्मचारीहरुले प्रश्रय दिने नोकरशाही पुँजीबाट शोषण हुन्थ्यो । अहिले त्यो किसिमको पुँजी नै सिद्धिएको हुनाले घटेको छ । अहिले के आएको छ भने राजनीतिक नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई संरक्षण हुने किसिमका कानूनहरु बनाइदिने र ती कानूनहरु लागू गरेर नेताहरुले पुँजी कमाउने ।

यसलाई भनिन्छ, आसेपासे पुँजीवाद । यसलाई भनिन्छ क्रोनी क्यापिलिजम । यो सरकार आसेपासे पुँजीको नेता हो । र, क्रोनी पुँजीको नेता हो ।

के आधारमा यो सरकारलाई ‘आसेपासे पुँजीपतिको नेता’ भन्न मिल्ला ?

अहिले जसरी शिक्षामा, स्वास्थ्यमा स्वार्थसमूहहरु छन्, बाटोघाटो आदिमा कन्ट्राक्टरहरु छन्, यी सबैको अनुकूल हुनका निम्ति केपी ओली साढे २६ दिनसम्म उनीहरुकै फाइदाका निम्ति लडिरहे । तर, अन्तिममा क्रोनीहरुका निम्ति लड्न खोज्दा आफ्नै गद्दी भत्किने डर देखेपछि उनले हतार-हतार सम्झौता गरे ।

अन्तिम दमसम्म केपी ओलीको लडाइँ कसका निम्ति थियो ? क्रोनी क्यापिटालिस्टहरुको । जसले स्वास्थ्य क्षेत्रमा लगानी गरेर अकूत कमाउन खोजिराखेका थिए, उनीहरुकै पक्षमा लागेर केपी ओलीले गोविन्द केसीको विरुद्धमा लडे । अन्तिम बेलामा आफ्नो सत्ता नै सिद्धिने भएपछि मात्रै उनले सम्झौता गरेका हुन् । यसले गर्दा यिनीहरु क्रोनी क्यापिटालिस्टहरु नै हुन् ।

जस्तो- म तपाईलाई भन्छु, यो सरकारले बजेटमा एउटा नयाँ चुरे राजमार्ग, मदन भण्डारी राजमार्ग भनेर ल्याएको छ ।

यसका विषयमा कुनै सर्वेक्षण भएको छैन, तर यसलाई बजेटमा राखिएको छ । यो किन राखियो ? जबकि हामीसँग हुलाकी राजमार्ग छ, त्यो अझै बनेको छैन । पूर्वपश्चिम राजमार्गलाई चौडा बनाउन बाँकी छ । पूर्व-पश्चिम मेट्रो रेल चलाउने कुरा छ । पहाडी लोकमार्ग पनि बनिरहेको छ ।

अब हिमाली लोकमार्ग बनाउन सकिएला । तर, फेरि चुरेमै अर्को मदन भण्डारी मार्गका नाममा बाटो किन खन्नुपर्‍यो ? यो अरु केही होइन, चुरे क्षेत्रको वन विनास गर्ने जुन दलालहरु छन्, त्यहाँका रोडागिटी भारतमा विक्री गर्ने जो कन्ट्राक्टरहरु छन्, तिनीहरुबाट कमिसन खाने नियत हो यो ।

अहिले जुन राष्ट्रपति चुरे कार्यक्रम छ, त्यो व्यवस्थित भएर लागू भएको छैन । यो स्थितिमा अहिले जुन ढंगले चुरेको विनास भइरहेको छ, त्यहाँ सरकारले राजमार्ग खोल्ने भन्नुको अर्थ त चुरेमा जंगल काट्न दिने हो ।

चुरेको गेगर, बगरलाई बिक्री गर्न दिनु हो । जग्गा दलाल र ढुंगागिटी बेच्नेहरुबाट कमिसन लिएर हाम्रो चुरे विनास गर्नुर् र मधेसलाई सखाप पार्नु हो । मधेसलाई मरुभूमि बनाउनु हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार