तपाईं नेतृत्वको पार्टी नेकपा यतिखेर अर्को नेकपा नेतृत्वको सरकारद्वारा प्रतिबन्धित छ । सरकारको नेतृत्व गरेको नेकपाले जनवादी क्रान्ति पूरा भएको र समाजवादी क्रान्तिमा प्रवेश गर्ने चरणमा रहेको बताएको छ । तपाईंको पार्टीको कार्यदिशा जनवादी क्रान्तिको निरन्तरता कि अरु केही ?

-होइन, अबको राजनैतिक कार्यदिशा नयाँ जनवादी नभएर वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा हो । खासगरी १० वर्षको जनयुद्धले गाउँगाउँबाट सामन्तवादी उत्पादन सम्बन्धहरुलाई धेरै मात्रामा समाप्त पारिदियो भने गणतन्त्रको घोषणाले केन्द्रको सत्तामा पनि दलाल पूँजीवादी वर्ग हावी हुन पुग्यो ।

तत्पश्चात नेपालको मूल राजनैतिक अन्तर्विरोध दलाल पुँजीपति वर्ग र जनताको बीचमा केन्द्रीत भएको छ । अर्थतन्त्र, राजनीति, कानूनी, साँस्कृतिक सबैतिर दलाल पुँजीपति वर्गको कब्जा छ । यो अन्तर्विरोधको समाधान वैज्ञानिक समाजवादी क्रान्तिले गर्छ ।

क्रान्तिको बाटो शान्तिपूर्ण हुने कि शसस्त्र ? शान्तिपूर्ण राजनीतिमा आएपछि फेरि अर्को अशान्तिको बाटोमा किन लाग्नु परेको ?

-हेर्नुस, क्रान्तिको अर्थ आमूल परितर्वन हो । हामी शान्तिपूर्ण तरिकाले क्रान्ति गर्न चाहन्छौं । अर्थात शान्तिपूर्ण तरिकाले दलाल पूँजीवादी सत्ताद्वारा मजदूर, किसान, युवा, जनजाति, दलित, महिलामाथि लादिएको शोषण, उत्पीडन, भ्रष्टाचार, तस्करी र दमन साथै साम्राज्यवादी मुलुकहरुद्वारा गरिएका हस्तक्षेप, अतिक्रमणको अन्त्य गर्न चाहन्छौं ।

यदि सत्तासीन वर्गले जनताका आवाज शान्तिपूर्ण तरिकाले मान्न तयार हुन्छन् भने सशस्त्र क्रान्ति किन गर्नु र ? तर आजका मितिसम्म संसारभरी र नेपालका शासक वर्गहरुले जनतालाई शान्तिपूर्ण तरिकाले क्रान्ति गर्न दिएका छैनन् । उनीहरुकै कारणले हरेक देशका क्रान्तिहरु सशस्त्र विद्रोहद्वारा सम्पन्न हुने गरेका छन् ।

नेपालमा पनि त्यसै भएको छ । अहिले हामीलाई शान्तिपूर्ण राजनीति गर्न नदिनु र प्रतिबन्ध लगाउनुले त्यही कुराको संकेत गरेको छ । यदि सत्ताले शान्तिपूर्ण तरिकाले क्रान्ति गर्न दिँदैन भने सशस्त्र विद्रोहद्वारा भए पनि क्रान्ति गर्न चाहन्छौं । क्रान्ति त जसरी पनि गर्नु पर्छपर्छ । यस्तो धुन्दुकारी व्यवस्था राख्नु हुँदैन ।

आजको शान्ति लुटेरा वर्ग, दलाल पुँजीपति वर्ग, भ्रष्टतत्व, राष्ट्रघाती, तस्कर, माफिया र ठगहरुका लागि मात्र हो । जनताले त इतिहासमा कहिल्यै नपाएका दुःख पाइरहेका छन् । नेपाल त मध्ययुगको दास जन्माउने देशहरु जस्तै भएको छ । एक पेट खानका लागि आफ्नो श्रम, शरीर र विवेग बेच्न बाध्य हुनु परेको छ ।

यौन, लागूपदार्थ, मानव तस्करी, भ्रष्टाचार, धर्मको व्यापारले नेपाली समाज विशेषतः युवा पिंढी ध्वस्त हुँदै गएको छ । कुन यस्तो नागरिक छ जसले यस्तो विपत्तिलाई परिवर्तन गर्न नचाहेको होस ? अनि परिवर्तन गर्न चाहनु कसरी अशान्तिको बाटो हुन्छ ?

यदि नारकीय जीवनलाई फेर्न चाहनु र संघर्ष गर्नु अशान्तिको बाटो हुन्छ भने हामी त्यस्तो बाटोमा पुरा जोसका साथ हरेक मिनेट, घण्टा, दिन र महिना हिड्नुपर्छ । सहर, गाउँ र गल्लीगल्लीबाट उठ्नुपर्छ ।

अहिलेको तपाईंहरुको बाटो शान्तिपूर्ण देखिएन, ठाउँठाउँमा आफ्नै कार्यकर्ता मरिरहँदा तपाईले विज्ञप्ति निकालेर दोष अरुलाई थोपर्नु भएको छ । यसलाई जिम्मेवारी भन्ने कि अराजनीतिक ?

-अहिलेको न कहिलेको, राज्यसत्ता श्रमिक जनताको नभएसम्म, सत्तामा मुठ्ठीभर शोषकहरु बसेर जनतालाई शोषण, उत्पीडन र दमन गर्दासम्म जनता विद्रोह गर्न बाध्य हुन्छन् ।

दमनकारी सत्ताका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । अधिकार, मुक्ति र सभ्यताका लागि विद्रोह गर्ने जनतालाई दमन हुन्छ भने त्यसको दोषी दमनकारी राज्यसत्ता नै हुन्छ ।

जनताका छोराछोरीको बलिदान हुनुमा प्रतिक्रियावादी राज्यसत्ता दोषी छ र हो भन्नु त असली राजनीतिक हुन्छ । त्यसलाई ढाट्नु र भ्रम प्रचार गरेर राज्यलाई चोख्याउन खोज्नु पो अराजनीतिक हुन्छ ।

राज्यको तर्फबाट केही ठाउँमा शसस्त्र बल प्रयोग गरेको भेटिएको छ, तपाईहरुको तर्फबाट भएको आक्रमणमा एक प्रहरीको पनि मृत्यु भएको छ । सशस्त्र युद्धको घोषणा नगरिकन सशस्त्र बाटो किन समात्नु परेको ?

-राज्यले केही ठाउँमा मात्र बल प्रयोग गरेको होइन । हाम्रो पार्टी बनेदेखि नै दमन गर्दै आएको छ । दलाल पूँजीवादी संविधान बन्दा हाम्रा सयौं कमरेडहरुलाई गिरफ्तार गरियो ।

तराईका जनतामाथि गोली चलाइयो । कथित चुनावको बहिष्कार गर्दा कालिकोटमा गोली चलाएर जनतालाई हत्या गर्यो । पछिल्लो समय कपिलवस्तु, भोजपुर, संखुवासभा, सर्लाहीमा गोली चलाएर घाइते बनाउने र हत्या गर्ने कार्य गरियो ।

भोजपुरमा प्रहरी घेरा तोड्नका लागि बाध्य भएर प्रतिरोध गर्दा एक प्रहरी मारिएका हुन । कमरेड निरकुमार राई बेजोड वीरतापूर्ण कारवाही गर्दै महान सहिद हुनुभयो । यी सबैको त हामीले जिम्मा लिएकै त छौं ।

पछिल्ला विज्ञप्तिमा नयाँ प्रतिरोध गर्न ढिला भइसक्यो, अब योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी पनि दिनुभएको छ । यी दुई शब्दको अर्थ कसरी बुझ्ने ?

-ढिला र चाँडोको कुरा होइन । हामीले प्रष्ट भनेका छौं, जनता यो सत्ता, व्यवस्था र सरकारका विरुद्ध छन् । उनीहरु परिवर्तन चाहन्छन् ।

हामी जनताकै भावना अनुरुप क्रान्ति सम्पन्न गर्न चाहन्छौं । तर हामीले सबै न्यायप्रेमी, समानतावादी, परिवर्तनकामी, देशभक्त, वामपन्थी शक्तिहरुलाई अपिल गरेर उनीहरु सबैलाई एकताबद्ध गरेर परिवर्तन गर्न चाहन्छौं । यो कुरा नेपाली सेना र प्रहरीहरुसँग पनि लागु होस् भन्ने हाम्रो चाहना छ ।

दलाल, भ्रष्ट, देशघाती, तस्कर, अनैतिक, ठगहरुलाई सबै मिलेर फालौं भन्ने हाम्रो आह्वान छ । यसलाई नबुझेर दलालको पनि दलाल भएर हामीमाथि हत्या गर्न आउने हो भने ढिला नगरी प्रतिरोध गर्नुपर्छ भन्ने हाम्रो निस्कर्ष छ ।

बमको प्रयोग गरिरहनुभएको छ । ठाउँठाउँमा हतियारबद्ध तालिमको कुरा पनि तपाईंहरुले स्वीकार गर्नुभएको छ । यस्तो अवस्थामा औपचारिक रुपमा युद्धको घोषणा किन नगर्नु भएको ?

-क्रान्तिलाई उत्तेजनाको विषय नठान्नु होला । क्रान्ति जनताको विद्रोह हो । प्रतिक्रियावादी राज्यसत्ताले दमन गरेपछि विद्रोह त अनिवार्य नै हुन्छ ।

जनयुद्ध विरुद्ध षड्यन्त्र र धोका भएपछि नयाँ जनवादी सत्तालाई निमोठ्न खोजियो, हामीले त्यसको रक्षा गर्दै जनताको विद्रोहलाई अगाडि बढाएका छौं । तपाईले कताको युद्धको मात्र कुरा गर्नु भएको !

अब सरकारसँग वार्ताको सम्भावना छ कि छैन ?

-वार्ताको सम्भावना छ पनि छैन पनि । केपी सरकार इमान्दार भए छ, बेइमान, मूढमतिको मार्ग पकड्छ भने छैन ।

तपाईंहरुका राजनैतिक मुद्दा अहिलेको संविधानले सम्बोधन गर्न सक्छ कि सक्दैन ?

-यो संविधानले हाम्रो राजनैतिक मुद्दालाई सम्बोधन गर्ने होइन कि हाम्रो राजनैतिक मुद्दा र संघर्षले यो संविधानलाई समाधान गर्न सक्छ ।

देशैभरबाट तपार्इंंका पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । कतिपयले पछिल्लो समय पार्टी नै परित्याग गरेका छन् । नेता कार्यकर्ता धमाधम पार्टीबाट बाहिरिन थालेपछि वार्ता भन्नु भएको त होइन ?

-होइन, तपाईंको अघिल्लो भनाईमात्र सही छ । तर पछिल्ला दुवै कुरा गलत छन् । देशभरीबाट धेरै नेता कार्यकर्ताहरु समातिएको कुरा सही हो ।

सचिवालयका कमरेड सुदर्शन, सीसीएम कमरेडहरु माइला लामा, वसन्त श्रेष्ठ, वन्धु चन्द लगायत सयौं नेता कार्यकर्ताहरु हिरासत र जेलमा बन्दी हुनुहुन्छ । यसमा प्रतिक्रियावादीहरुलाई बुझ्नेमा केही हाम्रा कार्य शैलीगत कमजोरीहरु रहेका भएपनि मूलरुपमा राज्यको फाँसीवादी दमन नै जिम्मेवार छ ।

प्रतिक्रियावादीहरुले पार्टीमाथि प्रतिबन्ध लगाएर समर्थक कार्यकर्तासम्मलाई समातेपछि सयौं त पुग्ने नै भयो । यो संख्या हजारौमा पुग्न पनि सक्छ ।

तर गिरफ्तारीमा परेका नेता कार्यकर्ताले धमाधम पार्टी छाडेको भन्ने सही होइन । केहीले छाडेकोलाई तपाई धमाधम नभन्नुस् । केही साथीहरुमा समस्या आउनुलाई भयङ्कर ठानेका छैनौं । यस्तो त जहिले पनि आउछ ।

छोड्नेको तुलनामा पार्टीमा आउने कमरेडहरुको संख्या अतुलनीय रुपले बढी छ । अधिकतम क्रान्तिकारी नेता कार्यकर्ताहरुले क्रान्तिकारी विचार, भावना र जोसका साथ संघर्ष गरिरहनुभएको छ । हाम्रा कमरेडहरु एक दिन अवश्य नै छुट्नु हुनेछ ।

पार्टी गतिविधिमा सक्रिय रहेका नेता कार्यकर्ता पक्राउ परेपछि सबैलाई पार्टीबाट निस्कासन गरेको कुरा पनि विभिन्न सञ्चारमाध्यममा आएको थियो । यो त झन गैरराजनैतिक क्रियाकलाप भएन ? स्थायी समिति र पोलिटब्युरो भङ्गसमेत ?

-तपाईको सूचना सत्य होइन् । जेल—हिरासत पनि क्रान्तिको मोर्चा हो भन्नेमा हामी स्पष्ट छौं । जो कमरेडहरुले त्यो मोर्चाबाट क्रान्तिको झण्डालाई फहराई राख्नुभएको छ, उहाँहरुलाई पार्टीले सम्मान र अभिनन्दन गरिरहेको छ ।

जो साथीहरुले आत्मसमर्पण गरेका छन् उनीहरुलाई निस्कासन गरिएको छ । जो साथीहरु आतंकित भएर कागज गरेर निस्केका छन् उनीहरुलाई रुपान्तरण गर्नेमा जोड गरिएको छ । नवआगन्तुक कमरेडहरुलाई स्वागत गरिएको छ ।

पार्टी क्रान्तिको साधन हो । कम्युनिष्ट पार्टी यस्तो तेजिलो, धारिलो, चम्किलो र सुदृढ हुनुपर्छ, जसले क्रान्तिमा आइलाग्ने सारा बाधा अवरोधहरुलाई पार लगाउन सक्नुपर्छ । यो कुनै संसदीय अखडामा गफ चुट्न, जनता झुक्याउन र झोली भर्नका लागि खडा गरेको पार्टी होइन ।

हामीसँग यस्तो विचार र लक्ष्य छ, सारा प्रक्रियाहरुलाई पचाउन सक्छौं । हाम्रा प्रिय कमरेडहरु एकमतका साथ यो सुद्धीकरणमा लामबद्ध हुनुहुन्छ ।

आमनागरिक फेरि कुनै पनि प्रकारको युद्धको पक्षमा छैनन् । त्यस्तो अवस्थामा शान्तिपूर्ण तरिकाले निकास खोज्न सकिन्छ नि होइन र ? अहिलेको संविधानले त सबै कुरा परिवर्तन गर्न सक्ने प्रत्याभूत गरेको छ नि ?

-गलत, नागरिकहरुले अन्यायपूर्ण युद्ध चाहँदैनन् तर अन्यायपूर्ण युद्ध थोपरेको खण्डमा न्यायपूर्ण युद्ध चाहन्छन र चाहनु पर्छ । कथित शान्तिको नाममा लादिने कुनै पनि अत्याचारी युद्ध जनतालाई मान्य हुँदैन ।

जसले अन्यायपूर्ण युद्धलाई सहने कुरा गर्छ त्यो या विदेशीको दलाल हो, या सत्ताको तर मारिरहेको फटाहा हो या त हद दर्जाको दास र कायर हो । न्याय, समानता, स्वतन्त्रता र वास्तविक शान्तिका लागि आवश्यक परे युद्ध गर्नुपर्छ ।

न्यायपूर्ण युद्ध गर्नेले मात्र स्वाभिमानी जीवन निर्माण गर्न र जिउन सक्छ । हामी अरुले फालिदिएको कालो खाएर कृतिम हाँसो देखाउने जीवन बाँच्न चाहदैनौं, टाक्सिएकै भएपनि आफ्नै श्रम र खुट्टामा उभिएको आतदेखि रमाएको जीवन जिउन चाहन्छौं । हामी जनतालाई यही विचार दिन्छौं ।

यो संविधान जनताको संविधान होइन । दलाल पूँजीपति वर्ग र उसको सत्ताको रक्षक हो । त्यसैले त हामीले यो संविधान बनाउन आयोजित चुनावलाई बहिस्कार गर्यौं (जसमा बादलहरु पनि थिए), त्यसबाट बनेको संविधानलाई अस्वीकार गर्यौं र त्यसको विकल्पमा जनताको संविधान, जनपरिषद र जनप्रतिनिधि सभा गठन गर्यौं ।

यो दलाल पूँजीवादी संविधानलाई त्यसरी नै समाप्त पार्नुपर्छ, जसरी पंचायतको संविधानलाई समाप्त पारिएको थियो ।

तपाईंको वसाइँका विषयमा पनि भिन्न प्रकारका प्रश्न उठेका छन् । अहिले भारत हुनुहुन्छ भन्ने पनि छ नि ? कहाँ कसरी बस्नु भएको छ भन्न मिल्छ ?

-मित्र, यो विषय तपाईंका लागि जरुरी विषय हो जस्तो लाग्दैन । जहाँ भएपनि श्रमिक जनताको सुन्दर एवं सभ्य व्यवस्था वैज्ञानिक समाजवादका लागि समर्पित भएर लाग्नु मेरो दायित्व हो । मैले एक टुक्रा लेखेको छु–

‘मेरो रगत वगे यही पवित्र माटोमा भिजोस
शरीर ढले वीर सहिद—सपुतसँगै सुतोस
नलागोस कुनै खोट, आदर्श बाँचिरहोस
सहेर सारा चोट, सपना चम्किरहोस ।’

सरकारले प्रतिबन्ध लगाएपछि वार्ताका अनेक चर्चा परिचर्चा चलिरहेको छ । सरकारको नेतृत्वमा तपाईंका पहिलेका नेताहरु र सहकर्मी नै छन्, अनौपचारिक कुराकानी भएको छैन ?

-ठीकै हो, सरकार भूतपूर्व सहकर्मीको छ । तर सत्ता दलाल पूँजीपती वर्गको छ । यो कुरा कहिलेकाहीँ भूतपूर्व सहकर्मीले पनि भनेको सुनिन्छ ।

राज्यसत्ता, क्रान्ति, विद्रोह, आमूल परिवर्तनका सन्दर्भमा अनौपचारिक कुराकानी, छलफल कहिलेकाहीँ भएका छन् । मेरो प्रत्यक्ष नभएपनि अन्य कमरेडहरुसँग सल्लाहमै भएका छन् ।

कैयौं साथीहरुको भूमिका सकारात्मक पनि पाएका छौं । हाम्रो जोड उहाँहरुलाई प्रतिक्रियावादी सत्ताको रक्षा गर्ने महाविनासको बाटोबाट फर्काएर आफैले ठूलो लगानी गरेको महान क्रान्तिको बाटोमा आउनुहोस् भन्नेछ ।

पछिल्लो समय गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक, समावेशीताका विषयमा पनि तपाईंका पार्टीका केही नेताले असन्तुष्टि जनाउनु भएको छ । के यी एजेण्डाको स्वामित्व तपाईंले लिनु हुँदैन ?

-असन्तुष्टि होइन, हाम्रो पार्टीको समग्र लक्ष्य नै वैज्ञानिक समाजवादी गणतन्त्र प्राप्त गर्ने हो । सत्ता दलाल वर्गको हुने सर्तमा श्रमिक जनतालाई झुक्याउन सत्ताका उपरिसंरचना केही परिवर्तन गरियो ।

गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक विषयहरु यसैका परिणाम हुन । यी विषयले जनतालाई केही भ्रममा पनि पारे । तर यी विषय जनतालाई अधिकार सम्पन्न बनाउनका लागि होइन प्रतिक्रियावादी सत्तालाई बचाउनका लागि जनतालाई भ्रमित पार्न ल्याइएका थिए ।

त्यसैले त आज जनताहरुको जीवनमा कुनै परिवर्तन आउन सकेन । जनता यो सरकार र व्यवस्थाबाट आक्रोसित हुन पुगेका छन् । मीठा शब्दका प्रयोग त पञ्चायतले पनि गरेको थिएन र ? जस्तो पञ्चायतको संविधानमा वर्गविहीन, दलविहीन, शोषणविहीन शब्दहरु लेखिएका थिए ।

विभिन्न स्थानीय तहका कार्यालय र सवारी साधनमा आगजनी तोडफोडमा तपाईंका कार्यकर्ता संलग्न भएको फेला परेको छ । नेपाल टेलिकम र एनसेल लगायतका सञ्चार संस्थामा समेत आक्रमण भएको छ । आम नागरिकले चन्दाका लागि आक्रमण भएको भनेका छन् । यस्तो क्षतिपुर्याउनु पर्ने अर्को कुनै कारण छ ?

-हो, हाम्रो पार्टीले कारवाही गरेको छ, तर जुन कार्यालय, स्थानीय तहले जनताकाविरुद्ध अपराध गरेका छन्, भ्रष्टाचार गरेका छन् र जनताले कारवाहीको माग गरेका छन् ।

तिनीहरुलाई कारवाही गरिएको छ । ती कारवाहीको जिम्मा पार्टीले लिँदै आएको छ । कैयौं ठाउँमा भ्रष्टाचार लुकाउन आफैले कार्यालयमा आगो लगाएका सूचनाहरु आएका छन् ।

ओहो भ्रष्टाचारको महामारी हेर्नुस त, कल्पना पनि गर्न सक्नु हुन्न ! भ्रष्ट नेता, नोकरशाह र दलाल पूँजीपति लाई करोड पनि मामुली लाग्न थालिसक्यो, जताकतै अरबभन्दा तलको कुरै छैन !

ठूलो जहाज काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गाकाण्ड, धर्मनिरपेक्षताको व्यापार काण्ड, सुन तस्करी काण्ड, ठेक्कापट्टा काण्डहरु, अरुण तीन र माथिल्लो कर्णाली, पोखरा हवाई मैदान सारातिर अरबअरबको कुरा मात्र छ ।

पुरानो एमाले, माके, कांग्रेस सारा पार्टीका नेताहरु ‘मालामाल’ भएका छन् । तस्करीको धन लुकाउन रातदिन विदेश घुमेकाघुमेइ छन् । पेट दुख्नु हुन्न नेपालमा डाक्टर र अस्पताल नै छैन जसरी विदेशतिर कुदिहाल्छन् । यत्तिको त राजाहरुले पनि गरेका थिएनन्, उनीहरु त नेपालकै हस्पिटलमा भर्ना हुन्थे ! के कुनै ठूलो नेता यसबारे बोलेको सुन्नु भएको छ ? कति घटिया, निच र लिच्चड होइन त !

एनसेललाई त अब कारवाही होइन देशबाटै खारेज गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसतर्फ पार्टी र जनपरिषद्ले विचार गर्दैछन् । नेपाल टेलिकममा कारवाहीको योजना छैन । अर्घाखाँचीमा भूलवस भएको हो ।

हाम्रा कारवाहीहरुलाई जनताले चन्दाका लागि भनेर बुझेका छैनन् । जनताले दलका नेताहरुले एनसेलबाट अरबौं कमिसन खाएर देशलाई लुट्ने एनसेललाई बँचाइरहेका छन् भन्ने बुझेका छन् । यो त एमालेका घनश्याम भुषालले खुल्लै भने ।

जहाँसम्म चन्दाको कुरा छ हामीले चार महिने विशेष आर्थिक अभियान चलाईरहेका छौं । देशको स्वाधिनता र जनताका अधिकारका लागि लड्नु परेको छ भने यसका लागि सबै जनवादी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी मित्रहरुले सहयोग गर्नुहोस् भन्ने विनम्र आग्रह गरेका छौं र राम्रो सहयोग पनि प्राप्त भइरहेको छ ।

सबै सहयोगी मित्रहरुलाई हामी धेरै धन्यवाद दिन चाहन्छौं ।

अन्तिममा भन्नु केही छ कि ?

-आज देशमा राजनैतिक, आर्थिक, कानुनी, साँस्कृतिक विचलन र संकट जुन देखिएका छन् । ती वास्तवमा दलाल पूँजीवादी व्यवस्थाका अभिव्यक्ति हुन् ।

आजभोलि दलाल पूँजीवादी वर्गको चलाखीमा यो व्यवस्थाको समस्या होइन नेता र पार्टीको समस्या हो भनेर विषयलाई बङ्ग्याउन र भ्रमित पार्न खोजेको देखिन्छ । सायद सबै पार्टी भित्रका दलालहरुले आफ्नो नाश हुने बुझिसके । तर यो सत्य होइन ।

समस्या केपी, प्रचण्ड, रामचन्द्र, सिटौलाको मात्र होइन दलाल पूँजीवादी सत्ता कै हो । यसको समाधान वैज्ञानिक समाजवादी गणतन्त्रबाट मात्र छ । यसलाई सारा मजदुर किसान, बुद्धिजीवी, युवा, विद्यार्थी, कम्युनिष्ट, देशभक्त, वामपन्थी,लोकतान्त्रिक शक्तिहरुले कुनै पनि हालतमा भुल्नु हुँदैन ।

पत्रकार मित्रहरुले पनि यसमा सहयोग गर्नुहोस् । धेरैधेरै धन्यवाद ।

नागरिकखबरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार