गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच भियतनाममा भएको दोस्रो भेटवार्ता असहमतिमा टुङ्गिनुको प्रमुख कारणबारे नयाँ खुलासा भएको छ ।

संचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले किम समक्ष प्योङयोङका सम्पूर्ण आणविक हतियार हस्तान्तरण गर्न लिखित माग राखेपछि नै त्यसदिनका सबै निर्धारित कार्यक्रम रद्द भएको थियो ।

ट्रम्पले किमलाई थमाएको सो लिखित मागमा उत्तर कोरियाका आणविक हतियारसहित इन्धनसमेत अमेरिकामा स्थानान्तरण गर्न भनी कोरियन र अङ्ग्रेजी भाषामा लेखिएको बताइएको छ ।

भियतनामको हनोइमा गत फेब्रुअरी २८ मा भएको सो बैठकमा दुवै प्रमुखबीच प्रत्यक्ष भेटवार्तापछि सँगै खाजा खाने र एकसाथ पत्रकार सम्मेलन गर्ने तय गरिएको थियो तर दुवैपक्षको असहमतिपछि ट्रम्प र किम समय अगावै आ–आफ्नो होटलतर्फ लागेका थिए भने पत्रकार सम्मेलनमा ट्रम्प एक्लै सहभागी भएका हुन् । यसरी अनपेक्षित ढङ्गमा वार्ता असफल हुनुले सबैलाई आश्चर्यमा पारेको थियो र दुवैले आ–आफ्नो छुट्टा छुट्टै स्पष्टिकरण दिएका थिए ।

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले उत्तर कोरियाले एउटा आणविक क्षेत्र नष्ट गरेवापत सबै आर्थिक प्रतिबन्ध हटाउन माग गरेकाले वार्ता बिना निष्कर्ष टुङ्गिएको बताएका थिए भने उत्तर कोरियाले चाहिँ आफूहरुले मुख्य आणविक परीक्षणस्थल बन्द गरेकामा केही प्रतिबन्ध मात्र रद्द गर्न माग गरेको दाबी गर्दै आएको छ ।

तर सम्मेलनमा सहभागी जानकार स्रोतका अनुसार त्यसबेला ट्रम्पले पहिलोपटक स्पष्ट र खुला रुपमा किमलाई निशस्त्रीकरणको आफ्नो परिभाषा दिएका थिए । सो पत्रबारे यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पनि एक अन्तर्वार्तामा उल्लेख गरेका थिए । तर उनले त्यसभित्र के–के लेखिएको थियो भनि स्पष्ट जानकारी दिएका थिएनन् । उनलाई सो डकुमेन्ट कसले लेखेको भनि प्रश्न गर्दा उनले त्यो कर्मचारी स्तरमा लेखिएको जवाफ दिएका थिए ।

यसरी उक्त औपचारिक पत्रमा बोल्टनले अप्रत्यक्ष रुपमा लामो समयदेखि जोड दिँदै आएको लिबियाको मोडललाई अपनाउन माग गरिएको बताइएको छ जसप्रति उत्तर कोरियाले धेरैपटक आक्रोश व्यक्त गरिसकेको छ ।

त्यसैले किमले त्यसलाई अपमानजनक र भड्कीलो मानेको हुन सक्ने विश्लेषकहरुको भनाइ छ ।

र, यसकारण नै उत्तर कोरियाली अधिकारीहरुले बोल्टन र विदेश मन्त्री माइक पोम्पेओलाई गुन्डा जस्तो व्यवहार गरेको आरोप लगाएको सक्ने बताइएको छ । साथै उनीहरुले पुनः मिसाइल परीक्षण सुरु गर्ने धम्की समेत दिएका थिए ।

यो भन्दा अगाडि सिंगापुरको पहिलो सम्मेलनमा पनि उत्तर कोरियालाई बोल्टनले लिबियासँग तुलना गरेकाले नै किमले सम्मेलन रद्द गराएका थिए । तर ट्रम्पले भने आफुले लिबिया मोडल नभएर किमलाई नै सुरक्षित राख्ने किसिमको सम्झौता गर्न चाहेको बताउने गरेका छन् ।
पछिल्लो समय उनी सार्वजनिक रुपमा लिबिया मोडल अपनाउने बोल्टनको योजनाबाट टाढिँदै आएको पाइएको छ ।

उत्तर कोरियाद्वारा हतियार हस्तान्तरण गर्ने विचार पहिलोपटक बोल्टनले २००४ मा प्रस्ताव गरेका थिए र गत वर्ष ट्रम्पले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेपछि पनि त्यही भनाइ पुनः दोहोर्याएका हुन् ।

यसरी सो डक्युमेन्टको उद्देश्य उत्तर कोरियालीहरुलाई स्पष्ट रुपमा अमेरिकाले माग गर्दै आएको पूर्ण र प्रमाणित निशस्त्रीकरणको अर्थ बुझाउनु रहेको बताइएको छ । डकुमेन्टबाट उनीहरु अमेरिकाले कस्तो किसिमको निशस्त्रीकरण प्रक्रिया अपेक्षा गरिरहेको भन्ने स्पष्ट हुने अपेक्षा गरिएको थियो । ह्वाइट हाउसले तत्काल यसबारे कुनै आधिकारिक बयान दिएको छैन ।

यसरी हतियार हस्तान्तरणका साथै डक्युमेन्टमा उत्तर कोरियालाई आफ्ना हतियारबारे विस्तृत जानकारी सार्वजानिक गर्न र अमेरिकालाई सबै आणविक कार्यक्रम र प्राविधिक गतिविधिको पहुँच दिन पनि माग गरिएको बताइएको छ । तर बैठक बिनासहमति सकिएपछि गत मार्च ४ मा पोम्पेओले छिटै अमेरिकी टोलीलाई वार्ताका लागि उत्तर कोरिया पठाउने बताएका थिए जसको अहिलेसम्म कुनै संकेत छैन ।

वासिङटनस्थित उत्तर कोरियाकी विशेषज्ञ जेनी टाउनका अनुसार अमेरिकाको यस्तो व्यवहार कुनै आश्चर्यजनक कुरा थिएन ।

उनी भन्छिन्, “बोल्टनले सुरुवातदेखि नै यही चाहेका थिए र स्पष्ट रुपमा यो तरिकाले काम गर्दैन भन्ने सबैलाई थाहा थियो । त्यसैले अमेरिका साँच्चै गम्भीर भएको भए आफ्ना पूर्व गलतीहरुबाट केही सिक्ने थियो किनकी उत्तर कोरियाले बारम्बार सो प्रस्ताव अस्वीकार गर्दै आएको छ । तरपनि त्यही कुरा फेरि दोहोर्याउनु अपमानजनक लाग्नु स्वभाविक हो ।”

उत्तर कोरियाले पहिलो सम्मेलनदेखि नै एकलौटी निशस्त्रीकरणको विरोध गर्ने गर्दै आएको थियो र आत्मरक्षाका लागि आफ्ना हतियार आवश्यक भएको तर्क गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार