सोल : उत्तर कोरियाली नेता किम जोङ उनले अर्को साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रूसमा भेटवार्ता गर्ने अधिकारीले बताएका छन्।

चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा रूसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रूसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ। स्रोतले योनहापलाई भनेको छ, ‘रूसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रूसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ। त्यही समयमा दुबै नेताबीच रूसमै भेटवार्ता हुने सम्भावना छ।’

राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुनेछन्। रूसले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन। रूसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै रूस र उत्तर कोरियाबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो।

ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए। दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ठ कूटनीतिक अधिकारीको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ। किम जोङ उनका अति निकट ठानिएका किम चाङ–सोनले गत मार्च १९ देखि २५ सम्म मस्को र भ्लादिभोस्तकको भ्रमण गरेका थिए। नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्दै आएका छन्।

यसै महिनाको शुरुमा रूसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङ भ्रमण गरेका थिए। पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रूस भ्रमणको निम्ता दिएका थिए तर भ्रमण हुन सकेको थिएन। उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा सम्पन्न वार्ता विफल भएसँगै रूससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ।

नेता किमले गत वर्षयता नै चीनको चारपटक भ्रमण गरिसकेका छन्। यद्यपि सन् २०११ मा सत्तामा आएपछि नेता किमले रूस भ्रमण गरेका छैनन्। योनहाप

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार