
राहुल सांकृत्यायनले मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ भनेका छन् ।
त्यस्तै कम्युनिस्ट को हुन् भन्ने गम्भीर विषय हो । अहिले पनि स्पष्ट कुरा के हो भने समाजमा विभिन्न चरणहरू आउँछन् । जस्तै अहिले किताब पढ्ने, दर्शन, विचार, सिद्धान्तको कुरा गर्नु भनेको वाहियात काम ठानिने समय हो । तर, हामीले लगातार एक–ढेड वर्षदेखि वैचारिक कुराहरूको लागि प्रयत्न गरिराखेका छौँ ।
चीन, भियतनाम, लाओस, कम्पोचिया र नेपालमा जहाँ कम्युनिस्ट पार्टीको राज्य छ र बामहरू प्रभावशाली छन्, त्यहाँ सैद्धान्तिक वैचारिक काम भएको छैन् । अरू विचारधारा र माक्र्सवादी दर्शनबीच अन्तर भनेकै यही हो । अरूमा थप्न पाइँदैन । यो मेटाफोर मैले धेरै पटक प्रयोग गरेको छु ।
मैले अघि भने नी कम्युनिस्ट पार्टी हावी भएको ठाउँमा कम्युनस्टि विचारको विकासै नहुने अर्थात् कम्युनिस्ट पार्टी नै त्यसको बार भैदिने जस्तो छ । अहिले कम्युनिस्ट पार्टीमा पार्टी बोल्दैनन् पार्टीको व्यक्ति मात्र बोल्छन् । नेपालमा संस्थागत रूपमा पार्टी बोल्न छोडेको धेरै भैसक्यो । माओवादी, एमाले, मसाल पार्टी बोलेको सुन्न पाइँदैन । त्यसका व्यक्तिहरू मात्र बोल्छन् ।
उनीहरूले बोल्ने कुरा लामो समय महत्व राख्ने कुरा पनि छैनन् । मानव जीवनलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने खालका कुनै पनि कुरा छैनन् । यस्तो स्थितिमा सिद्धान्त र विचारको विकास होला त ? तर यो सधैँ रहँदैन । यो चरण पनि गुज्रन्छ । फेरि त्यस्तो चरण आउँछ जहाँ लेख्ने पढ्ने मान्छेको समाजमा महत्व र सम्मान हुनेछ ।
अहिले नेपाल जुन अवस्थाबाट गुज्रिरहेको छ, यो अवस्था छिट्टै फेरिन्छ तर फेरिएको ठाउँमा पुग्दा हामीसँग मान्छे त तयार हुनु पर्यो नि । त्यसैले तपार्इं युवाहरू यो विषयमा गम्भीर बन्नुपर्छ । राजनीतिक विचारधाराले नडोर्याएको राजनीतिले कहीँ पनि लग्दैन ।
अहिले जसरी राजनीतिलाई डिस्क्रेडिट गर्ने, जस्तै पहिले केही बदनाम राजनीतिज्ञलाई गाली गर्ने अनि विस्तारै राजनीतिलाई नै गाली गर्ने । अब राजनीतिको काम छैन भन्ने अभियान नजानिदो ढङ्गले चलिरहेको छ । कस्तो भने यो राजनीतिले नै अप्ठेरो पार्यो । यो राजनीति नभइदिएको भए त देश कहाँ पुग्थ्यो कहाँ भन्ने खालको कुरा आइरहेको छ ।
तपाईंहरू ढुक्क भए हुन्छ राजनीति भनेको काट्ने धार हो । यहाँ जुनसुकै व्यक्तिले अब राजनीतिको काम छैन भनेर भनुन त्यो आफैमा एउटा राजनीति हो । राजनीतिको काम छैन भनेर आउनु विशिष्ट प्रकारको राजनीति हो । साँच्चै त्यसले देशलाई समाजलाई अगाडि बढाउने मान्छेलाई अगाडि बढाउने कुरालाई त्यसले भुत्ते पार्न खोजी रहेको छ ।
सन् १८३० मा पेरिसमा ‘सेक्रेट सोसाइटी’ भन्ने एउटा समूह बनेको थियो । कम्युनिस्ट भन्ने शब्द उनीहरूले सबैभन्दा बढी प्रयोग गरेको शब्द हो । तर पछि कार्ल माक्र्सले एउटा कुरा पत्ता लगाउनुभयो । (पत्ता लगाउने भनेको पनि समाजमै भएको कुरा न हो । तर कसैले नभनेको ।) त्यो भनेको समाजमा सर्वहारा वर्ग हुन्छ भन्ने ।
उनले आफ्नो बुबालाई लेखेको पत्रमा के भन्छन् भने ‘इट इज आइडिया इट सेल्फ’ यो पत्ता लगाउनु आफैमा एउटा विचार हो । र माक्र्स कुनै भावुक, दयालु गरिब देखेर त्यसको उद्धार गरौँ भनेर लागेका मान्छे होइन । उनी निकै ‘र्यास्नल’ मान्छे हुन् ।
यहाँ पनि ती गरिबहरूलाई दया, माया गर्ने कुरा होइन । विचरा त्यो मजदुरको हालत खराब छ, त्यसैले त्यसलाई माया गरौँ भनेर माक्र्सवाद बनेको होइन । त्यो किन बनेको हो भने आधुनिक समाजमा सर्वहाराभन्दा बलसाली, इमानदार र सशक्त शक्ति अर्को छैन र त्यसले आफ्नो मुक्तिको बाटो आफैले खोज्नुपर्छ भनेर बनेको हो ।
यो कुरा मैले युरोपियन समाजको सन्दर्भमा भन्दैछु । युरोपमा जतिबेला माक्र्सवादको जन्म भयो त्यति बेला योभन्दा बलियो भरपर्दो वर्ग अर्को थिएन । त्यसैले त्यो वर्गलाई नेता मानिएको हो ।
तपाईं किन कम्युनिस्ट हुनु भएको ? भन्दा मैले बडो गरिबी देखेँ माया लागेर उनीहरूलाई त्यहाँबाट झिक्न कम्युनिस्ट भएँ भन्ने मान्छे धेरै दिन कम्युनिस्ट रहँदैन । त्यसको माया कुन दिन अर्कोतर्फ सर्छ । पछि माक्र्सले के थपे भने यो समाजमा वर्ग सङ्घर्ष भन्ने कुरा हुँदो रहेछ र त्यसले समाजमा गति पैदा गर्ने रहेछ ।
समाजमा हाँक्ने ताकत भनेको समाजमा रहने वर्गहरूको बीचको सङ्घर्ष हो । पहिले जुन सर्वहारा वर्ग भन्ने पत्ता लगाए त्यसपछि त्यसमा थप्ने कुरा वर्ग सङ्घर्ष थियो । त्यसैले वर्गहरूबीचको सङ्घर्ष समस्या होइन । अब यसलाई समस्याका रूपमा लिएपछि समस्या पैदा हुन्छ ।
नेपालमा पनि जुन विभिन्न वर्गहरू बीचको सङ्घर्ष छ त्यो कुनै समस्या होइन । मेरो आफ्नो गम्भीर आरोप के छ भने यहाँका कम्युनिस्टहरूले त्यसलाई समस्याका रूपमा बुझे । यससँगै हामीले वर्ग सङ्घर्ष के हो बुझनुपर्नेहुन्छ । वर्गको बीचको मतभेद के हो त ? भन्दा यो कुनै समस्या होइन । माक्र्सवादले के भन्छ भने यो समास्या समाधान हुँदैन ।
यसको व्यवस्थापन हुँदैन । यसका रूपान्तरण मात्र हुन सक्छ । त्यसैले यहाँ वर्गहरूलाई रूपान्तरण नगरिकन व्यवस्थापन गर्ने कुरा बाघ र बाख्रालाई एकै ठाउँमा राखेर पानी खुवाउने कुरा जस्तो हो ।
लेफ्टिस्ट युथ डिस्कोर्सले केही वर्षअघि ल क्याम्पसमा आयोजना गरेको कार्यक्रममा दिएको मन्तव्यलाई समय सान्र्भिक ठानेर प्रकाशित गरिएको छ ।








