
राज्यसत्ता प्राप्तिका लागि सर्वहाराले रातो झण्डा माथि उठाएको पेरिस कम्युनले १५० वर्ष पूरा गरेको बेलामा विश्वका श्रमजीवी वर्ग, त्यसमा पनि खास गरेर सर्वहारा वर्ग मे दिवस मनाइरहेको छ । यो विश्वका सम्पूर्ण सर्वहाराको उत्सवको दिन हो । यो विश्वका सर्वहाराको हकअधिकारको दिन हो ।
मे दिवस यस्तो दिन हो, जुन दिन सर्वहारा वर्गले आफ्नो शक्तिको स्थितिको समीक्षा गर्दछ र थप दृढ संकल्पका साथ निरन्तर लागि पर्दै स्वतन्त्रता, समानता र भ्रातृत्वको लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेर सर्वहारा क्रान्ति र विश्व समाजवादी क्रान्ति पूरा गर्ने वाचा गर्दछ । मे दिवसको अवसरमा हाम्रो पार्टीको केन्द्रीय समितिले विश्व सर्वहारा वर्गलाई हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ । यस सन्दर्भमा पार्टीले ती सबै श्रमजीवीहरूलाई श्रद्धाका साथ क्रान्तिकारी श्रद्धाञ्जलि अर्पण गर्दछ जसले अधिकार प्राप्तिका लागि आफ्नो जीवन समर्पण गरे ।
अहिले साम्राज्यवादले विश्वभरि नै गम्भीर सङ्कटको सामना गरिरहेको छ । शोषणकारी शासक वर्गले यस सङ्कटको बोझलाई सर्वहारा वर्गमा थोपर्न र श्रम शक्तिमाथिको शोषणलाई तीव्र पार्न धेरै प्रहार गरेका छन् र षडयन्त्रहरू रचेका छन् । सन् २००८ को आर्थिक सङ्कट भन्दा पनि अहिलेको विश्व सङ्कट झन् गम्भीर हुँदै गइरहेको अवस्थामा कोभिड महामारीले सम्पूर्ण विश्वलाई आफ्नो नियन्त्रणमा लियो । यो एक घातक भाइरसहरूमध्येको एउटा यस्तो भाइरस हो, जसलाई साम्राज्यवादीहरूले नाफाको खोजीमा तयार पारेका थिए । यतिखेर समकालीन विश्व महामारीले ग्रस्त छ, करोडौं आप्रवासी कामदारहरूले आफ्नो जीविका गुमाएका छन् र सडकमा छन्, तर बहु–राष्ट्रिय कर्पोरेट उद्यमहरू र उनीहरूका दलाल कम्पनीहरू खोप व्यवसायको लागि प्रतिस्पर्धा गरिरहेका छन् र बहुपक्षीय विशेष नाफा कमाइरहेका छन् ।
साम्राज्यवादी भूमण्डलीकरणको परिणामस्वरूप पूँजीवादी विश्व अर्थव्यवस्था अभूतपूर्व तहमा विस्तारित भयो र यसले साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनता, पुँजिपति वर्ग र सर्वहारा वर्ग र अन्तरसाम्राज्यवादी शक्तिहरूबीच अन्तर्विरोध चरम सीमामा पुर्यायो । उत्पीडित राष्ट्रहरू र जनतामा साम्राज्यवादी आक्रमण र पुँजीवादी नृशंसताको वृद्धि भएको छ । साम्राज्यवादीहरू, विशेष गरी अमेरिकी साम्राज्यवाद र चिनियाँ सामाजिक साम्राज्यवादका बीच विश्वव्यापी प्रभुत्व कायम गरेर विश्वका देशहरूको प्राकृतिक सम्पत्तीको शोषणका लागि शत्रुतापूर्ण किसिमले विश्वका देशहरू र बजारहरूको भागबन्डा चलिरहेको छ । ‘व्यापार युद्ध’ ले पिछडिएका देशहरू र उत्पीडित जनतामाथि गम्भीर आर्थिक बोझ पारेको छ । सर्वहारा वर्ग, किसान, मध्यम वर्गीय जनता, महिला, धार्मिक अल्पसङ्ख्यकहरू, उत्पीडित जातजातिहरू र अन्य समुदायहरू जातीय भेदभावका साथै धेरै गम्भीर आर्थिक, राजनीतिक, सामाजिक-संस्कृति शोषण र उत्पीडनबाट आक्रान्त छन् । धनी र गरिबबीच असमानताको तह अभूतपूर्व स्थितिमा पुगेको छ । अहिले विश्वका श्रमजीवीहरू गरिबी, बेरोजगारी, भोकमरी, असमानता र जातीय विभेदबाट ग्रस्त छन । यी सबै साम्राज्यवादी भूमण्डलीकरणले उत्पन्न गरेका खराब परिणामहरू हुन् ।
पिछडिएका देशका मजदुरहरूलगायत साम्राज्यवादी र पुँजीवादी देशका मजदुरहरू पनि नव-औपनिवेशिक शोषण नीतिको कारण निर्मम शोषणको पीडा भोगिरहेका छन् । विश्व सर्वहारा वर्गको एकताका लागि वस्तुस्थिति र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । भूमण्डलीकरणको नीतिको अन्त्यका लागि यो समय दृढ सङ्घर्षको समय हो । साम्राज्यवादी र पुँजीवादी देशहरूका सर्वहारा वर्ग लगायत थुप्रै अर्ध औपनिवेशिक तथा नव-औपनिवेशिक देशहरूमा रहेका सबै तह र तप्काका मानिसहरू साम्राज्यवादी भूमण्डलीकरण नीतिहरूको बिरूद्ध सङ्घर्ष गरिरहेका छन् । सर्वहारा वर्गको अग्रदस्ता अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले यी सङ्घर्षहरूको नेतृत्व गर्नुपर्दछ । आज यस दिशामा थप एकताबद्ध र सङ्गठित रूपमा अघि बढ्नु पर्ने आवश्यकता झन् बढेको छ ।
हाम्रो देशमा सर्वहारा वर्ग र किसान लगायत सम्पूर्ण उत्पीडित वर्ग, सामाजिक वर्ग र उत्पीडित जातिहरूले साम्राज्यवादद्वारा समर्थित ब्राह्मणवादी-हिन्दूत्ववादी फासिवादका रूपमा रहेको मोदी सरकारको क्रूर आक्रमणको सामना गरिरहेका छन् । मजदुर, कर्मचारी र किसानहरूको सङ्घर्ष दिनप्रतिदिन तीव्र हुँदै गइरहेको छ । साम्राज्यवादी वित्तीय पुँजीको स्वार्थमा मोदी सरकारले रोबोटिक, थ्रिडी प्रिन्टि र कृत्रिम बुद्धिमत्तालाई अगाडि सारेको छ, जसले श्रमिकलाई रोजगारीको सुरक्षाबाट वञ्चित गरेको छ र विद्यमान ४४ श्रम कानुनलाई ४ वटा संहिता (लेबर कोड) मा संकुचित गरी श्रम शोषणलाई मान्य बनाएको छ । सङ्गठित र असङ्गठित कामदारहरू यस दोहोरो मारका बिरूद्ध दुवै मोर्चामा जुझारू आन्दोलन गरिरहेका छन् ।
भारतका किसानहरूले देशको राजधानी सहरमा केन्द्रित एक अभूतपूर्व सम्झौताहीन सङ्घर्ष गरिरहेका छन् । व्यापारीहरू जिएसटीको बिरूद्धमा छन् । लाखौँ सङ्गठित र असङ्गठित मजदुर र कर्मचारीहरूले ब्याङ्कहरू मर्जर र सार्वजनिक क्षेत्रको निजीकरणको विरोधमा हडताल गरिरहेका छन् । विद्यार्थी, शिक्षक प्राध्यापकहरू केन्द्रीय तहमा हिन्दू प्रतिक्रियावादी शक्तिहरूले अघि सारेको ‘राष्ट्रिय शिक्षा नीति २०२०’ को विरूद्धमा छन् । क्रान्तिकारी आन्दोलनको एक सशक्त केन्द्रबिन्दुका रूपमा कार्य गरिरहेका रणनीतिक क्षेत्रलगायत देशका विभिन्न क्षेत्रका आदिवासीहरू आफ्नो न्यायोचित अधिकारका लागि सशक्त सङ्घर्ष गरिरहेका छन् । उत्पीडित जातहरूले, जातिवादी-ब्राह्मणवादी व्यवस्था, जुन चाहिँ भारतको विशिष्ट चरित्र हो, जसको काम शोषण, उत्पीडन, दमन र भेदभाव गर्नु हो, त्यसका विरुद्ध एकताबद्धका साथ सङ्घर्ष गरिरहेका छन् । मुलुकका सङ्घर्षशील जनताको समर्थनमा उभिएका जनवादी र प्रगतिशील शक्तिहरूमाथि राज्यले निर्मम दमन गरेको छ र जेल हालेको छ । धर्मनिरपेक्ष शक्तिहरू फासिवादी ब्राह्मणवादी–हिन्दूत्ववादी शक्तिहरूको साम्प्रदायिक हिंसात्मक नीतिहरूका बिरूद्ध लडिरहेका छन् । थुप्रै अधिकारवादी संस्थाहरूले सङ्घर्षरत जनतामाथि जबर्जस्ती लादिएका फासिवादी कानुनहरू फिर्ता लिन आवाज उठाइरहेका छन् ।
यसरी विश्वका सबै पिछडिएका देशका सरकारहरूले बहुराष्ट्रिय कर्पोरेट कम्पनीहरूको हितमा एकै खाले व्यवहार गरिरहेको यथार्थ हामी देखिरहेका छौँ । त्यसकारण क्रान्तिकारी सर्वहारा पार्टीहरू र सङ्गठनहरूका लागि सबै देशका सम्पूर्ण सङ्घर्षरत उत्पीडितहरूको सङ्घर्षलाई नेतृत्व गर्नु अझ थप आवश्यक र महत्वपूर्ण भएको छ ।
विगत दुई वर्षदेखि विश्वभरका उत्पीडित जनता र जातजातिहरूले गरेको व्व्यापक तहको सङ्घर्षले परिस्थिति क्रान्तिको पक्षमा रहेको यथार्थ प्रस्ट पार्दछ । विश्व सर्वहारा वर्गले यी अनुकूल परिस्थितिहरूको उपयोग गरी विश्व समाजवादी क्रान्ति पूरा गर्ने आफ्नो मुख्य कार्यभार पूरा गर्ने दिशामा आफूलाई अघि बढाउन सक्नु पर्छ । अहिले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका सही अग्रदस्ता सङ्गठनहरूका सामु दुई रणनीतिक कार्यहरू विद्यमान छन् । पहिलो भनेको पुँजीवादी–साम्राज्यवादी देशहरूमा मजदुर र अन्य उत्पीडित वर्गहरूको क्रान्तिकारी आन्दोलन सञ्चालन गर्नु हो । प्रत्येक अर्ध औपनिवेशिक, अर्ध-सामन्ती देशका सर्वहारा वर्ग, किसान, अन्य जनवादी वर्ग र सामाजिक तह र तप्का सङ्गठित हुनुपर्दछ र राष्ट्रिय जनवादी आन्दोलनको निर्माण र नेतृत्व गर्नुपर्दछ । दोस्रो भनेको पुँजीवादी देशहरूमा कम्युनिस्ट आन्दोलनको दरिलो साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्नु र नव-औपनिवेशिक, अर्ध औपनिवेशिक देशहरूमा साम्राज्यवाद र यसका समर्थकहरूको विरूद्ध राष्ट्रिय जनवादी मोर्चा निर्माण गर्नु हो । यस उद्देश्यका लागि सच्चा सर्वहारा पार्टीहरू र सङ्गठनहरूले वर्तमानको ठोस स्थितिअनुरूप एउटा सही अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारा सङ्गठन स्थापना गर्नु आवश्यक छ । यसका लागि माओवादी शक्तिहरू हरेक मुलुकमा समग्र प्रगतिशील, जनवादी शक्तिहरू र विश्वव्यापी दुस्मनका विरूद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी जनवादी शक्तिहरूसँग एकताबद्ध हुनु पर्दछ । यी दुबै रणनीतिक कार्यहरू परस्पर सम्बन्धित छन् र यिनले विश्व समाजवादी क्रान्तिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छन् ।
यद्यपि, सर्वहारावर्गीय अग्रदस्ता सङ्गठनहरूले अहिलेको स्थितिमा उत्पीडित जनताका मागलाई समेट्न र स्वतन्त्रताको दिशामा उनीहरूको आन्दोलनलाई संयुक्त नेतृत्व प्रदान गर्न त्यति सबल हुन सकिरहेको अवस्था छैन । हाम्रो पार्टीले विश्वका सर्वहारा वर्गको अग्रदस्ताहरूबीच एकता र ऐक्यबद्धता विकास गर्न एक अन्तर्राष्ट्रिय फोरमको गठन गर्नु पर्ने आवश्यकताका पक्षमा आफ्नो धारणा प्रकट गरेको छ । हाम्रो पार्टी, पार्टीका भगिनी सङ्गठनहरूलाई हाम्रो धारणाप्रति गम्भीर हुँदै यस दिशामा प्रयासहरूलाई अघि बढाउन अपिल गर्दछ ।
हामी साम्राज्यवादीहरूका सबै प्रकारका आक्रमणहरूलाई प्रत्याक्रमण गरौँ । आउनुहोस्, साम्राज्यवाद विरोधी सङ्घर्षको नेतृत्व गर्न र विश्व समाजवादी क्रान्तिको सफलताको प्रयासका लागि वचनबद्ध बनौँ । थप एकताबद्ध बनेर यस दिशामा सङ्गठित बनौँ । यो समयको आवश्यकता हो ।
मे दिवस अमर रहोस् ।
विश्वका क्रान्तिकारी मजदुरहरू, उत्पीडितहरू र तिनका सङ्गठनहरूबीच एकताका लागि अझ प्रयासरत होऔँ ।
१७ अप्रिल, २०२१
अभय
प्रवक्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
अनु : ऋषिराज बराल,जनमेलबाट ।







